भक्तराजले हेरे आफ्नै जीवन

काठमाडौं, असोज ५ (नागरिक) - 'तरकारीको स्वाद हेरेर बताउन सकिँदैन, चाख्नुपर्छ। विज्ञापन हेर्दा राम्रै लागेको छ,' प्रिमियर शोअघि आफ्नै जीवनमा आधारित फिल्म 'आचार्य'बारे यस्तो टिप्पणी थियो गायक भक्तराज आचार्यको। २ घन्टा २० मिनेटको फिल्मले आचार्यका प्रशंसकलाई निकै भावुक तुल्यायो। प्रतिक्रिया दिने धेरैको गला अवरुद्ध भए पनि उनी सामान्य मुद्रामा हलबाट बाहिरिए। 'फिल्म ठिकै बनेको रहेछ। केही कुरा थपेको पनि रहेछ,' आफ्नो जीवनकथा पर्दामा हेरेपछि उनले नागरिकलाई प्रतिक्रिया दिए, 'मेरो सबै कथा त फिल्ममा कसरी अटोस्? त्यसो गर्न त १० घन्टाको फिल्म बनाउनुपर्छ।' फिल्ममा आफ्नो रोलमा अभिनय गर्न जेठो छोरा सत्यराजलाई सिफारिस गरेका थिए आचार्यले। 'उसले राम्रो अभिनय गरेको रहेछ,' उनले भने। 'आचार्य'मा भक्तराजको सांगीतिक जीवनका उतारचढाव प्रस्तुत गरिएको छ।
बुबाको प्रेरणाले सांगीतिक क्षेत्रमा लागेको बताउने सत्यले अभिनयको जस पनि बुबालाई दिए। 'सुरुमा अर्कै कलाकारले अभिनय गर्ने कुरा भएको थियो। तर, म नै उपयुक्त हुने बताउँदै बुबाले अभिनेता पनि बनाउनु भयो,' सत्यले भने। पहिलोपटक फिचर फिल्म निर्देशन गरेका प्रशान्त रसाइलीले दर्शकको सकारात्मक प्रतिक्रियाबाट निकै उत्साह जागेको सुनाए। फिल्ममा निर्देशकीय स्वतन्त्रताको पूर्ण उपयोग गरेको चर्चा गर्दे उनले भने, 'जीवनीमाथि फिल्म बनाए पनि निर्माण अवधिमा हस्तक्षेप भएन। जसको बारेमा फिल्म बनाएँ र जसको लागि बनाएँ सबैबाट राम्रो प्रतिक्रिया पाउँदै छु।'
शुक्रबार देशका प्रमुख सहरमा रिलिज गरिने फिल्म रोशन राईले निर्माण गरेका हुन्। फिल्म भक्तराजको जन्मथलो धनकुटाको दुम्चिपाडा, सिक्किम, दार्जिलिङ र काठमाडौंमा खिचिएको छ। सुनील पोखरेल, अरुणा कार्की, दयाहाङ राई, पुष्कर गुरुङ, सरिता गिरी, विजय विस्फोट, मिश्री थापा, सौगात मल्ल, विष्णुभक्त फुयाल लगायत रंगमञ्चका कलाकारले यसमा अभिनय गरेका छन्। फिल्ममा भारतीय गजलगायक गुलाम अलीको पनि उपस्थिति देख्न सकिन्छ। शैलेन्द्र डि कार्कीको छायांकन र सम्पादनमा फिल्म तयार भएको हो।
फिल्मको पटकथा निर्देशक रसाइलीले रिक बाराफसँग मिलेर लेखेका हुन्। फिल्ममा भक्तराजद्वारा संगीतवद्ध लोकप्रिय गीतहरू सुन्न पाइन्छ। त्यस्तै 'रामगोपाल वर्माकी आग', 'सरकार', 'सिंघम' जस्ता बलिउड फिल्ममा ब्याकग्राउन्ड म्युजिक दिएका अमर मोहिलले 'आचार्य'मा पनि सोही जिम्मेवारी सम्हालेका छन्।
- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।