निवास र कार्यालयमा गरी भेटघाटका मात्र दैनिक तीन/चार कार्यक्रम हुन्छ राष्ट्रपतिको। छुट्टिने बेलामा धेरैको उस्तै खालको धोको हुन्छ, 'राष्ट्रपतिसँग एक पोज!' त्यसपछि सुरु हुन्छ राष्ट्रपतिका फोटोग्राफर किरण पन्थीको 'क्लिक... क्लिक...' क्यामेरा बोकेर आएकाले उनलाई खिचिदिन आग्रह गर्छन्। नल्याएकाले फोटो पाउन अनुरोध गर्छन्।
राजधानीबाहिरबाट विभिन्न भ्रमणको सिलसिलामा आएकाहरू सकेसम्म राष्ट्रपतिसँग फोटो खिचेर जाने गरेको किरणले बताए। 'उनीहरू फोटो खिचाएपछि पनि एक दिन कुर्छन्। र, ठुलो साइजको फोटो प्रिन्ट गर्न लगाएर लैजान्छन्,' फोटोग्राफर पन्थीले बताए, 'राष्ट्रपतिसँगको फोटो पाउन विदेशीहरू पनि निकै प्रयास गर्छन्। हतारमा रहेकाले इमेल गरिदिन आग्रह गर्छन्।'
किरणको क्यामेराले राष्ट्रपतिसँग थुप्रै सेलिब्रिटीलाई कैद गरेको छ। आफ्नो फ्रेममा को-को परे सबै सम्झना त उनलाई पनि छैन। तर, बलिउड अभिनेता गोविन्दादेखि नेपालका सुपरस्टार राजेश हमालसम्म आफ्नो क्यामेरामा उतार्दाको क्षण उनी भुल्न सक्दैनन्। अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गायक अमृत गुरुङ, गायिका आनी छोइङ डोल्माआदिसँगको सेसन उनको अर्काइभमा सुरक्षित छ। देशका चर्चित व्यक्तिले राष्ट्रपतिसँग फोटो खिचाएपछि 'ठूलो पारेर दिनुस्' भन्दा किरण 'नाइँ' भन्न सक्दैनन्। 'फोटो खिचाएपछि कतिखेर पाउँ भन्ने हतारो सबैमा हुँदो रहेछ। मेरो धेरै समय त फोटो दिँदैमा बित्छ,' उनले भने।
बिहान आठदेखि साढे नौको समय सर्वसाधारणका लागि छुट्याएका छन् राष्ट्रपतिले। गृह जिल्लाका जनता धेरै हुन्छन्। तर, भेटघाटमा उनीहरूको पलो पछि आउँछ। 'अरू क्षेत्रका जनतासँग पहिला। आफ्नो क्षेत्रकासँगको भेटघाट अन्तिममा,' राष्ट्रपति स्वयंले बनाइदिएको नियम हो यो। फोटो खिच्ने मात्र उदेश्य लिएर आएकाहरूको निम्ति पनि राष्ट्रपतिको ढोका खुला छ। 'फोटो खिच्न आएकालाई खाली मुख फर्काउने गरेको छैन,' किरणले राष्ट्रपति निवासको चलन सुनाए, 'चिया, लड्डु र दही चिउरा ख्वाएर पठाउने गरिन्छ।'
नातेदारमात्र होइन सामान्य चिनजान भएकाहरू पनि राष्ट्रपतिकहाँ विभिन्न निम्तो लिएर पुग्छन्। त्यो निम्तो स्वीकार्ने अवस्थामा हुँदैनन् उनी। तर, निराश पर्दैनन् राष्ट्रपति। 'म त उपस्थित हुन सक्दिन। बिहे सकिएपछि दुलाहादुलही आउनुस्। लड्डु खानुस्। फोटो खिचाउनुस् र जानुस्,' राष्ट्रपतिको यस्तो भनाइ पटकपटक सुनेका छन् किरणले।
राष्ट्रपति फोटोको बारेमा खासै चासो देखाउँदैनन्। 'तर, कहिले काहिं नसोचेको फोटोमा वहाँको ध्यान जान्छ,' किरणले एउटा घटना सुनाए,' धनुषाबाट एउटा समूह भेटघाटका लागि आएका थिए। फोटो खिचेपनि मैले चाहिंदैन होला भनेर व्यवस्थित गरेको थिईन। तर, राष्ट्रपतिबाट तिनै पगरीवालसँगको फोटो ठुलो पारेर झुन्ड्याउनु भन्ने आदेश आयो।'तस्विरहरु : किरण पन्थी From:Nagarik News
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।