निरुताको फिटनेस फर्मुला

सन्तोष रिमाल - निरुता सिंह करिब तीन वर्ष रजतपटबाट हराइन्। फिल्म बाहेकका गतिविधिमा पनि उनलाई भेटिएन। त्यतिबेला 'इन्टेरियर डिजाइन सिक्छु' भन्दै मुम्बई लागेपछि यता कुरा काट्नेहरूले ठाउँ पाए। 'फिल्म नपाएपछि निरुताले नेपाल छोडिन्'- यो धेरै समय नेपाली सिनेक्षेत्रमा कानेखुसीको विषय बन्यो। गएको चैतमा अचानक उनी काठमाडौंमा देखिइन्। र, फेरि चर्चित भइन्।
चर्चाको कारण उनको पुनरागमन थिएन, निरुताले बनाएको 'जिरो साइज' शरीर थियो। सबैलाई चकित तुल्याउने उनको 'फिटनेस'को रहस्य के होला?

'फुर्सद,' नागरिकको जिज्ञासामा उनले भनिन्, 'फिल्ममा काम गरुन्जेल कहिल्यै फुर्सद भएन। खुब खाइयो, निकै मोटाइयो।'

पाँच वर्षअघि लन्डन गएपछि आफ्नो तौल बढ्न थालेको उनको अनुभव छ। त्यतिखेर ५२ केजीकी यी हिरोइनलाई शिव रेग्मीको फिल्म 'दुनियाँ'को सुटिङमा धेरैले मोटाएको टिप्पणी गरेका थिए। त्यसपछि प्रत्येक फिल्मसँगै उनको मोटाइ बढ्दै गयो। हरेक बिहान सुटिङमा जानुअघि उनी ऐनाअगाडि उभिन्थिन्, अनि आफ्नो शरीर छरितो राख्न नसकेकोमा आफैंलाई धिक्कार्थिन्। तर, चाहना हुँदाहुँदै पनि सुटिङको व्यस्तताबीच उनले आफ्नो शारीरिक तन्दरुस्तीमा समय दिनै भ्याइनन्।

जब फिल्म घट्न थाल्यो, त्यसपछि सुरु भयो उनको 'फिटनेस' अभियान। काठमाडौं छोडेर मुम्बई पुगेपछि उनले यसैलाई आफ्नो पहिलो प्राथमिकतमा राखिन्। 'उता गएपछि दैनिक तीन घन्टा जिम गरेँ। खानपिन एकदमै सन्तुलित थियो,' उनले भनिन्।

प्रशिक्षकको प्रत्यक्ष निगरानीमा शारीरिक व्यायाम थालेकी निरुताले भात र जंकफुड पूरै त्यागिन्। 'उनीहरूले बनाइदिएको डाइट चार्ट सिरियसली पछ्याएँ,' तौल ४५ केजीमा झरेपछि उनले बुझिन्, 'डाइट कन्ट्रोल नगरे जति एक्सरसाइज गरे पनि फिट भइँदैन।'

शरीर घटाएपछि निरुताको व्यस्तता बढेको छ। रक्षा सिंहको फिल्म 'दि गेम' सकिनेबित्तिकै भद्र भुजेलको 'मलाई मन पर्‍यो'मा व्यस्त छिन्। केही समयको अन्तरालमा भएपनि व्यस्तता बढेकोमा उनी खुसी छिन्। 'व्यस्त हुँदा एक्सरसाइजको समय पाइन्न,' उनलाई चिन्ता पनि छ, 'सुटिङले रुटिन बिग्रिएको छ। खानपिनमा भने ध्यान पुर्‍याएकी छु। यस्तै ताल हो भने फेरि मोटाउन बेर छैन।'

व्यस्त हुँदा घरमै एक्सरसाइज गर्ने निरुता फुर्सदमा क्लब जान्छिन्। अहिले उनलाई फिल्मको विषयले 'किक बक्सिङ' अभ्यास गर्न प्रेरित गरेको छ। योग अभ्यास उनको दैनिकीमै पर्छ। 'फिट हुन एक्सरसाइज गर्छु, स्वस्थ रहन योग,' नियामित प्रणायामले माइग्रेन (अत्यधिक टाउको दुख्ने रोग) को समस्या ठिक भएपछि योगतर्फ आकर्षिक भएको उनी बताउँछिन्।

फलफूल, जुस, सुख्खा रोटी र सुप उनको नियमित आहार हो। 'दुई घन्टाको अन्तरमा केही न केही खान्छु,' खाली पेटले रोग निम्त्याउने उनको भनाइ छ।

'फिटनेस'ले फिल्म पाएको भन्ने टिप्पणीसँग भने उनी सहमत छैनन्। 'फिल्म खेल्ने कुरा दिमागबाट निकालेपछि मैले फिटनेस सुरु गरेकी हुँ। निर्देशकले फिल्म खेल्ने प्रस्ताव राख्दा मलाई देखेका थिएनन्,' उनले भनिन्, 'यस्तो रूपमा देख्दा निर्देशकहरू झन् खुसी भए।'

ग्ल्यामर दुनियाँमा लागेकाले मात्र 'फिट रहनुपर्छ' भन्ने सोंच बदलिँदै गएको उनले पाएकी छन्। 'फिटनेस गृहणीका लागि पनि आवश्यक छ,' उनी भन्छिन्, 'यसको फाइदा हिरोइनहरूलाई पनि हुने हैन। म भुवन केसीसँग फिल्म खेल्न थालेको मान्छे, जीवन लुइँटेलसँग पनि सुहाउँदो देखिनु फिटनेसको कमाल हुनसक्छ।' From: Nagarik News


1 प्रतिकृया/हरु:

Anonymous said...

Wow Niruta is so cute. I love you Niruta. You are so cute than other heroin.Best of lock.

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।