बल र दिमाग दुवै पासा

दीपेन्द्र लामा - काठमाडौंका भवनहरु जति अग्लिँदैछ, यहाँ बाँच्नेहरुको महत्त्वाकांक्षा त्यति नै चुलिँदै छ। महत्त्वाकांक्षीहरु सधैं 'सर्टकट'को खोजीमा हुन्छन्। 'लुट'का मुख्य पात्रहरु पनि त्यही 'सर्टकट' रोज्छन्। बैंक लुटेर २५/२५ लाख भाग लगाउने उनीहरुको सपना केन्द्रीय पात्र हाकु काले (सौगात मल्ल)को मुठ्ठीमा कैद हुन्छ। बैंक लुट्न खोज्नु राज्यको कानुनी संरचनालाई चुनौती दिनु हो। समाजको एउटा सदस्य यस्तो निर्णयमा कसरी पुग्छ? ऊभित्र उत्पन्न हुने आपराधिक मनोविज्ञानसँग देशको राजनीति, अर्थतन्त्र, दर्शन र जैविक पक्षहरु कति गाँसिएको छ? उर्जाशील, बेरोजगार र कुलतमा लागेका युवाहरुलाई राज्यले कस्तो कार्यक्रममा समेट्नु पर्ने हो? 'लुट'ले अप्रत्यक्ष रूपमा वहसको उठान गर्छ। पोस्टरमा बन्दुक भए पनि फिल्ममा कतै गोली चल्दैन। जबकी भियतनाम युद्धसम्बन्धी हलिउडका फिल्ममा भन्दा बढी गोली खपत हुन्छ अरू नेपाली फिल्ममा। बन्दुकलाई डर र शक्तिको रूपमा प्रयोग गर्न सफल 'लुट'मा बन्दुक देख्दा पात्रहरु थर्कमान हुनुका साथै हाँसउठ्दा कौतुहलता प्रकट गर्छन्।

संवादमा बोलीचालीको भाषा छ। व्याकरण मिलाएर पूरा वाक्य भएको संवाद बोल्दा कलाकारले अभिनय नै गर्न नजानेको देखिन्छ भने अर्कोतिर भाषाको गलत अभिलेख हुन जान्छ। संवाद लेखनमा सौगात मल्ल र दयाहाङ राईको समेत सहभागिता रहेकोले भाषा सरल र चुस्त बनेको छ।

हाकु(सौगात मल्ल) र पुतली (सिर्जना सुब्बा)को एउटै दृश्यले लोग्नेस्वास्नीको उदाहरणीय सम्बन्ध छर्लङ्ग हुन्छ। पाण्डे (सुशीलराज पाण्डे) र आयषा(ऋचा शर्मा)को एउटा दृश्य र फोनवार्ता उनीहरुको प्रेम र लगाव पुष्टि गर्न काफी छ। महिला-पुरुष सम्बन्धको यति सुन्दर चित्रण कमै फिल्ममा पाइन्छ। रुखवरिपरि नाच्ने दृश्यमा लगाइने श्रम र पैसालाई यस्तै सिर्जनशीलतामा खर्चिए फिल्म राम्रो हुन्छ।

नेपाली फिल्मको कुरुक्षेत्र चोभार डाँडामा पेन किलर खुवाउँदै ५० नाघेका हिरोहरु उफार्नुको सट्टा काठमाडौंका गल्लीमा 'बाइसे चौबीसे'हरुलाई लखेट्दै 'लुट'मा आतंक मच्चाइएको छ। फरक के भने, चोभारको डाँडामा धुलो उड्छ, काठमाडौंको गल्लीमा सात्तो।

पैसा देखेपछि लोभ पलाउने मानवीय तुच्छ प्रवृत्तिको उत्कृष्ट उदाहरण गोपाल (दयाहाङ राई)ले नरेश (कर्म)को पर्स चोर्ने दृश्य हो। त्यो दृश्यमा गोपालको अभाव र खोक्रोपन एकसाथ पोखिन्छ।

फिल्ममा हरेक घटनासँगै पात्रको चरित्र एकपछि अर्को खुल्दैजान्छ। पात्रहरुको भौतिक र संवेदनाको यात्रालाई सकेसम्म सन्तुलनमा राखिएको छ। घिसिपिटी दृश्यहरुबाट फिल्म मुक्त छ। यसअघि नेपाली फिल्ममा हेर्दै आएका र दिक्क लाग्दा दृश्य यसमा छैनन्। त्यसैले फिल्मको संरचना खँदिलो लाग्छ। केन्द्रिय पात्र हाकु कालेको चरित्रमा आयाम थप्नका लागि सहायक पात्रहरु पुतली, गोपाल र पाण्डेसँगको सम्बन्धको सदुपयोग भएको छ। नरेश र खत्री (प्रतीकराज न्यौपाने)सँगको सम्बन्ध चाहिँ प्रयोग गर्न सकिएको छैन।

विषय र परिवेश 'डार्क' भएकोले फिल्म निरश बन्ने जोखिम थियो। 'सेन्ट्रल प्लट'मात्रै भएको भए यो पट्यारलाग्दो पनि हुनसक्थ्यो। तर, निर्देशकले रोचक 'सबप्लट'हरु जोडेर फिल्मको स्वादमा विविधता छर्किदिएका छन्। दृश्यको मुड र पात्रको गति अनुसार छायांकन गरेका छन् पुरुषोत्तम प्रधानले।

पात्रलाई प्राण भर्नसक्ने कलाकार पहिचान गर्न सफल कास्टिङ डाइरेक्टर प्रवीण खतिवडा प्रशंसाका पात्र बनेका छन्। निर्देशक र लेखकले कलाकारलाई स्वतन्त्रता दिएका छन्, जसले गर्दा रचनात्मक हुने अवसर कलाकारलाई प्राप्त भएको छ। त्यो छुटले कलाकार 'कठपुतली' हुनबाट जोगिई 'अभिनेता' भएका छन्।

'उध्रेको चोली' गीतमा सुष्मा कार्कीले 'ब्याच नम्बर १६' फिल्ममा जस्तै आफ्ना अंगहरुलाई अभिनयमा सक्दो परिचालन गरेकी छिन्। स्टारडम भएको फिल्म उद्योगका धेरैजसो कलाकार 'डार्लिङ एक्टर'मा सीमित छन्। अर्थात् आफ्नो राम्रो पक्ष बढी देखाउने नराम्रो पक्ष लुकाउने। यो फिल्ममा दयाहाङले आफ्नो विशाल भुँडी प्रदर्शन गर्ने हिम्मत गरेका छन्।

खत्रीले लागुपदार्थ बेचेको दृश्य कच्चा लाग्छ। 'ड्रग'को कारोबार बढी नै खुलमखुला देखाइएको छ। बरु, एकचोटि ग्राहकको रूपमा झुलुक्क देखा पर्ने बेलायती मरे केरद्वारा निर्देशित 'सिकसिटी' फिल्ममा लागु पदार्थको बिक्रीवितरण पत्यारलाग्दो थियो।

पात्रका द्वन्द्वहरुलाई आन्तरिक, व्यक्तिगत र बाह्य गरी तीन प्रकारमा बाँड्न सकिन्छ। 'लुट'का पात्रहरु यी तीनै खाले द्वन्द्वमा फस्छन्। तर, उनीहरुको द्वन्द्वको तह (लेभेल अफ कन्फ्लिक्ट)मा भने मिहेनत गर्ने ठाउँ अझै थियो। तैपनि निर्देशक निश्चल बस्नेतले पहिलो फिल्ममै आफूलाई नयाँ 'डन' साबित गरेका छन्।

एडल्ट सर्टिफिकेट दिइसकेपछि संवादमा 'टिपेक्स' लगाउने सेन्सर बोर्ड तर्कसंगत लाग्दैन। बोर्डको यस्तो कदम अभिव्यक्ति स्वतन्त्रता र प्रगतिशील रचनाविरोधी छ। सेन्सर प्रणालीबारे नेपाली फिल्मकर्मीले बेलैमा सोच्नुपर्छ।

दण्डहीनता र खुकुलो सुरक्षा व्यवस्थाको खिल्ली उडाउने 'लुट'ले टालटुल र दाह्रा किटेर फिल्म बनाउने कथित मूलधारका निर्मातानिर्देशकलाई घोचपेच गर्छ, 'बल होइन पासा दिमाग लगा दिमाग।' फिल्मका पात्रहरुले बैंक लुट्न सक्छ कि सक्दैन, सस्पेन्स नै राखौं। अहिलेलाई यति भनौं, 'यसले दर्शकको मन चाहिँ पक्कै लुट्छ र यसको लागि बल र दिमाग दुवै लगाइएको छ।'

फिल्मः लुट (साढे ३ तारा)
निर्देशक/लेखकः निश्चल बस्नेत
निर्माताः माधव वाग्ले र नरेन्द्र महर्जन
अभिनयः सौगात मल्ल, कर्म, दयाहाङ राई, प्रतीकराज न्यौपाने, सुशीलराज पाण्डे, प्रवीण खतिवडा, ऋचा शर्मा, सिर्जना सुब्बा आदि।

- Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।