आफ्नो मान्छे आफ्नै हुन्छ

अषाढ २१ - गतवर्ष नै मोफसलबाट प्रदर्शनमा आएको ऋषि लामिछाने निर्देशित 'आफ्नो मान्छे आफ्नै हुन्छ' शुक्रबारदेखि राजधानी भित्रिएको छ ।

विकास आचार्य लिखित कथामा जेजति घृणा, असन्तुष्टि र आक्रोश भए पनि अन्त्यमा काम लाग्ने भनेको आफ्नै मान्छे हो भन्ने पुस्ट्याइँ गर्न झन्डै साढे दुई घन्टा खर्चिएको छ । मोफसलमा धेरै 'आफ्ना मान्छे बटुलेको र आम्दानी राम्रै गरेको' दाबी गरिएको फिल्म राजधानीका विश्वज्योति र गंगाबाहेकका सबै हलमा चलिरहेको छ ।

फिल्म मसलेदार फिल्मकै परिस्कृत रूप हो, दर्शकले नयाँ खास केही नपाउन सक्छन् किनकि अन्य कयौं फिल्ममै हुनेजस्तै यसमा पनि छ । दृश्यमा नायिका । खलपात्रको कुदृष्टिसँगै जबर्जस्तीको पनि प्रयास । अनि ढिलो नगरी खलपात्रलाई मुक्का हान्दै हुने नायकको प्रवेश । प्रेम । संघर्ष अनि मिलन ।

'आफ्नो मान्छे आफ्नै हुन्छ' प्रेमिल फिल्म हो । पोस्टरमा नायक विराज भट्ट, मुकेश ढकाल, अरुणिमा लम्साल र रेखा थापाका टाउका हेरेर फिल्म हेर्न जानेका लागि पनि फिल्ममा ठूलै प्रेमकथाको आशा हुन सक्छ, आफ्नी प्रेमिकालाई हर्दम सुरक्षित राख्न विराजको मुंग्रे-मुड्की खलपात्रमा बज्रेला, हावामा उड्दै खुट्टा नचाउला भन्ने आशा हुन सक्छ ।

सोचेकै जस्तो मात्र हुने भए के फिल्म ? अलिकति नाटकीय भएन भने फिल्म नचल्ला भन्ने कथाकार विकासले पनि बुझेको हुुनुपर्छ । सुरुमा फिल्म हेर्दै गर्दा फिल्मदृश्यको सोझो बुझाइमा वषर्ा -रेखा) अग्नि -विराज) लाई अत्यधिक मन पराउँछे तर अग्नि भने गृष्मा -अरुणिमा) लाई चाहन्छ । अग्निको भाग्य पनि वषर्ाको जस्तै हुन्छ किनकि गृष्मा पनि अर्कै केटो राहुल -मुकेश) लाई मन पराउँछे ।

सरसर्ती हेर्दा 'वान साइडेड लभ' को झल्को दिने यस किसिमको प्रेम संरचनाले फिल्म वियोगी होला भन्ने अनुमान गर्न सकिन्छ, तर फिल्ममा नायिका रेखा थापा छिन्, जसलाई मिनिस्कर्टको बन्देज हुने भूमिका छैन, ग्ल्यामर देखिन चाहने उनलाई ऋषिले पनि सघाइदिएका छन्, चुलबुले बनाइदिएर ।

प्रेममै चुर्लुम्म डुबेकाले एक्सन नहोला कि भन्नेहरूलाई विराज -अग्नि) ले धोका दिने छैनन् । ग्यारेजमा काम गर्ने अग्नि मुक्कामुक्की भनेपछि जहाँ पनि टुप्लुकिन्छन् । तर उनको यस्तो व्यवहारलाई गुन्डागर्दी भन्दैै अरुणिमा

-गृष्मा) उसलाई घृणा गर्छे । बरू उनी मुकेश -राहुल) को मन चोर्न सफल हुन्छिन् । प्रेमकै रस्साकस्सीबीच अघि बढेको कथामा थप मोड आउँछन् । गृष्माको लागूऔषध दुव्र्यसनी दाजुको दुई वर्षअघि पोखरामा केही गुन्डाले हत्या गरिदिएका हुन्छन् जब कि पोखराको गुन्डा मानिने अग्नि पनि सोही समयमा पोखराबाट त्यहाँ आएको हुन्छ । वषर्ाको पुलिस दाजुले यसबारेमा खोजीनीति गर्न थाल्छ । तर फिल्ममा हत्याराको चासो त्यति हुँदैन, जति रहस्यमयी बनेको अग्निको परिचय खुल्छ । उसको परिचयसँगै सबै कुरा सहज बन्दै जान्छन् र फिल्म संयोगमा टुंगिन्छ ।

फिल्ममा मुकेश-अरुणिमाको चुम्बनदृश्य अनि रेखाको सर्पसँग गरेको 'आइटम डान्स' लाई मसलाका रूपमा प्रयोग गरिएकोे छ । अस्वाभाविक हाउभाउ र संवादको भारी बोकाइदिए पनि बालकलाकार इशान रावतको भूमिकाले थप मनोरञ्जन दिन्छ । केही अनावश्यक दृश्य र कमजोरीबाहेक फिल्म हेर्दा दर्शकले छ्या भनी हाल्नुपर्ने छैन । अग्निलाई रहस्यमयी पात्र बनाउन खोज्दा कथामा जटिलता पैदा हुन्छ र दाजुले आफ्नै बहिनीसँग प्रेम गरेको भान पर्नं जान्छ ।

पीएलएम फिल्मस्को ब्यानरमा मुनाल घिमिरेले बनाएको फिल्म 'आफ्नो मान्छे आफ्नै हुन्छ' मा रोशन श्रेष्ठको द्वन्द्व र महेश खड्काको संगीत मध्यम छन् । छायांकनमा पुरुषोत्तम प्रधानले राम्रै काम देखाएका छन् । विश्वकपको ज्वरोले नभेटेका र नेपाली फिल्म हेर्न चाख मान्ने दर्शकका लागि 'आफ्नो मान्छे आफ्नै हुन्छ' ले साढे दुई घन्टा मनोरञ्जन दिनेछ । From: Kantipur Online

2 प्रतिकृया/हरु:

Anonymous said...

AAhhh cool.

Anonymous said...

this was too cool

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।