जेलमा छमछम

काठमाडौ, भाद्र १३ - 'लौ भन्नुस् म केटा जस्तै देखिइनँ त ?' गोरो अनुहारमा काला जुँगाका रेखी र दौरा-सुरुवाल, ढाका टोपीधारी पुरुष वेशमा सजिएकी गोमा तिमल्सिना निकै प्रफुल्लित देखिन्थिन् । बाह्रबिसेकी २१ वर्षे गोमाले कैदी जीवन बिताउन थालेको पनि ठ्याक्कै पाँच वर्ष भयो, सोमबार दिउँसो उनी जेल जीवनमै पहिलोपटक नाचगान गरिरहेकी थिइन् ।

सुन्धारास्थित केन्द्रीय महिला कारागारमा कैदी जीवन बिताइरहेकाहरूका माझ के सिरिज र गायिका कोमल वलीले नाचगान र दर खाने कार्यक्रम मिलाएका थिए । बालबालिका, किशोर किशोरीदेखि पाका महिला दर खाँदै तीजको गीतमा नाचे, कोमल सबैलाई उक्साइरहेकी थिइन् ।

'मरक्कै मर्केको कम्मर छ, लरक्क लर्केको कपाल छ, नाच चाहिँ मेराको बबाल छ....' उनी गीतसँगै छेउछाउमा नाचिरहेका युवतीहरूलाई आफूतिर तान्दै जिस्काउँथिन् पनि । आठ वर्ष पहिले सोही कारागारमा तीजको कार्यक्रम गरेको क्षण सम्भिmँदै कोमलले आफ्नो नयाँ एल्बमको शीर्षगीत 'डिस्कोमा तीज...' बाट गाउन थालिन् । 'जीवन भनेकै सुखदुःख दुवै हो,' उनले कारागारका महिलाहरूलाई सम्झाउँदै भनिन्, 'आज सबै पीडा भुलेर सँगै नाचौं ।'

गीतलाई पनि उनले परिस्थितिअनुसार परिस्कृत गरेकी थिइन् । 'तुलसीपुरमा म जाँदा खेरी...' लाई बग्याएर उनले 'कारागारमा म जाँदा खेरी भेटंे मैले गजबको तन्नेरी...' गाइन्, कैदी महिलाहरू साँच्चिकै उन्मुक्त भएर नाचे । 'कारागारको महिलालाई तीजको अनुभूति दिलाउन' भनिएको कार्यक्रममा यसपछि उनले 'मनमा आँट भा'को गोजीमा गाँठ भा'को...', 'पोइला जान पाम...', 'बाँझो खेतमा...' लगायत आधा दर्जन प्रस्तुति दिइन् ।

एक वर्षदेखि बन्दी त्रिशूलीकी १८ वषर्ीया जस्मिन विकेले जीवनमै पहिलोपटक तीज महसुस भएको बताइन् । 'बाहिर हुँदा पर्वाह नै भएन,' उनले भनिन्, 'अहिले मनभरिका पीडालाई पोख्ने दिन यही रहेछ भन्ने महसुस गरेकी छु ।' जस्मिनकी साथी वर्षा श्रेष्ठ भने तीजकै लागि भनेर घरबाट झिकाएको चुरा, पोते, डोरी र रातो सारीमा सजिएकी थिइन् । 'नाच्न भने पछि खुब रहर लाग्छ,' २० वषर्ीया श्रेष्ठले भनिन्, 'जति उपफ्रियो, मन त्यत्ति नै फुरुङ हुने ।'

काभ्रेकी २४ वषर्ीया सुशीला ठकुरी केही भावुक बनिन् । उनी तीज गीतमा नाच्दै गर्दा बितेका दिनमा साथीहरूसँग रमाएका क्षण सम्भिmन । 'सबै मिलेर व्रत बसिन्थ्यो,' उनले गहभरि आँसु लिँदै थपिन्, 'ती क्षण अहिले पनि झझल्को आउँछ ।' यसपटक तीजमा श्रीमान्लाई भेट्न नपाए पनि उनले दीर्घायुका लागि व्रत बस्ने योजना पनि सुनाइन् ।

कोमलले 'अहिलेकै सालमा पोइला जान पाम...' गाउन थालेपछि २७ वर्षीया उषा गुरुङले मन थाम्नै सकिनन् । टिसर्ट र हाफपेन्ट लगाएकी उनी डिस्को शैलीमा नाच्न थालिन् । लागूऔषध अभियोगमा १ वर्षदेखि कारागारमा बस्दै आएकी उषाले 'संगीतले जीवन जिउन सिकाउन थप सहयोग गर्ने' बताइन् । 'तीज त हाम्रै पर्व हो नि,' उनले भनिन्, 'राम्रो होस् या नहोस् जति सक्दो नाच्ने हो ।'

यही भीडमा २९ वर्षीया भारतीय युवती अमरावती लंकन पनि थिइन्, उनले तीजलाई धार्मिक पर्वको संज्ञा दिँदै 'राम्रो जीवनसाथी भेटियोस् भन्ने आशामा प्रत्येक वर्षझैं यसपटक व्रत बस्ने' सुनाइन् । 'मेरो लागि पनि कोही न कोही होला नि,' उनले आशा राख्दै भनिन्, 'मनको बुझाउने बाटो नै त यही हो ।'

धरानकी ३९ वर्षीया लक्ष्मी भण्डारीले चाहिँ तीज मनाउँदै गर्दा ५ वर्षीया छोरीलाई सम्भिmन् । 'म यता छु छोरीले खाई कि खाइनन्,' एक वर्षदेखि कारागारमा रहेकी उनले भनिन्, 'मुटु थिचेर पनि हाँस्नुपरेको छ ।'

जेलर तीर्थराज भट्टराईले कैदीहरूले ८ वर्षपछि कलाकारसँगै तीज मनाउने अवसर मिलेको सुनाए । उनका अनुसार केन्द्रीय कारागारमा १० बालिका, २ सय ४४ महिला र विदेशी १४ गरी २ हजार १ सय ९० महिला बन्दी छन् ।

साभार: इकान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।