आसलाग्दा फिल्म लाइनै

काठमाडौ, मंसिर १६ -

लामो समयदेखि ओरालो लागेको नेपाली फिल्मको बजार पुनः एक पटक बौराएको छ । पछिल्लो पटक रिलिज केही फिल्मले हलसम्म दर्शक तान्ने हैसियत देखाएका छन् । दसैं-तिहार र छठजस्ता पर्वको फुर्सदिलो वातावरणमा समेत नेपाली फिल्म हेर्न इच्छा नदेखाएका दर्शक पछिल्लो सातादेखि पुनः हल धाउन थालेका हुन् । कथावस्तुदेखि प्रस्तुति र बनावट नै छेउ न टुप्पाका बन्ने क्रममा सुधार नआएपछि बिच्किएका दर्शकलाई 'गोर्खा पल्टन' र 'बाटोमुनिको फूल' ले केही लोभ्याएका छन् ।

नारायण रायमाझीको निर्देशकीय क्षमताबाट भन्दा पनि नायक बनेका गायक प्रशान्त तामाङको 'क्रेजी फ्यान' ले फिल्म हेर्दिएकैले कात्तिकभर देशका फिल्म हल 'गोर्खा पल्टन'मय बने । गत साता प्रदर्शनमा आएको सुरज सुब्बा 'नाल्बो' निर्देशित 'बाटोमुनिको फूल' ले छुवाछूत मुद्दामा केन्दि्रत कथावस्तुबाट केही नयाँपन दिन खोजे पनि दर्शकले यसको 'मेकिङ' लाई बढी मन पराएका छन् । अनुभवी फिल्मकर्मीले पनि यस फिल्मलाई नेपाली फिल्मको स्तर वृद्धिको रूपमा लिएका छन् ।

'बल्ल कथावस्तु सुहाउँदो गरी प्रविधिको उपयुक्त प्रयोग गर्न जान्न थालेका छन्,' लामो समय फिल्म निर्देशन गरी अहिले फिल्म वितरण/प्रदर्शनमा जुटिरहेका अशोक शर्माले कथावस्तु पूरै मौलिक नभए पनि दैनिक जीवनका कुरा समेटिन थालेकोमा खुसी व्यक्त गरे । उनी प्रविधिले नै रचनालाई उतार्न सघाउने भए पनि राम्रो फिल्मको लागि कथावस्तुलाई नै मुख्य अंग मान्छन् । पछिल्लो समय रिलिजका क्रममा रहेका धेरै फिल्महरू पछिल्लो प्रविधिको टु के क्यामराबाट खिचिएका छन् ।

शुक्रबार रिलिज हुन लागेको 'हाँसिदेऊ एक फेर' मार्फत निर्देशक शिव रेग्मीले लामो समयपछि हास्यक्षेत्रका दिग्गज जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई फिल्मी पर्दामा उतारेका छन् । कथावस्तु नबताइएको भए पनि विषयवस्तुका हिसाबले तुलनात्मक रूपमा स्तरीय फिल्म बनाउने रेग्मीले 'मह' सहितको पछिल्लो कामलाई विशेष रूपमा हेरेको बताएका छन् । विषयलाई भावनात्मक रूपमा पर्दामा उतार्न सिपालु उनले हास्यव्यंग्यमा चर्चित जोडीलाई कसरी संयोजन गरेका होलान् भन्ने कौतूहल दर्शकमा देखिएकोले पनि फिल्म प्रतीक्षित बनेको छ ।

दर्शकलाई हलसम्म तान्न दीपेन्द्र के खनालले निर्देशन गरेको 'धर्मा' ले पनि सघाउने देखिन्छ । बलिउडमा जमिसकेकी मनीषा कोइरालाको उक्त फिल्म स्वदेशी करिअरकै लागि कोसेढुंगाका रूपमा हेरिएको छ । मंसिर २४ मा देशभर रिलिज हुने 'धर्मा' मा मनीषा र राजेश हमालको जोडीलाई हेर्न पनि दर्शक आतुर छन् । फिल्म अर्थपूर्ण बनाउन पनि खर्चमा कन्जुस्याइँ नगरिएको निर्माण पक्षको दाबी छ ।

पुसको ९ गते रिलिजको तयारीमा रहेको अर्को फिल्म 'एक दिन एक रात'ले पनि केही साताअघि मात्रै पत्रकार सम्मेलन गरी आफ्ना बारेमा मुख खोलेपछि धेरैले यसलाई 'राम्रो फिल्म'को श्रेणीमा राखेका छन् । देवकुमार श्रेष्ठ निर्देशित 'सस्पेन्स-थ्रीलर' फिल्म नयाँ पुस्ताका दर्शकलाई बढी लक्षित गरी बनाइएको छ भने यसमा अनुप बराल, कर्म, विनय श्रेष्ठ, दिया मास्के, पूजा लामालगायत पछिल्लो पुस्ताका कलाकारले पनि दर्शक तान्ने अनुमान गरिएको छ । अशोक शर्मा पनि यस फिल्मले दर्शक तान्नेमा बढी आशावादी रहेको बताउँछन् ।

अन्तर्राष्ट्रिय मान्यतालाई पछ्याउँदै नेपाली फिल्मको पनि पहिले नै रिलिजको मिति तय गरी प्रचारप्रसार गर्ने दिशामा अग्रसर रहेको बताउने फिल्म वितरक डिजिटल सिनेमा नेपालका प्रमुखसमेत रहेका शर्माले वर्षको आखिरीसम्म केही फिल्मले राम्रै दर्शक पाउन सक्ने अनुमान गरेका छन् । उनी फागुन १३ मा रिलिज हुने नयाँ पुस्ता लक्षित 'ब्याज नं. १६', माघ २८ मा रिलिज हुने कमेडी फिल्म 'छविलाल कञ्जुस छैन' र माघ १४ मा आउने सांगीतिक विषयवस्तुमा बनाइएको भनिएको 'स्वर'ले व्यावसायिक सफलता पाउने लख काट्छन् । कति फिल्म रिलिज पूर्व राम्रो ठानिए पनि प्रदर्शनपछि नराम्रो हुनु र नसोचिएको फिल्मले सफलता पाउनु अर्को अपवाद भए पनि चलिरहेको फिल्म 'बाटोमुनिको फूल'ले भने राम्रो समीक्ष्ाा मात्रै नपाई दर्शकको पनि साथ पाउन थालेको छ । Source: Kantipur Online

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।