क्या दामी गायक!

सन्तोष रिमाल, काठमाडौं, कात्तिक ५- 'शिव! क्या दामी भो,' एकाबिहानै उत्साहित आवाजमा गीतकार राजेन्द्र थापाको फोन आयो गायक शिव परियारलाई। राजेन्द्रको फोन उनका लागि नौलो थिएन। तर, त्यतिबेला थापाको उत्साह नयाँ थियो। 'दाइ के दामी भो भन्नुस् न,' शिवको अनुरोधपछि राजेन्द्रले भने, 'बेहोसीपछि त होसमा आउँदा क्या दामी भो।' बल्ल कुरा बुझे शिवले। गीतकार राजेन्द्रलाई फुरेको नयाँ गीतको अंश थियो यो। उनी आफ्नो नयाँ रचना स्वरवद्ध होस् भन्ने चाहन्थे। 'हिजो मात्र अचानक फुरेको गीत हो। तिमी गाऊ साँच्चै दामी हुन्छ,' पूरा गीत सुनेर जवाफ दिने बताएका शिवलाई शब्दले लोभ्यायो। गजलका शब्द गम्भीर हुनुपर्छ भन्ने मान्यता विपरित रमाइलो शब्दले भरिएको यो रचनालाई गाउनमात्र उनी राजी भएनन्। एल्बमको नाम समेत यसैबाट जुराए, 'क्या दामी'।

गीत रिलिज भएको केही समयमै 'दामी गायक' बनाउन सफल गीतको रचनागर्भ सम्झँदै छन् उनी। 'सुरुमा यो गीतको शब्द सुनेर केही गजलकार रिसाए पनि,' शिवले भने, 'सनासोझैं अँठ्याउने जवानी क्या दामी भो भन्ने शब्द प्रतिक्रियाकै आधारमा सच्याएका हौं।' जुन शब्द फेरिएर 'सनासोझैं मन छोप्ने जवानी क्या दामी भो' भएको छ। गजलको शास्त्रीय नियममा रहेर रमाइलो गीत दिन सकेकोमा बधाई दिने व्यक्ति पनि भेटेका छन् उनले।

कम्पोजकै क्रममा रहेको यो गीतलाई अप्ठ्यारो टार्ने अस्त्र बनाएका थिए उनले। तर, त्यहाँ गाएका नौ गीतमध्ये यसकै माग उनीसमझ बढी आयो। 'महोत्सवभरि यो गीत यति रुचाइयो कि मैले सात पटकसम्म गाउनु पर्‍यो,' स्रोताको यस्तो प्रतिक्रिया बुझेपछि उनी गीत सिँगार्ने धुनमा लागे। गीत हिट हुने सम्भावना त्यतिबेलै देखेको उनले बताए। 'एकपटक पनि नसुनेको गीत बारम्बार गाउन अनुरोध गरेपछि आत्मविश्वास बढ्यो। त्यो अनुमान अहिले मिलेको छ,' अहिले पनि कन्सर्टका क्रममा सबैभन्दा बढी यही गीत गाउनु पर्ने उनले सुनाए।

'सेन्टिमेन्टल' विशेषता बोकेको गजल विधालाई 'रोम्यान्टिक' ढंगले गाउँदा व्यापारिक कारोबार समेत बढेको उनको अनुभव छ। 'एल्बमबाट त धेरै पैसा उठ्दैन। तर, सिआरबीटी र कन्सर्टले फाइदा भएको छ,' हालै कतार र जापानमा कन्सर्ट गरेर आएका परियारले विदेशमा पनि यो गीत निकै रुचाइएको बताए। 'यही गीतको मागले हो आयोजकले निम्ता दिएको। यो गीतले मलाई फैलाएको छ,' उनलाई यस्तो लाग्छ।

'अलिकति नजर तिम्रो झुकाएर आऊ,' 'धेरैचोटी मरेँ म त धेरैचोटी बाँचेँ' र 'कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ' जस्ता गीतमा उनले शास्त्रीय गायनको दक्षता देखाएका छन्। यी गीत एउटा जमातमामात्र चर्चित बन्यो। त्यसैले आफूलाई ठूलो दायरामा परिचित गराउने गीतको दर्जामा उनले 'क्या दामी भो' लाई राखेका छन्।

साहस शाक्यको एरेन्जमेन्टले गीतलाई यो उचाइ दिएको जस्तो लाग्छ उनलाई। चण्डीप्रसाद काफ्लेको संगीतमा यो गीत गाएका उनी स्रोताको मात्र होइन रचनाकारको पनि प्रिय बनेका छन्। 'स्रोता वान्स मोरको रटान गर्छन्। रचनाकारहरू भेट हुने बित्तिकै दुई हरफ गीत सुनाइहाल्छन्,' शिवले रचनाकारले दिने हैरानी लुकाएनन्, 'कस्तो लाग्यो भन्नेलाई राम्रो भन्नै पर्‍यो। त्यसो भए नयाँ एल्बममा राख न त भन्छन् अनि फसाद पर्छ।'

गीत चलेपछि फिल्ममा समेत उनको माग बढ्न थालेको छ। पछिल्लोपटक 'कोही मेरो'मा गाएका शिवले सुगम पोखरेलको संगीत रहेको फिल्म 'ब्याच नम्बर १६'बाट निकै आशा गरेका छन्। 'चल्तीमा रहेका फिल्म संगीतको ट्रेन्डभन्दा यो निकै भिन्न छ,' उनले भने।

From: Nagarik News

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।