काठमाडौं, वैशाख ८ (नागरिक) - नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको टेलिशृंखला'तीतो सत्य'ले बिहीबार ४ सय भाग पूरा गर्दैछ। कार्यक्रममा दीपकराज गिरीद्वारा निर्देशित शृंखलाकी निर्माता तथा मुख्य अभिनेत्री दीपाश्री निरौलासँग गरिएको तीते गफ :
सत्य तीतो मात्रै हु्न्छ त? मिठो हुँदैन?
सत्य कुरालाई तीतो ठान्ने जमात ठूलो छ। हामीले देखाएको तीतो कुरा नै मीठो बनेको छ। हामीले तीतो कुरा दिए पनि परिणाम मीठो छ। तीते करेलाले रोग निको भएजस्तै।
चार सय भागको अनुभव कति तीतो कति मिठो भयो?
व्यङ्ग्य प्रस्तुत गर्दा कयौं पटक टेलिभिजनमा स्पष्टिकरण दिएका छौं। कतिपय प्रसंग सेन्सरमा काटिएका छन्। के दिने के नदिने भन्ने कुरामा हामी सचेत छौं। तर, देशलाई धरासायी बनाउने विरुद्ध औंला उठाउँदा टेलिभिजनबाट सास्ती पाएका छौं। यस्तो तीतो अनुभव ५ प्रतिशत छ। दर्शकको माया ९५ प्रतिशत।
चिनी धेरै खायो भने तीतो हुन्छ भने झैं, तीतो धेरै खायो भने के हुन्छ?
मात्रा मिलाएर खायो भने तीतो जति धेरै खाए पनि फाइदाजनक नै हुन्छ। हामीले पस्केको तीतो कुराको असर मीठो छ जस्तो लाग्छ।
तीतो सत्य देखाउँदा तीतो धम्की आयो कि आएन?
किन नआउनु, धेरै आउँछ। कहिले यो समूहलाई नभन भन्छन्। कहिले यो घटनालाई नउचाल भन्छन्। अहिले सामान्य लाग्न थालिसक्यो। हामी हाम्रो तरिकाले काम गरिरहन्छौं।
दीपक र तपाईमध्ये को बढी तीतो?
दुवै तीता छौं। म अलि बढी नै हुँला। निर्धारित समयमा काम सकाउन म बढी तीतो बन्नु पर्छ।
तीते करेला, निमको पात र तीते पातमध्ये कुन तीतोसँग नजिक छ तीतो सत्य?
यी सबै चिज लाभदायक छन्। 'तीतो सत्य'मा तीन वटै चिजको मिश्रण छ जस्तो लाग्छ।
सत्य तीतो हुन्छ भने झुठ चाहिँ मिठो हुन्छ त?
बिल्कुल हुँदैन। तर, क्षणिक मिठास भने हुनसक्छ। सत्य पचाउन नसक्दा तीतो लाग्ने हो।
तीतो सत्य पचाउने क्षमता तपाईसँग कति छ?
पहिलो कुरा त म जीवनमा तीतो कुरा नआओस् भन्ने चाहन्छु। आइहाले पनि पचाउने क्षमता प्रशस्तै छ।
संसारका सबै चीज मिठो भए हुन्थ्यो नि, तीतो किन चाहियो?
मीठो र तीतोको अन्तर थाहा पाउन चाहियो नि तीतो। तीतो रहेसम्म मिठो, मिठो रहेसम्म तीतो।
तीतो सत्य कहिलेसम्म?
दर्शकले मन पराउन्जेल। मन नपरेको प्रतिक्रिया पाए, तुरुन्तै तीतो फालिदिन्छु।
- नागरिक न्युज
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।