सुदिनले रश्मीलाई खुसुक्क उडाएपछि

'तुरुन्तै सुन्धाराको बेकरी क्याफेमा आऊ, सुदिनको बिहेको पार्टी छ ।' म्युजिक भिडियो निर्देशक तथा विज्ञापन निर्माता आसिफ शाह सोमबार साँझ ७ बजे नजिकका साथीहरूलाई फोन गर्न थाले । सुरुमा साथीहरूले पत्याएनन्, तर फेसबुकमा योपेस प्रधानले राखेको तस्बिर हेरेपछि सबै अचम्भित भए । हतार-हतारमा गरिएको सानो बिहे भोजमा निम्त्याइएका नजिकका मित्रहरू आएपछि डिजेले बजाएको गीतमा सुदिन आफैं पनि नाच्न थाले । यी सुदिन हुन्, र्‍याप गायक तथा कान्तिपुर टेलिभिजनका समाचारवाचक सुदिन पोखरेल । उनी अनायसै वैवाहिक बन्धनमा बाँधिएका छन् ।

कुनै चलचित्रको कथा झै लाग्ने उनको विवाह मागी नभएर भागी विवाह भयो, त्यो पनि सुटुक्क । विराटनगरबाट हवाइर् जहाजमा उडाएर उनले आफ्नी प्रेयसी रश्मी रिजाललाई काठमाडौं ल्याइ विधिवत् विवाह गरेका छन् । रश्मी र सुदिन दुवै विराटनगरका हुन् । एक वर्षअघि सुदिन र रश्मीबीच मागी विवाह हुने पारिवारिक सल्लाह भएको थियो । यद्यपि विवाहको कुरा सकारात्मक ढंगबाट अघि बढेन । पारिवारिक अवरोध आए पनि मागी विवाहका लागि चिनजान भएको यो जोडी विस्तारै प्रेममा पर्न थाल्यो । खेलकुद पत्रकारितामा कहलिएका एवं र्‍याप समूह 'द युनिटी' का 'डिए ६९' उपनाम भएका यी र्‍याप गायक सुदिनको रश्मीसँगको प्रेम झाँगिदै गयो । अन्त्यमा उनीहरू एक अर्काबिना बस्नै नसक्ने अवस्थामा पुगे । दुवैबीच प्रेम भैसकेको थाहा पाए पनि परिवारले चासो नदिएपछि रश्मीलाई भगाउने निर्णय गर्नुपरेको सुदिन बताउँछन् ।

साथी आसिफ शाहको सहयोग लिएर सोमबारको अन्तिम फ्लाइटमा सुदिन विराटनगर पुगे । सुदिनसँग जीवन बिताउने निधो गरेकी रश्मी पनि सुदिनको निर्णयमा सहमत भइन् र मंगलबार दिउँसोको फ्लाइटमा उनीहरू काठमाडौं आए । हवाइर् जहाजबाट झर्ने बित्तिकै उनीहरू बालाजुस्थित पुरानो गुह्येश्वरीको मन्दिर पुगे । जहाँ सुदिनका अर्का मित्र योपेश प्रधान र साथीहरूले विवाहका लागि आवश्यक जोरजाम गरिसकेका थिए । सुदिन सुटमा सजिए भने रश्मीलाई पनि दुलहीको पहिरनमा सजाइयो । गुह्येश्वरी भगवतीलाई साक्षी मानेर उनीहरूको विधिवत् विवाह सम्पन्न भयो । अब उनीहरू बाहिरै बसेर अभिभावकहरूलाई मनाउने र त्यसपछि विधिवत् वैवाहिक जीवन बिताउने योजनामा छन् । From: Saptahik

3 प्रतिकृया/हरु:

सिर्जनाहरू said...

प्रेम विवाह मागी विवाहमा परिवर्तन भएको चैँ धेरै थाहा थियो यहाँ त मागी विवाह पो भागी विवाहमा परिवर्तन भएछ, गाठेँ !!

Anonymous said...

he he.... man lage pachhi aru kasko ke lagdo rahechha....

Anonymous said...

la la badai chha

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।