आदर्श बढी

काठमाडौ, भाद्र १२ - नियमित धारमा बन्ने फिल्ममा भन्दा बिलकुल फरक । गीत छन्, मारपिट छन् तर तिनको प्रयोग शैलीले 'पल' लाई अन्य फिल्मभन्दा फरक देखाएको पक्कै हो । त्यसबाहेक पनि फिल्मले उठान गर्न खोजेको सन्देश पृथक् छ । मनोरञ्जन कम, सन्देश ज्यादा शैलीको 'पल' ले नियमित दर्शकलाई फिल्मी स्वाद चखाउन भने सकेको छैन ।

पर्यटन व्यवसायी तथा पछिल्लो समय सकारात्मक सोचका विकास गराउने पुस्तक लेखेर चर्चामा आउन सफल कर्ण शाक्यको परिकल्पना, कथा, पटकथा र संवाद भएकोले पनि 'पल' उनको महत्त्वाकांक्षी कदम हो । यसपटक उनले आफ्नो सोच/दृष्टिकोणलाई फिल्मी पर्दामा उतारेका हुन् । एकै परिवेश, परिस्थिति र पहुँचमा पनि पात्रमा आउने सकारात्मक र नकारात्मक दुई सोचबाट फरक ढंगले काम गर्दा नतिजा पनि फरक नै आउने फिल्मले देखाउन खोजेको छ । तर फिल्मांकन गर्दा दर्शनीयता र रोचकतामा कमी देखिएको छ । उपकथाहरू साधारण र एकोहोरा मात्रै छन् । गतिलो विषयवस्तु हुँदाहुँदै पनि प्रस्तुतीकरणमा विविधता नअपनाइनुले फिल्म नीरस बन्न पुगेको छ । कथामा खासै उतारचढाव नहुँदा दर्शकमा फिल्मप्रति लोभ उब्जिँदैन ।

पाल्पाबाट चुनाव जितेपछि सांसद कृष्णमान (रमेश बुढाथोकी) परिवारसहित राजधानी आएर डेरामा भर्खरभर्खर बस्न थालेका हुन्छन् । छोरो दीपक (राजबल्लभ कोइराला) अर्गानिक खेतीपातीमा संलग्न छ । तर कृष्णमानको कमजोरी उनकी आडम्बरी पत्नी हुन् । चम्पा (तृप्ति नाडकर) धनी बन्न रवाफ पनि ठूलै हुनुपर्छ भन्ने मान्यता राख्छिन् र पतिलाई अकुत सम्पत्ति कमाउनका लागि उक्स्याउँछिन् । दीपक धनी बाबुकी छोरी सुषमा (निशा अधिकारी) लाई प्रेम गर्छ र अन्ततः विवाह गर्ने हुन्छ ।

सांसद पति मन्त्री बनून् भनी भगवान् पुकारा गर्ने चम्पा बिहेलाई धूमधाम पारी उच्च ओहदाका व्यक्तिहरूसँग निकटस्थ सम्बन्ध राख्न कृष्णमानलाई सुझाउँछिन् । उता, कृष्णमान पनि दूधले नुहाएका भने होइनन् । हाउजिङ व्यवसायी हरि (धीरेन शाक्य) लाई गुठीको जग्गा मिलाइदिए बापत घुस माग्छन् । पढाइदिने सर्तमा गाउँदेखि ल्याएको केटालाई घरकै काममा लदाउँछन् । दीपक सुषमासँग बिहे गरे पनि सासू-बुहारीको घरझगडामा पेलिन्छ । धनीको तुजुक देखाउने बुहारी अनि सासूको रवाफमा रम्न चाहने सासूबीचको अहंले गर्दा सुषमा आधारातमा घर छोडेर हिँड्छे । माइत नगई ऊ कलेजकै साथी जितु (अनुप बराल) को शरणमा पुग्छे । खलचरित्रको जितुले पत्नी लिन पुगेको दीपकलाई आवेशमा कुट्दाकुट्दै मृत्युको मुखमा पुर्‍याउँछ । छोरो गुमाएका कृष्णमान त्यसै बेला अख्तियारको फन्दामा पर्छन् र फिल्मको पहिलो भागले दुःखद अन्त्य बेहोर्छ ।

दोस्रो भागमा भने तिनै पात्र र त्यस्तै परिस्थिति भए पनि सोच-व्यवहार सफा हुन्छ र एक-अर्काको सहयोगी पनि ।

समग्रमा 'पल' मा फिल्मी फर्मुलाभन्दा बढी विचार वा सोच हाबी छ । पहिलो भागमा जसरी फिल्मलाई प्रस्तुत गरिएको छ, दोस्रोमा पनि हुबहु त्यस्तै तर सोच मात्रै फरक पारिनुले फिल्मलाई फिक्का बनाइदिएको छ । सकारात्मक सोच्दा कस्तो फरक देखिन्छ भन्ने देखाउन एक-दुई दृश्य नै काफी हुन्छन् । दर्शकलाई एउटै दृश्य लगातार देखाउनुभन्दा पहिलेको कथाबाट अघि बढ्न सकेको भए फिल्मले व्यावसायिक सफलता समेत हात पार्ने थियो । फिल्ममा शाक्यको 'सोच' लाई नै नायकत्व दिँदा फिल्मी शैलीमा कमी आएको देखिन्छ । फेरि व्यवसायी शाक्यले लेखेको पटकथाले नेतालाई जति लाञ्छना लगाएको छ, व्यवसायीलाई भने त्यति नै जोगाएको छ ।

हाउजिङ व्यवसायी हरिले सांसद कृष्णमानलाई भन्ने संवाद 'हामी त काम गरेर खाने मान्छे, सोझो औंलाले घिउ नआएपछि बंग्याएका मात्रै हौं, तर हामीलाई बिगार्ने त तपाईंहरू नै हो नि' ले नेतालाई खलनायक साबित गरेको छ । त्यसबाहेक फिल्मले नै 'नेताले सयौंलाई बेरोजगार बनाएर पछि लगाउँछन् तर उद्यमीले सयौंलाई रोजगार दिन्छन्' भन्नु कतै नेताप्रतिको नकारात्मक सोच मात्रै पो हो कि ? फिल्मको अघिल्लो भागमा सुषमाले पतिप्रति गर्ने व्यवहार बढी नाटकीय छ ।

पटकथा नीरस भए पनि संवाद प्रायः जीवन्त र अर्थपरक छन् । पात्रले त्यसलाई सही ढंगले प्रस्तुत गरेको देख्न सकिन्छ । अभिनयमा पनि पात्र भिजेका छन् । राजु थापाको छायांकन स्तरीय छ । किरण खरेलका गीत कथालाई पुष्ट्याइँ दिने खालका छन् । कोरियोग्राफी सहज भएकाले गीत/संगीत धेरै हदसम्म युक्तिसंगत लाग्छन् । न्ह्यू बज्राचार्यको संगीतमा मिठास छ ।

तर फिल्मले भनेझैं सबै जनाले सही सोचिदिने वा आफ्नो कर्तव्य पालना गरिदिने हो भने दुःख, कष्ट नै आइपर्दैन झैं गरी देखाइनु आदर्शवादिता मात्रै हो । किनकि हरेक समाजमा नकारात्मक र सकारात्मक पक्ष हुन्छन् नै । रामराज्यमा पनि त सीता हरण गर्ने रावण थिए ।

फिल्म समीक्षा

पल

निर्देशक ः रमेश बुढाथोकी

कलाकार ः राजबल्लभ, रमेश, धीरेन शाक्य, निशा अधिकारी, तृप्ति नाडकर

साभार - ईकान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।