नेहाको गाउँमा खुसी

पर्सा , भाद्र २० - स्थानीय नेहा पौडेल यसपालिको मिस नेपालमा उत्कृष्ट ५ भित्र पर्नुका साथै मिस पोपुलर च्वाइस बन्न सफल भएपछि स्थानीयले खुसी र गर्व व्यक्त गरेका छन् । पहिलो मिस नेपाल रुवि राणा र करीब एक दशक अघि अर्की मिस नेपाल उषा खडगी पछि नेहाले प्रतिनिधित्व गरेकी हुन् ।

स्थानीय गैरसरकारी संस्था सानो पाइलामा फन्ड रेजिंग सेक्रेटरी पदमा कार्यरत उनको सफलताले आफूलाई खुसी र गौरवान्वित बनाएको उनका सहकर्मीले प्रतिक्रिया दिए । सानो पाइलका अध्यक्ष कञ्चन झाले नेहाले प्राप्त गरेको सफलताले सानो पाइला परिवार र वीरगन्जवासी मात्र नभई जिल्लावासीको नाक ठाडो पारेको बताए ।

'मुलुकभरिका प्रतिस्पर्धीलाई उछिनेर टप फाइभमा पर्नु चानचुने कुरो होइन,' झाले भने, 'उनी अन्य युवाहरूका लागि पनि प्रेरणाको स्रोत बनेकी छिन् ।' कुनै पनि काम लगनशिलता र मेहनतका साथ गर्ने नेहाको बानीले उनलाई यति सफल बनाउन सकेको झाले भने । नेहाका सानैदेखिका मित्र दीपेन्द्र गजुरेल नेहाले वीरगन्जको नाक राखेको बताउँछन् ।

राष्ट्रिय स्तरको प्रतियोगितामा उनी अन्तिम समयसम्म टिकेर उत्कृष्ट पाँचमा पर्नु अत्यन्त ठूलो उपलब्धि भएको गजुरेल बताउँछन् । 'सानैदेखि केही नयाँ काम गरेर समाजमा आफ्नो परिचय स्थापित गर्नु पर्छ भन्ने उनको मान्यता आज साकार भएको छ' गजुरेलले भने । उनलाई प्रतियोगितामा विजयी बनाउन वीरगन्जमा उनका आफन्त र इष्टमित्रहरूले व्यापक क्याम्पेनिङ गरेका थिए ।

केही समययता वीरगन्जकी छोरी नेहालाई एसएमएस भोट गरेर जिताऔं भन्ने नारा यहाँ प्रचलित भएको थियो । वीरगन्ज-४, बिर्ता निवासी नेहा भूपेन्द्र पौडेल र बबिता पौडेलकी एक्ली सन्तान हुन् । हाल राजधानीमा रहेका पौडेल दम्पतीले टेलिफोन वार्तामा छोरीको सफलताबाट आफूहरु अत्यन्त हषिर्त भएको प्रतिक्रिया दिए । छोरीकै कारण समाजमा आफूहरूलाई धेरै चिनेकाले आफूहरूलाई गर्व लागेको उनीहरूले बताए ।

नेहा पनि आफ्नो सफलताबाट खुसी छिन् । उनले उत्कृष्ट पाँचलाई आयोजकले विभिन्न कार्यक्रम तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत समावेश गराउने भएकाले आफ्नो व्यस्तता बढेको बताइन् । भविष्यमा सफल समाजसेवीको रूपमा आफ्नो पहिचान बनाउने लक्ष्य रहेको उनले बताइन् ।

साभार: ईकान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।