भूइचालो जाँदा के गर्दै थिए कलाकार ?

काठमाडौं, असोज ३ (नागरिक) - गत आइतबार साँझ गएको भूइचालोले नेपाल, भारत र चीनमा गरी ६८ को ज्यान गयो। यो भुकम्पले राजधानी राम्रैसँग हल्लिन पुग्यो। सर्वसाधारणसँगै सेलिब्रेटीहरु पनि भुकम्पको कम्पनबाट अत्तालिन पुगे। ९० सालयताकै ठूलो भुकम्पको कम्पन बेहोरेका कलाकारहरु के गर्दै थिए त ? हामीले केही प्रतिनिधि कलाकारसँग सोध्यौ। उनीहरुको जवाफ यस्तो थियो :
न्युरोडमा भीडसँगै दौडेँ
राजवल्लभ कोइराला, अभिनेताचलचित्र दिवस मनाउन वसन्तपुर जाँदैथिएँ। न्युरोड गेट पुगेपछि गाडीको सन्तुलन बिग्रियो। टायर पंक्चर भयो कि भन्ने अनुमान लगाउँदै थिए, जुलुस दौडजस्तो दृश्य देखेँ। भुइँचालो! भन्दै कराएको देखेपछि म पनि गाडीबाट ओर्लिएँ र सुरक्षित स्थानको खोजीमा लागेँ। ट्राफिक नियमको पालन कसैले गरेनन्। त्यतिबेला थाहा भयो मान्छेलाई ज्यानको माया कति हुँदो रहेछ। प्रतीकात्मक रूपमा भन्दा सबै मान्छे नाङ्गै भागेका थिए। साम्य भएपछि म कार्यक्रमस्थल गएँ। तर, सबै तितरबितर भइसकेका रहेछन्। कोही घाइते भएछन्। एकछिन गफ गरेपछि आफन्तको हालखबर बुझ्दै घर फर्किएँ।
फिल्म हेर्दै थिएँ हलभित्र

दीपकराज गिरी, अभिनेता

म, दीपा र निर्मल शर्मा कमलपोखरीको सिटी सेन्टरमा 'मेरे ब्रदर की दुल्हन' हेर्न गएका थियौं। दोस्रो दृश्य सुरु भएको मात्र थियो पर्दा हल्लिन थाल्यो। सामान्य दृश्यमा के यस्तो इफेक्ट राखेको होला भनेर कमेन्ट गर्दै थिएँ दीपाले हल नै हल्लिन थालेको बताइन्। त्यसपछि त कुलेलाम ठोकियो। यस्तो बेला खापामुनि बस्नु पर्छ भन्थे खापा पनि छैन। टेबुलमुनि टाउको लुकाउनु भन्थे त्यो पनि छैन। अनि हुँदैन भन्ने जान्दाजान्दै पनि भर्‍याङबाट भाग्यौं। यस्तो बेलामा को कता लागे भन्दा पनि आफैं टाप कस्नतिर लागिँदो रहेछ। पछि साथीहरूको खोजीमा फोन गर्न खोज्दा लागेन। परिवारको हालखबर बुझ्न पनि पाइएन। त्यसपछि काटेको टिकट र आधा मकै त्यसै छाडेर घर हिँडियो।


गाडी सडकमै छाडेँ

ऋचा घिमिरे

क्रिकेट खेलाडीहरुसँगको मिटिङ सिध्याएर अफिसबाट कारमा फर्किदै थिएँ। चुच्चेपाटीमा खुलेको भाटभटेनीमा सपिङ गरेर घर फर्किने योजना थियो। नयाँ बानेश्वर पुगेपछि अचानक कार हल्लियो। कसैले पछाडिबाट मेरो गाडीमा धक्का दियो कि भन्ने लाग्यो। तर, मान्छेहरू सडकमा ओर्लेर भुइँचालो भुइँचालो भन्दै कराउन थालेँ। म पनि कारको ढोका खुल्लै राखेर बाटो छेउतिर भागेँ। निर्माता प्रज्ञा जोशीलाई पनि देखेँ। एक मिनेटपछि गाडी लिएर सिधै घर गएँ। राति भुइँचालो फर्किन्छ भन्ने डरले नाइट ड्रेसको सट्टा ट्राउजर र टिसर्ट लगाएर सुतेँ, भाग्न सजिलो हुन्छ भनेर।


अरू भागेको हेरेर बसेँरेजिना उप्रेती

म घरमै बसिरहेकी थिएँ। घरमा अरू कोही थिएनन्। वरिपरि निकै घर छन्। त्यसैले मान्छेहरुको ठूलै भागदौड मच्चियो। मलाई पनि आफू हल्लिएपछि के गरूँ गरूँ भयो। बिस्तारै ढोकानिर गएँ र अरू मान्छे भागेको दृश्य हेर्दै बसेँ। भुइँ तल्लामा भएकोले धेरै हल्लिएन। तैपनि निकै डर लाग्यो। भुइँचालो रोकिने बित्तिकै धादिङमा रहनुभएका बुबाआमालाई फोन गरेँ।


छोरा लिएर छततिर उक्लिएँसञ्चिता लुइटेल, अभिनेत्री

घरबाट एयरपोर्ट प्रष्ट देखिने हुँदा हेरेर बस्दै थिएँ। कोठामा रहेको ल्याम्प हल्लियो। त्यसपछि रिङ्गटा लागेर टाउको दुखेको अनुभव भयो। ममीलाई पनि त्यस्तै अनुभव भएछ। त्यसपछि भुइँचालो आयो भन्ने थाहा भयो। आत्तिएर छोराको केही लुगा र चाहिने सामान झोलामा हालेर छोरासहित छततिर लागेँ। बाहिर त सबैतिर भागाभागको आवाज सुने। आत्तिएर केही सोच्न सकिन। पछि भुइँचालो रोकिएपछि सबै बत्ती निभाएर टिभी हेरेँ। फेरि आउँछ भन्ने सुनेकी छु। अहिले मानिसिक रूपमा तयार रहन केही सामान झोलामा राखिरहेकी छु।


रेस्टरेन्टमा चियाँ पिउँदैथिएँमौसमी गुरुङ, गायिका

त्यतिखेर दरबारमार्गमा बहिनी र म एउटा रेस्टुरेन्टमा खाजा खान छिरेका थियौं। म चिया पिउँदै थिएँ। कप हल्लिएको जस्तो लाग्यो। उठ्न खोज्दा शरीर नै हल्लिएको महसुस भयो। सबैजना रेस्टुरेन्टबाट बाहिर गए। पछि बहिनीले बाहिर जाउँ भनेपछि गएँ। खासै डर चाहिँ लागेन। बरू कहाँ के के भयो होला भन्ने चिन्ता लाग्यो। घरमा फोन गर्दा फोन लागेन। ट्याक्सी चढेर घरतिर लागेँ।

कम्प्युटर हल्लियोकोमल वली ,गायिका

काम गर्न कम्प्युटर खोल्न लाग्दा हल्लिएको जस्तो लाग्यो। त्यसपछि बाहिर निस्किन खोज्दा उठ्नै सकिएन र रिँगटा लागेको जस्तो भयो। पछि दाइले भुइँचालो आयो भनेपछि हतारहतार घर बाहिर गएँ। सबैतिर चिच्चाहट थियो। दाङमा रहनुभएको बुबालाई सम्झेँ।

- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।