आयो गोर्खा पल्टन

काठमाडौ, कार्तिक ९ - लाहुरे बुबा बित्दा उनी आठ वर्षका थिए । घरमा आमा र दुई दिदी मात्रै ।आर्थिकलगायतका अनेक घरायसी समस्याले पिरोल्नु स्वाभाविकै थियो, १० कक्षा पढ्दापढ्दै उनले बुबाकै पहिलो बाटो हिँड्नुपर्‍यो । यो १८ वर्षे उमेरको कथा थियो । जुन पेसामा लाग्दालाग्दै बुबा बिते अहिले उनी त्यही पेसामा छन्- घर, साथीभाइ, आफन्त र जन्मेहुर्केको थातथलोभन्दा टाढा कोलकाता

सहरमा ।

कथा प्रशान्त तामाङको हो । तेस्रो इन्डियन आइडल जितेपछि एकाएक चर्चामा आएका र अहिले गायक हुँदै नायक बनेका यिनै तामाङको पारिवारिक कथासँग मिल्ने गरी फिल्म तयार भएको छ- 'गोर्खा पल्टन' । आउँदो लक्ष्मीपूजाको दिनदेखि देशभर एकैपटक प्रदर्शन हुने फिल्मको नायक बनेका हुन् तिनै तामाङ । 'संयोगले यो मेरै पारिवारिक कथासँग मिल्न गएको छ,' फिल्मको प्रमोस्नल कामको सिलसिलामा चार दिनअघि काठमाडौं आइपुगेका प्रशान्तले सोमबार दिउँसो भने, 'स्त्रिmप्ट हेर्दा चित्त बुझेपछि मैले फिल्म खेलेको हुँ ।'

फिल्मसँग आफ्नो जिन्दगीको कथा मिलेको बताइरहँदा प्रशान्तको अनुहार गम्भीर बन्दै थियो । 'पढ्ने इच्छा हुँदाहुँदै पनि मैले सानै उमेरमा भर्ती हुनुपर्‍यो,' १८ वर्षे उमेरमा भारतीय पुलिसमा भर्ती भएका २७ वर्षेले भने, 'अहिले कोलकाताको बडीगार्ड लाइन्समा कार्यरत छु ।' गरिबीबीच पढाइ छाडेर लाहुरे बन्न जाँदा दार्जिलिङको तुङसुङमा उनका आमा र दुई दिदी थिए, दिदीहरूको बिहे भइसक्यो, अहिले आमा मात्रै । 'यो मेरो मात्रै कथा हैन,' फिल्मको जानकारी दिन आयोजित औपचारिक कार्यक्रमपछिको भेटघाटमा उनले भने, 'आमलाहुरे समुदायको कथा हो ।'

भर्ती जाने नेपाली संस्कृति र त्यसले सिर्जना गर्ने पारिवारिक/सामाजिक संवेदना उधिनिएको फिल्मको लेखन तथा निर्देशन लोकसंगीत र गायनको क्षेत्रमा नाम कमाएका नारायण रायमाझीले गरेका हुन्, उनले पनि फिल्मसँग आफ्ना निजीजस्ता लाग्ने सन्दर्भहरू गाँसिएको बताए । 'सँगै पढ्दा-पढ्दै धेरै साथीभाइ लाहुर पसे,' उनले पाल्पाको झडेवा गाउँको कुरा झिके, 'म पनि झन्डै लाहुरे बनेको । धेरै आफन्तहरू लाहुरमै

छन् ।' गरिबीका कारण नेपाली गाउँबस्तीबाट अर्काको देशमा भर्ती जाने परम्परा र त्यसले सिर्जना गर्ने अनेक पीडाजन्य सन्दर्भबारे आफू सानैदेखि परिचित भएकाले पनि फिल्मको कथा लेख्न सजिलो भएको पनि उनले थपे ।

साथीभाइ लाहुरे बने पनि उनीचाहिँ संगीतकर्मी बन्ने सपना बोकेर २०४२ तिर काठमाडौं पसेका थिए । 'लाहुरेसम्बन्धी गीतबाटै मैले आफ्नो संगीत/गायन करिअर थालेको हुँ,' उनले पहिलोगीत 'मलाई सम्झी नरोऊ है आमा, तिम्रो छोरो जिउँदै छ रणमा...' सम्भिmँदै भने, 'लाहुरे कथामा फिल्म बनाउँछु भन्ने पहिलेदेखिकै सपना थियो, अहिले पूरा भयो ।' संगीत संयोजकको रूपमा लामो समय रेडियो नेपालको अनुभवसमेत बोकेका रायमाझीले 'छोरीको जुनी', 'लाइछौ बेसन', 'फूलबुट्टे चोली', 'हाँसी बोली देऊ माया' लगायत दुई दर्जनजति लोक एल्बम र दुइटा आधुनिक एल्बममा एकल संगीत दिइसकेका छन् । रेडियो नेपाल छाडेर रिमा रेर्कडिस्मार्फत टेलिभिजन कार्यक्रमहरू र वृत्तचित्रको निर्देशनतिर लागेपछि फिल्म निर्माणको अनुभव मिलेको र त्यही अनुभवलाई थप तिखारेर ठूलो पर्दाको फिल्म निर्देशन गरेको उनले बताए ।

'फौजी क्षेत्रमै कार्यरत प्रशान्तको कथा थोरबहुत पहिल्यै सुनेको थिएँ,' म्युजिक डटकमको भगिनी संस्था मुभी डटकमले निर्माण गरेको फिल्मबारे उनले भने, 'कथा लेखपछि निर्माण टोलीसँग कुरा गरेर प्रशान्तको कनेक्सन खोजें, सफल भइयो ।' देशभरका लगभग ५० स्टेसनबाट एकैपटक प्रदर्शन हुन लागिरहेको फिल्ममा 'गोर्खा सैनिकको इमान', 'युद्धमा यौवन अवस्थामै पति गुमाउने र पल्टनमा गएको प्रेमीको प्रतीक्षामै जीवन बिताउने नारी विरह', 'जन्मभूमिमा रगत-पसिना बगाउने इच्छा हुँदाहुँदै रोजीरोटीका लागि परदेश पस्नुपर्ने बाध्यता' र 'छुट्टी मनाउन घर आएको लाहुरेको उमंग र गाउँघरको रमझम छाडेर हाजिरमा फर्किनुपर्दाको पीडा' लगायतको सन्दर्भ समेटिएको निर्देशकले दाबी गरे ।

राजेश बंशल र सुरज बंशल (जितु) ले निर्माण गरेको फिल्ममा प्रशान्तसँगै रञ्जिता गुरुङ, सोनिया केसी, सुनिल थापा, गोपाल भुटानी, कविता आले, श्रीप्रताप थापा, विनय लामा, तारा शर्मा, शान्ति रानालगायतको अभिनय रहेको छ । 'मेरो बुबाले पनि यौवन अवस्था फौजमा बिताउनु'भो र फौजमै छँदा उहाँको निधन भयो,' निर्देशकसँग कुराकानी भइरहँदा आइपुगेका प्रशान्तले भने, 'फिल्ममा विदेशिएका पतिलाई फेरि भेट्न नपाई विधवा हुने चेलीको कथा पनि छ ।'

फिल्ममा विरह र विछोडको कथा भए पनि प्रशान्तले आफ्नो व्यक्तिगत जीवनमा भने मिलन हुन लागेको खुलासा गरे । 'मेरो त बिहे हुँदै छ नि,' नजिकै बसिरहेका निर्माता राजेशतिर पुलुक्क हेरेर हाँस्दै प्रशान्तले भने, 'प्रेमविवाह हो ।' नौ वर्ष प्रहरी सेवाको अनुभव लिइसकेका उनले यसैपालि थापामगर युवतीसंँग अन्तरजातीय बिहे गर्न लागेको बताउँदै भने, 'खुसी छु ।'

इन्डियन आइडलबाट गायक हुँदै नायक बनेका प्रशान्त र लोकगायन/संगीतको क्षेत्रबाट निर्देशक बनेका नारायणलाई फिल्मबाट चाहिँ कत्तिको खुसी मिल्ने हो, हेर्न बाँकी नै छ । Source: Kantipur Online

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।