सुन्दरीका ग्लोबल सपना

काठमाडौं, भाद्र २२ - पाँच वर्षअघि मिस लिटल नेवाको टप फाइभमा पुगेकी १६ वर्षीया आयुष्मा श्रेष्ठ बुधबार कमलादीस्थित सि-डब्लु रेस्टुरेन्टमा भेटिइन् । मिस लिटल नेवामा शीर्ष स्थान हासिल गर्न नसके पनि उनको चाहना र सपना बदलिएको थिएन । त्यति बेलाकी मिस फोटोजेनिक आयुष्मा बुधबार भने मिस ग्लोबल ब्युटी क्विनको ट्यालेन्ट राउन्डमा भिड्दै थिइन् । गून्यु चोलीमा सजिएकी उनी 'डाली डाली फूल फुल्यो...' मा नाचिन् ।

'एकपटक हारेर के भो र ?' नृत्य सकेपछि लामो सास लिँदै उनले भनिन्, 'उद्देश्य पूरा नभएसम्म निरन्तर लागिपर्छु ।'

बागबजार घर भएकी आयुष्मा भविष्यचाहिँ बैंकिङ क्षेत्रमा बनाउन चाहन्छिन् । यस्ता प्रतियोगितालाई चाहिँ उनी करिअर सपोर्टको रूपमा लिन्छिन् । 'आत्मविश्वास, बाहिरी संसार बुझ्ने एङ्गल कुन पेसाका लागि चाहिँदैन र ?' उनले भनिन्, 'म पनि त्यस्तै हुन चाहन्छु ।' इएस क्रिएसनले दोस्रोपटक गर्न लागेको यो प्रतियोगिताकी विजेताले कोरियामा हुने मिस ग्लोबल क्विनमा भाग लिन पाउनेछिन् । त्यसअघि भने १९ युवतीले ट्यालेन्ट राउन्डसँगै भदौ ३१ मा हुने फाइनल पार गर्नुपर्नेछ ।

ट्यालेन्ट सो गर्ने लाइनमै उभिएकी थिइन्, साँखुकी स्मृति कुँवर । व्यवस्थापन संकायमा स्नातक पहिलो वर्ष पढ्दै गरेकी उनी भविष्यको योजनाबारे सोध्दा भावुक भइन् र साँखुबाट गाडी चढेर सहर आउँदाको क्षण सम्भिmन् । 'मैले जिते भनेँ नि,' उनले सुनाइन्, 'वातावरण क्षेत्रमा योगदान दिन्छु ।' दिनहुँ प्रदूषित बन्दै गइरहेको वातावरणबाट उनी दिक्क बनेकी रहिछन् । सहरको त के कुरा, फोहोर नउठेको हप्तौं भइसक्यो । त्यही भएर उनले आफ्नो ट्यालेन्ट पनि फालिएका वस्तुलाई सजावट सामग्री बनाउनमा देखाइन् । बाँस र काठका टुक्रा, टाँक, धागाका रेसा र घरमा फ्याँकिएका थोत्रा वस्तुलाई जोडेर उनले कलात्मक आकृति बनाएकी थिइन् ।

२१ वषर्ीया रोश्ना केसीको विचार पनि स्मृतिको जस्तै छ- सेवा गर्ने । उनीचाहिँ दक्ष र पहुँच पुग्नासाथ मानसिक रोगी बालबालिकालाई सघाउन चाहिन्छन् । पेन्टिङलाई सोखका रूपमा लिएकी उनले ट्यालेन्ट राउन्डमा विश्व वातावरणीय अवस्थालाई चित्रका माध्यमबाट प्रस्ट पारिन् । लोक्ता कागजमा उनले पग्लिँदै गरेको मैनबत्ती र त्यसमुनि रोइरहेको भूगोलको दृश्य उतारिन् । झापाकी रुबिना दाहालले चाहिँ यो प्रतियोगितामा भाग लिनुभन्दा अगाडि आफ्नो सुन्दरताबारे सोचेकै थिइनन् रे । नोबेल एकेडेमीमा स्नातक पढ्दै गरेकी उनले प्रतियोगिताको ग्रुमिङ क्रममा आफूलाई बुझ्ने मौका पाएको सुनाइन् । 'विजेता हुनु/नहुनु आफ्नै ठाउँमा छ,' उनले भनिन्, 'व्यक्तित्व विकासका लागि सिक्न पाएका कुराहरू नै मेरा लागि अमूल्य छन् ।'

जडीबुटीकी उर्मिला खत्री र सिन्धुपाल्चोककी लक्ष्मी श्रेष्ठ दुवैको रहर एउटै रहेछ- मोडलिङतिर लाग्ने । तर यिनलाई मोडलिङ क्षेत्रका गम्भीर र प्रोफेसनल ज्ञान भने छैन । 'खासमा नामका लागि हो,' लक्ष्मीले भनिन्, 'दाम नभए नि हुन्छ ।' उर्मीलामा भने नाम र दाम दुवैको चाह रहेछ । व्यवस्थापनमा प्लस टु पढ्दै गरेकी उनी बैंकिङ करिअर बनाउन चाहन्छिन्, मोडलिङचाहिँ सोख मात्र । 'कुरा जति घुमाए पनि दाम त कमाउनै पर्छ नि,' उनले भनिन्, 'नाम र दाम दुवै भए पो लाइफ कम्प्िलट हुन्छ ।'

यी दुईसँग गफिरहेको बेला बौद्धकी सम्झना रिमाल स्टेजमा थिइन्, लागूऔषधले गर्दा पीडादायी अवस्थामा पुगेको युवाको अभिनय गर्दै । 'देशको भविष्य भनेकै हामी युवामा निर्भर रहन्छ,' उनी सन्देश दिँदै थिइन्, 'त्यही भएर लागूऔषधको दुव्र्यसनमा फसेर आफ्नो जीवन, समाज र देशलाई अँध्यारोतिर नधकेलौं ।' प्रतियोगितामा विजेता भइन् भने उनले यस्तै चेतना जगाउने योजना बनाइरहको बताइन् ।

जसले जे योजना बनाए नि जित्ने एउटैले हो । हारे पनि आफ्नो सामाजिक उत्तरदायित्व बाँकी रहने बताउँदै सुन्दरीहरूले समाजका लागि कहीँकतै केही न केही गर्ने सोच पलाएको सुनाए । १९ मध्ये जित्नेले स्कुटी, नगद पुरस्कार र छात्रवृत्तिसमेत पाउनेछन् । सुन्दरी प्रतियोगिताको लहर चलिरहेको बेला केही नयाँ र प्रभावकारी अवसर प्रदान गर्ने सोचका साथ यस वर्ष पनि प्रतियोगिता निरन्तरता दिइएको इएस क्रिएसनका मार्केटिङ डाइरेक्टर अजय मल्ल ठकुरीले दाबी गरे ।

प्रकाशित मिति: २०६८ भाद्र २२ ०९:५५

साभार: ईकान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।