'लक' युनिटमा एक मात्र महिला

फिल्मीखबर, काठमाण्डौ, २०६८ चैत्र १७, शुक्रवार

५०/६० जनाको सुटिङ युनिटमा एक मात्र महिला छ भन्दा पक्कै पनि अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो कि ४ दिन अघि सुटिङ शुरू भएको फिल्म 'लक' मा एक मात्र महिला छिन् त्यो पनि मुख्य कलाकार ।

ऋषि न्यौपानेले निर्देशन गरिरहेको फिल्म 'लक' मा मुख्य भुमिका निर्वाह गरेकी हिरोईन बेनिशा हमाल एक मात्र महिला पात्र हुन् । उनी बाहेक त्यो युनिटमा न कुनै महिला कलाकार छन् न महिला प्राबिधिक नै । महिलाको प्रतिनिधित्व गरेकी नायिका बेनिशाले फिल्मीखबरसँग कुरा गर्दै भनिन्, 'बेला बेलामा एक्लो फिल भए पनि एउटै परिवार जस्तो वातावरण भएकाले त्यस्तो अफ्ठ्यारो महसुस गरेकी छैन ।'

नायिका हमालका अनुसार अहिले सम्म आफू बाहेक अरू कुनै महिला पात्र युनिटमा नदेखेको बताईन् । उनले भनिन्, 'मैले बुझे सम्म सुटिङ सकिने बेलासम्म म मात्र महिला पात्र हो ।' एक किसिमले महिलाको प्रतिनिधित्व कम हुनु राम्रो नभए पनि अर्को किसिमले बेनिशा यसलाई लक मान्छिन् । भन्छिन्, 'एक मात्र महिला पात्र भएर काम गर्नु पनि मेरो लागि लक हो ।' तर अरू पनि महिला भएको भए काम गर्न अझ सहज हुने उनको भनाई छ ।

हरि खनालको निर्माणमा हाल राजधानीका छायाँकन भईरहेको सो फिल्ममा बेनिशा किशोर खतिवडा र अनिल थापाको अनस्क्रिन जोडी भएर अभिनय गरेकी छिन् । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म 'लक' भाग्यले जहाँ डोर्‍याउँछ मान्छे त्यहिं पुग्न बाध्य हुन्छ भन्ने थिमका आधारित छ । चेतन सापकोटाको संगीत रहेको सो फिल्मको कथा निर्देशक न्यौपानेले नै लेखेका हुन् । फिल्मलाई गणेश श्रेष्ठले खिचिरहेका छन् ।

निर्देशक न्यौपानेले शुरूमा 'ज्वाला' निर्देशन गर्ने घोषणा गरेका थिए तर पछि स्क्रिप्टमा हेरेफेर भएपछि 'लक' राखिएको हो । ४५ दिनको सेड्यूल निकालिएको सो फिल्मको अधिकांश भागको छायाँकन काठमाण्डौमा नै गरिने भएको छ ।


- फिल्मी खबर