ऋचाको 'ब्रेक फेल'

काठमाडौं, भदौ १६ (नागरिक) - अभिनेत्री ऋचा घिमिरेले बनाएको फिल्म 'ब्रेक फेल'को बिहीबार राजधानीको कुमारी हलमा प्रिमियर गरिएको छ। फिल्म शुक्रबार देशका प्रमुख सहरमा रिलिज हुँदैछ।राजेश हमाल, सुभाष थापा, निरज बराल, विमलेश अधिकारी, ममता प्रधानसहित ऋचाले पनि अभिनय गरेकी छिन्। अभिनयका साथै फिल्म निर्माणलाई पनि निरन्तरता दिने उनले बताइन्।

हिरोइनले बनाएको 'ब्रेक फेल'को प्रिमियरमा कलाकार, निर्माता तथा निर्देशकको बाक्लो उपस्थिति थियो। कार्यक्रममा ऋचाले 'लाइट कमेडी' फिल्म बनाएको जानकारी दिइन्। 'हेरुन्जेल रमाइलो लाग्छ। दर्शकले बोर मान्दैनन् भन्ने आशा गरेकी छु,' उनले भनिन्।

'विष' र 'वीरताको चिनो' बनाएका शंकर घिमिरेले ती फिल्मको कमी कमजोरी यसमा सच्याइएको दाबी गरे। 'दर्शकलाई मनोरञ्जन गराउने उद्देश्यमा प्रष्ट भएर फिल्म बनाएको छु। दर्शक रमाए भने म सफल ठहरिने छु,' उनले नागरिकलाई बताए।

ड्रेस डिजाइनर ऋचा, समाजसेवीको पहिचान बनाएर नक्कली नोटको कारोबार गर्ने राजेश, 'स्कुप' समाचारको खोजीमा क्यामेरा तेर्स्याउँदै हिँड्ने सुभाष, विदेश जाने पैसा जम्मा पार्न ठग्दै हिँड्ने निरज र विमलेशको सेरोफेरोमा फिल्मको कथा घुमेको छ। सुदूरपश्चिममा सुटिङ गरिएको फिल्मले दर्शकलाई नौलो दृश्यको स्वाद पस्कन सकेको छ।

यसमा दिनेश न्यौपानेको स्क्रिप्ट, राजुविक्रम थापाको छायांकन, विपिन मल्लको सम्पादन, रेनाशा राईको नृत्य निर्देशन, सत्य-स्वरुप आचार्यको संगीत र सानो कुमारको फाइट छ। फिल्ममा चिरन बिमाली, मदन महत र पुष्कर भट्टको अभिनय छ।

शुक्रबार नै काठमाडौंको व्श्विज्योतिलगायत हलमा 'सिलसिला' रिलिज हुने भएको छ। बिहीबार दिउँसोमात्र रिलिज हुने निश्चित भएको निर्माता सिपी पौडेलले जानकारी दिए। राजेन्द्र उप्रेतीको निर्देशन रहेको फिल्मले राजधानी बाहिर राम्रो व्यापार गरेको थियो। यसको 'सागरसरी चोखो माया' बोलको गीतले संगीतमा वसन्त सापकोटालाई स्थापित गरेको हो।

राजधानीबाहिर भने 'ब्रेक फेल'ले ऋषि न्यौपानेको फिल्म 'मेरो राजेशदाइ'सँग प्रतिस्पर्धा हुनेछ। आफ्नो नाममाथि बनेको फिल्मको प्रवर्द्धनमा अभिनेता राजेश हमाल सक्रिय लागेका छन्। यो फिल्मका प्रायः कार्यक्रममा भाग लिएका राजेश 'ब्रेक फेल'को प्रिमियरमा भने देखिएनन्।

- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।