सकियो पराई

काठमाडौ, भाद्र २७ - प्रेमकथामा आधारित नेपाली कथानक फिल्म 'पराई' सम्पूर्ण सुटिङ सकेर सम्पादनमा गएको छ । असार पहिलो साता सुटिङ थालिएको फिल्मको केही दिनअघि मात्रै इन्डक्ल्याप गरिएको हो । शिव रेग्मीको निर्देशन रहेको फिल्म गोविन्द शाही र दीपक शाहीले निर्माण गरेका हुन् । फिल्ममा एक अनाथ बच्चाको कथामार्फत मानवता र प्रेमको वकालत गर्न खोजिएको गोविन्दले बताए ।

'प्रेमले गर्दा मान्छेमा कसरी बदलाव आउँछ भन्ने पुष्टि गर्न खोजेका छौं,' उनले भने, 'नकारात्मक चरित्रका मान्छेभित्र पनि सकारात्मक पाटाहरू लुकेर रहेका हुन्छन् भन्ने पनि फिल्ममा छ ।' निर्देशक रेग्मीसँगै शिवम अधिकारीको कथा/संवाद रहेको फिल्ममा गरिमा पन्त, नन्दिता केसी, गोविन्द स्वयं, राजबल्लभ कोइराला, रेजिना उप्रेती, वसुन्धरा भुसाल, नीरज बराल, लक्ष्मी गिरी, विष्णु सापकोटा लगायतको अभिनय रहेको बताइएको छ ।

क्रिएटिभ फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मलाई निर्देशक रेग्मीले 'मान्छेभित्र मान्छे खोज्ने प्रयास' गरेको दाबी गरेका छन् । शम्भु सापकोटाको छायांकन, वसन्त सापकोटाको संगीत, हिमाल केसीको द्वन्द्व रहेको फिल्ममा पोखरा, धम्पुस, घान्द्रुक, दोलखाको मुडे र सैलुङ, कुलेखानी, नुवाकोट ककनी लगायत स्थलका मनोरम दृश्य समेटिएको बताइएको छ । गोविन्दको यो तेस्रो फिल्म हो । पहिलो फिल्म 'कहाँ छौ कहाँ' ले पश्चिमका केही हलमा र राजधानीमा ५१ दिन मनाएको थियो भने दोस्रो फिल्म 'संसार आफ्नै' रिलिजको तयारीमा छ ।

साभार: ईकान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।