फाइट खेल्न मुस्ताङ

काठमाडौं, साउन १२ (नागरिक)- मुस्ताङमा पुगेर मोटरसाइकल स्टन्टको सुटिङ गर्नु सजिलो काम होइन। तर, एउटा नेपाली फिल्मले यो झन्झट उठाएको छ। श्याम भट्टराईद्वारा निर्देशित 'च्यालेन्ज'मा हिरोहिरोइनले मुस्ताङमा मोटरसाइकल स्टन्ट देखाएको दृश्य समेटिएको छ।

गत असारको तेस्रो हप्ता मुस्ताङमा सात दिन लगाएर यो दृश्य खिचिएको थियो, जसमा प्रयोग भएका यामाहा ब्रान्डका चारवटा मोटरसाइकल स्टन्टम्यानले हाँकेर लगेका थिए। रेखा थापा, रेश मरहट्ठा, आयुष रिजाल र खुश्बु न्यौपानेलाई मुस्ताङमा बाइकको 'एक्सन' देखाउन द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीलाई जिम्मेवारी दिइएको थियो।

'फिल्मको सुरुवात र अन्त्य मुस्ताङको बाइक स्टन्टबाटै हुन्छ,' निर्देशक भट्टराईले भने, 'फिल्ममा पाँच-सात मिनेटमात्र हेर्न पाइने यो दृश्य लागि हामीले मुस्ताङ आउन अल्छी गरेनौं।'

फाइट भन्ने बित्तिकै रानीबारीको जंगल वा चोभारको डाँडा पुग्ने चलनचल्तीलाई तोड्न पनि मुस्ताङ गएको निर्माता रेशले बताए। बाइकको दृश्य स्तरीय देखाउन फिल्ममा व्यावसायिक स्टन्टम्यानहरूको पनि सहयोग लिइएको छ।

प्रदीप भारद्वाजले लेखेको 'च्यालेन्ज'मा सिमोष सुनुवारले ग्राफिक्स र एनिमेसन गर्नेछन्। फिल्ममा बेलायती कलाकारहरू रोज च्याडवर्क, मोली क्लार्कब्यारल र बेन अर्युसले पनि महत्त्वपूर्ण भूमिकामा अभिनय गरेका छन्। भर्खरै सुटिङ सिद्धिएको यो फिल्मका छायाकार विष्णु कल्पित हुन्।

From: Nagarik News

1 प्रतिकृया/हरु:

Anonymous said...

WOW awesome. She is so cute then Rekha.

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।