सेलिब्रिटीका डिजाइनर तेन्जिङ

तारा चाम्लिङ- कान्तिपुर टेलिभिजिनबाट प्रसारण हुने 'हाम्रो टिम'को प्रिमियरमा नायिका ऋचा शर्माले लगाएको पहिरनले निकै चर्चा बटुल्यो। काँधमा फुटबलका टुक्रा गाँसिएको त्यो कालो निलेन्थ ड्रेस डिजाइनर तेन्जिङ छेतेन भुटियाले तयार पारेका हुन्। सिरियल सुहाउँदो बनाउन फुटबल काटेर त्यसका टुक्रा लुगामा जोडिएको थियो।

डिजाइनर वेयरविना हलिउड, बलिउड चल्दैन। फिल्मको प्रिमियर होस् या पार्टी, च्यारिटी सो होस् वा फोटोसुट, जतासुकै सेलिब्रिटीको पहिरनकै चर्चा हुन्छ। कुन सेलिब्रिटीले कुन डिजाइनरका लुगा पहिरिए? ब्याग, जुत्ता र अन्य एक्सेसरिज कुन ब्रान्डका थिए?

नेपालमा पनि यो चलन बिस्तारै फैलिँदैछ।

हिमालयन कट्युर हाउस, ठमेलका डिजाइनर भुटियाले केही समयअघि नायिका तथा पूर्वमिस नेपाल झरना बज्राचार्यलाई भिन्नै गेटअपमा र्‍याम्पमा उतारे। त्यसअघि नायिका तृप्ति नाडकरका लागि उनले इसिएस लिभिङ म्यागेजिनअन्तर्गत डिजाइन र स्टाइलिङ गरे। नायिका निशा अधिकारी र मिस अर्थ नेपाल सहाना बज्राचार्य त धेरैजसो उनकै डिजाइनमा भेटिन्छन्। मोडल सिजन भट्टचन पनि प्रत्येक कार्यक्रममा तेन्जिङकै डिजाइनमा हुन्छिन्।

सेलिब्रिटीका स्टाइल निखार्न पाउँदा डिजाइनर भुटिया निकै उत्साहित छन्। यसले नेपालमा फेसन उद्योग स्थापना गर्ने आफ्नो सपनामा एउटा खुड्किलो थपेको उनलाई लाग्छ। सेलिब्रिटीको साथले लक्ष्य झनै नजिकिने उनले बुझेका छन्।

'यसले फेसनपारखीले खर्च गर्ने ठूलो रकम विदेशिनबाट जोगिन्छ,' तेन्जिङ भन्छन्, 'उद्योग चलाउन सक्यौं भने यहीँ रोजगारका अवसर खुल्छन्।'

तर आमनेपालीले डिजाइनरलाई नपत्याउने हो भने उनको यो सपना पूरा हुन सक्दैन। सर्वसाधारणले रुचि देखाएपछि मात्र व्यापार फस्टाउँछ। उपभोक्ता आकर्षित गर्न सेलिब्रिटीमार्फत प्रबर्द्धन गर्नेमात्र हैन, पहिरन स्तरीय पनि हुनुपर्छ।

पछिल्लो समय खासगरी नायिकाहरूको ड्रेस डिजाइन गरिरहेका भुटियालाई रेखा थापाको मेकओभर गर्ने इच्छा छ। 'उनीसँग गतिलो स्टाइलिस्ट वा डिजाइनर हुने हो भने उनी अझ सुन्दर देखिन्छिन्,' तेन्जिङ भन्छन्, 'रेखाले लगाउँदै आएका पहिरन खासै उनलाई सुहाउने खालका छैनन्। फ्याब्रिक, रङ र सिलहुटमा उनले विशेष ध्यान पुर्‍याउनुपर्छ।'

तेन्जिङ त्यस्ता डिजाइनर हुन्, जसको डिजाइनले गत वर्ष मिस अर्थमा निकै प्रशंसा बटुल्यो। नेपालका तर्फबाट भियतनाम पुगेकी सहाना बज्राचार्यले प्रत्येकचोटि तेन्जिङले बनाएको लुगा पहिरिँदा तारिफ नगर्ने कमै हुन्थे। मिस भियतनामले स्टार वर्ल्डको टेलिभिजन अन्तर्वार्तामा समेत मिस नेपालले स्टेजमा पहिरेको गाउनको तारिफ गर्न छुटाइनन्।

भारतको बैङलोरस्थित एनआइएफटीमा फेसन डिजाइन पढेका तेन्जिङ फिल्ममा कस्ट्युम डिजाइनिङ गर्न चाहन्छन्। तर, निर्माताले पहिरनलाई सबैभन्दा कम प्राथमिकतामा राख्ने गरेकाले कुरा नमिलेको उनी बताउँछन्। 'लुगाले एउटा चरित्र वा पात्रलाई कस्तो देखाउने भन्नेमा महत्वपूर्ण भूमिका खेल्छ,' तेन्जिङ भन्छन्, 'निमार्ताले यसका लागि बजेट छुट्याउन जरुरी ठान्दैनन्। व्यवसाय र व्यापारमा नामका लागि मात्र काम गर्न सकिन्न र गर्नु पनि हुन्न।' आफ्नो मिहिनेतभन्दा कम मूल्यमा काम गर्नाले व्यावसायिकता हुँदैन भन्ने उनी सधैं ख्याल गर्छन्।


सेलिब्रिटीलाई डिजाइन गर्दा

सहाना बज्राचार्यलाई मिस अर्थका लागि पहिरन बनाउनुअघि उनले दुइटा कुरामा ध्यान दिएका थिए- प्रतियोगिताको थिम अर्थात् पानी र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने पहिरन। त्यसमा पनि आयोजकले भनेजस्तो डिजाइनर नदिएपछि सहानाले तेन्जिङको भरोसामा पैसा खर्चेकी थिइन्।

'अघिसम्म नेपालबाट गएका सुन्दरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा लगाएका पहिरन स्तरीय थिएनन्,' तेन्जिङ भन्छन्, 'मैले आफूलाई प्रस्तुत गर्न त्योजस्तो राम्रो अवसर के हुन सक्थ्यो!'

उनले सहानाका लागि अरू पनि लुगा तयार पारे, जसमध्ये निलो गाउनले सबैको तारिफ पायो। यो गाउन तयार पार्न उनलाई झन्डै तीन साता लाग्यो। 'सुरुमा सस्तो कपडामा मोक ड्रेस बनाएँ,' उनी भन्छन्, 'सहानाले मन पराएपछि मात्र गाउन बनाएँ।' त्यो गाउनको फिनिसिङ र डिटेलिङका लागि सहानाले थुप्रैपटक ट्रायल गर्नुपर्‍यो।

नायिका ऋचा शर्माले फेसबुकमार्फत उनलाई 'हाम्रो टिम'को प्रिमियरका लागि कपडा बनाइदिन अनुरोध गरेकी थिइन्। कुराकानी सिद्धिएपछि तेन्जिङले फुटबलका टुक्रा काँधमा राख्नु उपयुक्त ठाने। 'फुटबलका टुक्रा काटेर त्यसलाई आकार दिनु निकै चुनौतीपूर्ण थियो,' उनी भन्छन्। ऋचाको तौल बढेकाले स्लिम देखाउन उनले कालो रोजेका रहेछन्। ऋचाले पनि धेरैपटक ट्रायल गरिन्।

पूर्वमिस नेपाल झरना बज्राचार्यले भने र्‍याम्पमा निस्कनुअघि एकपटक मात्र गाउन ट्रायल गर्ने मौका पाइन्। 'झरना कार्यक्रमको अघिल्लो दिनमात्र काठमाडौं आइपुगिन्,' तेन्जिङ सुनाउँछन्, 'एकै दिन गाउनलाई स्तरीय डिटेलिङ दिन निकै गाह्रो पर्‍यो।' गाउनमा प्रयोग भएका लुगा डाई गर्ने, स्टिचिङ गर्ने काम भने उनले फोनकै भरमा सिध्याएका थिए।


के भन्छन् सेलिब्रिटी?

सहाना बज्राचार्य

उनले डिजाइन गरेको आकर्षक गाउनकै कारण मिस अर्थमा उत्कृष्ट ४० मा पर्न सफल भएँ। तेन्जिङ अन्तर्राष्ट्रिय स्तरका डिजाइनरसँग प्रतिस्पर्धा गर्न सक्ने डिजाइनर हुन्। उनको डिजाइन एकदमै भिन्न छ। प्रायः डिजाइनमा उनले नेपाली कलासंस्कृति झल्काउने केही न केही राखेकै हुन्छन्। उनले मिहिनेत गरेको देखेकी छु। हरेक पहिरनलाई विशेष बनाउन उनी आफैँ लागिपर्छन्। उनी कुशल डिजाइनरमात्र हैनन्, फराकिलो र असल सोच भएका मान्छे पनि हुन्।

ऋचा शर्मा

'हाम्रो टिम'को प्रिमियरमा मैले पहिलोपल्ट तेन्जिङले बनाएको लुगा लगाएँ। एकदमै राम्रो प्रतिक्रिया आयो। खासगरी उनले टेलिसिरियलको कथावस्तु ध्यानमा राखेर आकर्षक ड्रेस तयार गरिदिए। यसपालि उनको डिजाइनमा वेस्टर्न लुक बढी थियो। अर्कोपटक तेन्जिङले बनाएको योभन्दा फरक डिजाइन लगाउने इच्छा छ। चाँडै नै उनको डिजाइनमा फेरि देखिनेछु।

झरना बज्राचार्य

सुरुमा त म एकदमै आत्तिएकी थिएँ। त्यो गाउन लगाएर र्‍याम्पमा राम्ररी हिँड्न नसकुँला भन्ने लागेको थियो। तर ट्रायल गर्दाको त्यो अनुभव स्टेजमा एक्कासि हरायो। गाउन मैले सोचेभन्दा आरामदायी रहेछ। हिँड्नलाई पनि सजिलो। त्यो गेटअपमा धेरैले मेरो प्रशंसा गरे। पहिलोपटक तेन्जिङको डिजाइन लगाएर र्‍याम्पमा ओर्लिएकी थिएँ। आउने दिन उनका थप डिजाइन लगाउने इच्छा छ। तेन्जिङले तयार पारेको त्यो गाउनमा आफू साँच्चै सुन्दर देखिएको अनुभव गरेँ।

Source: Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।