अब सम्झना मात्रः आचार्य दम्पति। फाइल फोटोः नागरिक
सन्तोष रिमाल, काठमाडौँ, वैशाख ७- हास्य कलाकार हरिवंश आचार्यकी श्रीमती मीरा आचार्यको ४६ वर्षको उमेरमा काठमाडौँ मोडल अस्पतालमा आज बिहान निधन भएको छ। आचार्यको पार्थिव शरीरलाई पशुपति, आर्यघाट लगिएको छ। उनको अन्तिम संस्कार आजै गरिँदैछ। मुटु रोगका कारण पेसमेकर (कृत्रिम ह्रदय गति उपकरण) जडान गरिएकी आचार्यलाई आइतबार अस्पताल भर्ना गरिएको थियो।
सोमबारदेखि उनको स्वास्थ्य झन् बिग्रिएको थियो। अवस्था चिन्ताजनक भएपछि हिजो उनलाई कृत्रिम श्वास प्रणालीमा राखिएको थियो। अमेरिकामा रहेका आफ्ना छोरा त्रिलोक नफर्कुन्जेल यो समाचारलाई सार्वजनिक नगर्न आचार्यले सञ्चारकर्मीहरुलाई अनुरोध गरेका थिए। आचार्य स्वयं पनि हिजो रक्तचापमा असन्तुलन भएर सलाइन पानीका साथ अस्पतालमा थिए।
छोरा आज बिहान काठमाडौँ आइपुगेपछि चिकित्सकहरुले उनको निधनको घोषणा गरेका हुन्।
मीरा रेडियो नेपाल र विभिन्न एफएमकी चर्चित कार्यक्रम प्रस्तोता पनि थिइन्। विभिन्न विज्ञापन र सिरियलहरुमा उनले आवाज दिएकी थिइन्। हरिवंशसित उनको विवाह २०४० सालमा भएको थियो।
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त-
प्रधानमन्त्री झलनाथ खनालले आचार्यको मृत्युको खबरले आफू दुःखी भएको बताएका छन्। शोकसन्तप्त मेरा मित्र हरिवंश आचार्य र सिङ्गो परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु- प्रधानमन्त्रीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ। नागरिक
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।