समीक्षा लेख्दा प्रहरी नियन्त्रणमा

असोज ८ -फिल्म समीक्षा लेखेबापत निर्देशक मनोज पण्डित प्रहरी नियन्त्रणमा परेका छन्। करिब तीन साताअघि एक अनलाइन पत्रिकामा लेखेको समीक्षाले उनलाई जिल्ला प्रहरी कार्यालय हनुमानढोका पुर्‍यायो। निर्माता एवं अभिनेत्री ऋचा घिमिरेले 'ब्रेकफेल'को समीक्षामार्फत् मनोजले आफ्नो मानहानी गरेको उजुरी दिएपछि शुक्रबार उनलाई राजधानीको बागबजारबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। मेरो सिनेमा डट कममा मनोजले लेखेको 'सर्वमान्य नीतिअनुसार हेर्दा यो फिल्ममा ऋचा कुनै पनि कोणले नायिकाजस्ती लाग्दिनन्' वाक्यबाट आफू अपमानित भएको भन्दै उनले मुद्दा दर्ता गरेकी हुन्। 'बागबजारमा थिएँ, एक्कासी पुलिसले नाम सोध्यो, त्यसपछि डिएसपी साब्ले कुरा गर्न खोज्नुभएको छ भन्दै हनुमानढोका लग्यो,' मनोजले भने, 'पहिला त किन ल्याएको भन्ने थाहा पाइनँ, पछि थाहा भयो समीक्षाका कारण रहेछ।'
करिब चार घन्टाको छलफलपछि कागज गराएर उनलाई छोडिएको थियो। समीक्षाले निकै तनाव पैदा गरेको र अन्तर्राष्ट्रिय व्यापारमा बाधा पुगेको आरोप ऋचाले लगाएपछि आफ्नो मनसाय त्यस्तो नरहेको भन्दै माफी मागेको मनोजले बताए। 'मैले पूर्वाग्रह भएर समीक्षा गरेको थिइनँ, फिल्म अध्ययनबाट जानेको लेखेको हुँ, ऋचाले रचनात्मक बहस नगरी पुलिसको ढोका ढकढक्याउनु गलत थियो,' उनले भने। कसैले चोट पुर्‍याउँदा ढोका थुनेर रुने नभई कानुनी उपचारमा लाग्ने नारी भएकाले यो तरिका अपनाएको ऋचाले बताइन्। 'समीक्षा गर्ने अधिकार सबैलाई हुनु हुँदैन, समीक्षा आलोचनात्मक होइन प्रोत्साहन गर्ने खालको हुनुपर्छ,' उनको माग छ। उनको बुझाइमा 'नेपाल पत्रकार महासंघले नियुक्त गरेकाले मात्र' फिल्म समीक्षा गर्न पाउनुपर्छ र सुझाव दिन राम्रो शब्द प्रयोग गर्नुपर्छ। 'यही कुरामा चुकेकाले वकिलको परामर्शमा हनुमानढोका पुगेँ, थुनाउने नियतले होइन खबरदारी गर्न यो कदम चालेकी हुँ,' ऋचाले भनिन्। सिडिओ कार्यालयबाट आवश्यक कारबाही गर्ने भन्ने पत्र पठाएकाले सोधपुछका लागि मनोजलाई पक्रिएको डिएसपी आभूषण तिमिल्सिनाले बताए। उनले भने, 'समीक्षा गर्नेले अरुलाई अपमानित गर्नु हुँदैनथ्यो, त्यसैले सम्झायौं, पछि दुवै पक्षलाई मिलाएर मुद्दाको समाधान तर्फ लग्यौं।'यो प्रहरीको अधिकार क्षेत्र हो भन्ने नागरिकको प्रश्नमा उनले भने, 'जाहेरी हालेपछि सोधपुछ गर्नु हाम्रो काम हो, कुरा नमिलेको भए एसपी साबलाई जाहेर गथ्यर्ौं, सिडिओसाबसँग छलफलपछि निष्कर्षमा पुगिन्थ्यो होला।'पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले यसलाई मिडिया सामग्रीमा असम्बद्ध पक्षको हस्तक्षेप भन्ने प्रतिक्रिया दिए। 'प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको मुलुकमा पुलिसले समाचारमाथि कारबाही गर्नु दुनियाँ हँसाउने कुरा हो,' उनले भने। प्रकाशन अथवा प्रसारण गरेको विषय आपत्तिजनक भए/नभएको हेर्ने निकाय हुँदाहुँदै त्योभन्दा बाहिर गएको भन्दै उनले विरोध गरे। 'लेखे वा बोलेको निहुँमा तिनलाई गरिने कारबाहीको दायरा स्पष्ट हुनुपर्छ, मिल्यो/मिलेन प्रेस काउन्सिलले हेर्छ,' उनले भने। पछिल्लोपल्ट 'दासढुंगा' निर्देशन गरेका मनोज उक्त अनलाइनमा फिल्म समीक्षा गर्ने गर्छन्।
- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।