पूर्णिमा पछि छायाँकन

पूर्णिमा पछि छायाँकन

दशैं मनाउनका लागी छायाँकन रोकिएका चलचित्रहरू पूर्णिमा पछि सुचारू हुने भएका छन् । अधिकांश कलाकार तथा प्राबिधिकहरू दशैं मनाउन घर गएकाले करिब १० दिनका लागि अधिकांश चलचित्रको छायाँकन रोकिएको हो ।


प्रदिप उदयको निर्माणमा गणेशदेव पन्तले निर्देशन गरेको चलचित्र 'मालतीको भट्टी' को छायाँकन पूर्णिमा लगत्तै शुरू हुने भएको छ । चलचित्रमा रेखा थापा, जीवन लुईटेल, नन्दिता केसी, अयुब केसी, सुनिल थापा लगायतको अभिनय रहेको छ । त्यसैगरी जय किशन बस्नेतले निर्माण गरेको चलचित्र 'तँ त सार्है सप्रिस नि बद्री' पनि दशैं भरी ब्रेक भएको छ । सोभित बस्नेतले निर्देशन गरेको उक्त चलचित्रको छायाँकन पनि पूर्णिमा पछि नै शुरू हुने निर्देशकले बताएका छन् । सो चलचित्रमा जयकिशन बस्नेत, रेजिना उप्रेती, शोभित बस्नेत, दिनेश शर्मा, सम्राट सापकोटालगायतको अभिनय रहेको छ ।

यता मलेसियामा ६० प्रतिशत छायाँकन सकेर नेपाल फर्किएको चलचित्र 'मिस यू' को टोली पनि पूर्णिमा पछि छायाँकन स्थलमा जाने भएको छ । दिलिप रायमाझीको निर्माणमा सुरेश दर्पण पोखरेलले निर्देशन गरेको सो चलचित्रको अबको छायाँकन पोखरा र काठमाण्डौमा हुनेछ । चलचित्रमा दिलिप रायमाझी, नम्रता श्रेष्ठ, बरूण राणाको मुख्य भुमिका रहेको छ ।

नायक राजेश हमाल अमेरिका गएपछि छायाँकन अबरूद्व भएको चलचित्र 'जय होस्' को छायाँकन पनि पूर्णिमा पछि नै हुने भएको छ । छायाँकनको अन्तिम चरणमा रहेको सो चलचित्रमा राजेश हमालको केहि सिनेहरूको छायाँकन गर्न बाँकी रहेको निर्देशक घनश्याम खतिवडाले बताएका छन् । चलचित्र 'जय होस्' मा राजेश हमालको साथमा विराज भट्ट, कृष्ण भट्ट, सुमिना घिमिरे, सौजन्य सुब्बा, दिनेश डिसी, नवीन श्रेष्ठ आदि कलाकारको मुख्य भूमिका रहेको छ ।

शिब रेग्मीको निर्देशनमा छायाँकन भईरहेको चलचित्र 'फूल' को छायाँकन पनि पूर्णिमा पछि हुने भएको छ । दशैं अगाडी राजधानी बाहिरका स्थानहरूमा ६० प्रतिशत छायाँकन गरिएको सो चलचित्रको अबको बाँकी भागको छायाँकन काठमाण्डौमा गरिने भएको छ । चलचित्रमा राजवल्लभ कोइराला, नीरज बराल, गरिमा पन्त लगायतको अभिनय गरेको छ ।


असोज १३ गते जोमसोम गई १० दिनको छायाँकन सकेर दशैं अगाडी काठमाण्डौ फर्केको चलचित्र 'के यो माया हो' को सुटिङयुनिट पूर्णिमा पछि पुन छायाँकनमा व्यस्त हुने भएको छ । सुदर्शन थापालेले निर्देशन गरिरहेको सो चलचित्रमा आर्यन सिग्देल, सौगात मल्ल, अरूणिमा लम्साल, शुष्मा कार्कीको मुख्य भुमिका रहेको छ ।

From: FilmyKhabar

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।