प्रेममा समर्पण

विराटनगर, वैशाख ६ - सृष्टि पर्खिरहेकी छन् 'आफ्नो मान्छे' जीवनलाई विराटनगर विमानस्थलमा । उनको प्रतीक्षाको समयलाईर् सकेसम्म छोट्याउन हतारिएर धरानबाट बाटो लागेका छन् जीवन । बाटो लाग्नेबित्तिकै जीवन गुन्डाहरूको आक्रमणमा पर्छन् । मरणासन्न हुन्छन् ।

त्यतिबेलै बजेको मोबाइल फोन सकीनसकी उठाउँदा जीवन थाहा पाउँछन्- सृष्टिको फोन

रहेछ । के बोलौं, के भनौं भन्दाभन्दै मरणासन्न अवस्थामा रहेका उनी एक्कासि भन्न पुग्छन्, 'तिमी जाऊ, मलाई नपर्ख, बिर्सिदेऊ मलाई...।' भेट्ने वाचा पूरा गर्न सकेनन् उनले । त्यसपछि जीवनको अवस्था अनि सृष्टिको प्रतिक्रिया के भयो होला ?

यसबारे जानकारी दिनेछ सोमबार धरानको दन्तकाली मन्दिरमा सुटिङको बिट मारेको 'म तिम्रो भइसकें' ले । नायक बनेका जीवन लुइँटेल र नायिका बनेकी ऋचासिंह ठकुरीबीचको माथि उल्लिखित प्रसंग समेटेको उक्त फिल्म काठमाडौं, दोलखा, कालिञ्चोक हुँदै विराटनगर र धरान अनि भेडेटारका मनोरम दृश्यबीच छायांकन गर्दै सकिएको हो ।

वान टाइम्स सिनेमा प्र्रालिका लागि निर्माता, निर्देशक र लेखकको जिम्मेवारी विकास आचार्यले सम्हालेका छन् । शम्भु सापकोटाले छायांकन गरेको फिल्मका लागि वसन्त सापकोटाले संगीत दिएका छन् । पहिलोपटक अत्याधुनिक 'रेड' क्यामेराले छायांकन गरिएको भनिएको यो फिल्ममा यसअघि सफल मानिएको 'नाइँ नभन्नु ल' कै टिमले काम गरेको छ ।

प्रेमकथामा आधारित 'म तिम्रो भइसकें' मा जीवनले 'धराने डन' को भूमिका निर्वाह गरेका छन् । ठेक्कापट्टामा टेन्डर हाल्ने समूहहरूबीच हुने पटकपटकको झडप यसमा देख्न पाइने निर्माताले जनाएका छन् । 'नाइँ नभन्नु ल' बाट निकै राम्रो प्रतिक्रिया पाएको छु,' जीवनले भने, 'यसले दर्शकहरूमा थप छाप छोड्नेमा आशावादी छु ।'

११ दिनसम्म धरानमा बिताएको 'म तिम्रो भइसकें' को सुटिङ ३९ दिनमा सकिएको छ । निर्देशक आचार्यका भनाइमा यसअघिको 'नाइँ नभन्नु ल' मा प्रेमको आग्रह थियो भने यसमा प्रेमको समर्पण देखाइएको छ । 'उद्देश्य दर्शकलाई स्वस्थ मनोरञ्जन दिनु नै हो,' उनले सुनाए, 'दर्शकले यसबाट भरपूर आनन्द लिनेमा हामी पक्का छौं ।' यो फिल्म ढिलोमा आउँदो दसैंसम्म प्रदर्शन गरिने उनले बताए ।

'म तिम्रो भइसकें' मा विज्ञान सापकोटा नयाँ अनुहारका रूपमा देखा पर्नेछन् भने अयुब केसी, रामकृष्ण बजगाईं, मनोज राईलगायत कलाकारको अभिनय पनि देख्न सकिनेछ ।

पूर्वजत्तिको सुन्दर ठाउँ अन्यत्र नभएको बुझाइ रहेका निर्देशक आचार्यले त्यही भएर पूर्वलाई पनि छायांकनमा समेटिएको बताए । 'पूर्वलाई चिनाउनु अनि आन्तरिक पर्यटनमा सघाउनु पनि हाम्रो उद्देश्य हो,' उनले भने, 'यसमा कन्जुस्याइँ गरिएको छैन ।' इकान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।