बिहेअघि सँगै बस्ने- के यो माया हो?

सन्तोष पोखरेल, पोखरा, मंसिर १४- 'बिहेअघि केटा र केटी सँगै बस्न हुने कि नहुने?' पश्चिमा शैलिको यस्तो विषय अहिले हामीकहाँ पनि बहसको विषय बन्न थालेको छ। कोही बिहेअघि युवायुवतीको संयुक्त बसाइ उपयुक्त ठान्छन् भने कतिपयले सामाजिक मान्यता अनुसार विवाहपछिमात्र सँगै बस्नुपर्ने बताउँदै आएका छन्। युवायुवतीबीचको यस्तै समस्या र बहस एउटा नेपाली फिल्मको विषय बनेको छ।

'पढाइ वा जागिरको सिलसिलामा सहरमा डेरा गरी बस्ने एक्ला युवायुवतीको समस्यालाई केलाउने गरी फिल्म बनाउँदैछु,' पोखराको लेकसाइडमा सुटिङ भइरहेको 'के यो माया हो'ले उठाउन खोजेको विषयबारे उनले भने, 'विशेषगरी सहरी समाजका युवायुवतीमा यो प्रचलन देखिन थालेको छ। मैले यही विषयमा फिल्म बनाउन प्रयास गरेको हुँ।'


निर्देशक थापाले काठमाडौंमा जस्तै पोखरामा पनि डेरा गरी बस्ने युवायुवतीको समस्या एकैखाले पाएका छन्। 'केटा मान्छे डेरा खोज्न जाँदा घरधनीले विवाहित कि अविवाहित भनेर सोध्छन्। एक्ली युवतीले डेरा खोज्दा कोसँग बस्ने? के गर्ने भनेर हैरान पार्छन्,' उनले भने, 'एक्लै डेरामा बस्नु पर्ने युवायुवतीको यो समस्याको समाधानको विकल्प के हुनसक्छ भनेर पहिल्याउँदैछु।'

फिल्म 'के यो माया हो'मा पोखराको कथा समेटिएको उनले जानकारी दिए। रोमान्टिक प्रेमकथामा आधारित फिल्ममा विवाहको महत्त्व युवा जगतमा फैलाउने प्रयास गरिएको समेत निर्देशकले उल्लेख गरे।

यसमा आर्यन सिग्देल, सौगात मल्ल, अरुणिमा लम्साल र सुष्मा कार्कीको अभिनय छ। आर्यन र सुष्मा तथा सौगात र अरुणिमाको जोडीलाई कथासँग मेल खुवाउने प्रयासमा निर्देशक थापा लागेका छन्।

'फिल्मको जोडी आ-आफ्नै काममा व्यस्त हुन्छन्। तर अनेक समस्याले पिरोलिएपछि यी जोडी अविवाहित भए पनि विवाहित भन्दै एकै ठाउँमा बस्न बाध्य हुन्छन्,' निर्देशक थापाले कथा खोले, 'बिहेअघिको 'पार्टनर' बिहेपछि पतिपत्नी हुन्छन्। 'पार्टनर' हुँदा यी पात्रले भोग्नु परेको समस्यामार्फत् सहरी समाजको चित्रण गर्न खोजेको छु।'

युवायुवतीको सुखद बसाइ बिहेपछि मात्र सम्भव हुने कुरा फिल्मले बुझाउने उनको दाबी छ। नेपालमा यस्तो संस्कार उपयुक्त छ वा छैन भन्ने बहस गर्न फिल्मले सघाउने उनको विश्वास छ।

निरजविक्रमको स्क्रिप्ट रहेको फिल्ममा सुगम पोखरेलले संगीत दिएका छन्। यसमा रोशन श्रेष्ठको फाइट, अनुप कोइरालाको नृत्य र राजेश श्रेष्ठको छायांकन छ।

Source: Nagarik News

Blogger Templates

1 प्रतिकृया/हरु:

Anonymous said...

<ding>

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।