झुक्याउने मेसो

काठमाडौ, अषाढ ६ - सर्वमान्य नियम हो, हरेक उत्पादनको वर्गीकरण हुनु । नेपालमा पनि औद्योगिक उत्पादनको गुणस्तर नापजाँच गरिन्छ र उपभोक्तालाई ठगिनबाट जोगाउन गुणस्तरीय चिह्नको व्यवस्था गरिन्छ ।

हुन त कलालाई कुनै तराजुमा जोख्न मिल्दैन । यसलाई बुझ्ने सोचाइ, दृष्टिकोण र कलाको सुन्दरता उपभोक्ताको हेराइमा भर पर्छ भन्ने पनि छन् । हुन पनि आज उपेक्षा भएका कतिपय कलाकृतिले भोलिका दिनमा नसोचिएको महत्त्व पाउँछन् ।

फिल्म पनि कला नै हो । प्रायः देशमा फिल्मको वर्गीकरण गरिन्छ र त्यही अनुसार चलाइन्छ र लक्षित वर्गले मात्रै त्यसलाई हेर्छन् । दर्शकलाई ठगिएको महसुस हुँदैन । तर यहाँ त्यस्तो छैन । फलस्वरूप गत सातादेखि प्रदर्शनमा आएको फिल्म 'तिमी जहाँ भए पनि' हेर्दा दर्शकलाई ठगिएको महसुस हुन सक्छ ।

दर्शकले फिल्म हेर्ने/नहेर्ने निर्णय गर्ने भनेको त्यसको ब्यानर र प्रचार सामग्रीका रूपमा ल्याइने ट्रेलर र पोस्टर नै हुन् । फिल्मले उद्योगको रूप लिई नसकेको यहाँ ब्यानर हेरेर फिल्म हेर्न जाने चलन भई नसकेको अवस्थामा फिल्म पोस्टरमा भर पर्ने दर्शक धेरै छन् ।

यादव सिलवाल निर्देशित फिल्म 'तिमी जहाँ भए पनि' का प्रायः पोस्टरमा नायक निखिल उप्रेतीको टाउकोले अन्यको भन्दा बढी ठाउँ ओगटेको छ । त्यसैमा खलपात्रमा स्थापित सुनील थापा छन् । यी दुईका आफ्नै खाले क्रेजी फ्यान छन्, यहाँ । निखिलको उप|mाइ हेरेरै पैसा असुलेको ठान्ने कतिपय दर्शकका लागि पोस्टरमा सुन्दर

नायिका देखिनु बोनस हुन सक्छ । तर फिल्म सकिन लाग्दा पनि पोस्टरका ठूला टाउकाको अत्तोपत्तो नहुनु र 'साना टाउका'को हालीमुहाली चलिरहँदा भने दर्शकले अन्याय महसुस गर्न सक्छन् ।

'तिमी जहाँ भए पनि' नयाँ कलाकारहरूको नयाँ जोस हो । पोस्टरमा देखिने 'साना टाउका'का तीन साथीहरू युवराज, देव र राहुल मधुवनका लागि हिँडेका छन् । सपनामा समेत दर्जनौंलाई एक्लैको बहादुरीले सखाप पारेको देख्ने युवराज दुई वर्षभित्रमा सुपरस्टार बन्ने सपनामा छ । जो डकुमेन्ट्री बनाउन हिँडेको देव र उसलाई साथ दिएको चित्रकार राहुलसँगै मधुवन पुग्छ ।

त्यहाँ उनीहरूको भेट मधुसँग हुन्छ । राहुल र मधु प्रेममा पर्छन् । फिल्मी सूत्रभन्दा बाहिर नगइकन उनीहरू बीचको प्रेममा पनि अड्चन आउँछ, दुई साथीले सघाउँछन् । तर निश्चिल श्रेष्ठ लिखित कथाले वियोगान्त विश्राम लिन्छ ।

तर पोस्टरमा विशेष प्राथमिकता दिइएका निखिललाई फिल्ममा भने दुई फाइटका लागि मात्रै निम्त्याइन्छ । सुनील झुल्किनसम्म भ्याउँछन्, अन्त्यमा । नयाँ कलाकारको प्रवेश हुनु र फिल्म बनाउनु राम्रो हो । तर फिल्मको बजेट कम गर्नैका लागि नयाँ लिइनु र स्थापित कलाकारलाई एकाध दृश्यमा खेलाएर च्याँखे थाप्नु राम्रो मान्न सकिन्न ।

फिल्मको सबल पक्ष केही छ भने त्यो संगीत नै हो । जसको कमान विकास चौधरीले सम्हालेका हुन् । तर फिल्मको पाश्र्व संगीत भने चर्को लाग्छ । प्रदीप खड्गा निर्देशित द्वन्द्व अनावश्यक लम्ब्याइएका छन् । द्वन्द्व हेर्दा लाग्छ, कुनै फिल्म होइन, रेस्लिङ वा बक्सिङ प्रतियोगिता चलिरहेको छ । गीत/नृत्य मध्यम मान्न सकिन्छ ।

प्राविधिक रूपमा सबल बन्न नसकेको फिल्ममा रत्न कार्कीले खिचेका दृश्य काम चलाउ छन् । फिल्मका दृश्यहरू कुनै ठाउँमा मात्राभन्दा बढी 'जम्प' भएका छन् । सम्पादन पक्ष फितलो देखिएको फिल्मका दृश्यलाई बुझाउन संवादको सहारा लिइएको छ । पात्रका हाउभाउ नाटकीय लागे पनि कतिपय संवाद स्वाभाविक छन् । फिल्मले सुरुवातमा जुन सम्भावना देखाएको थियो, त्यसलाई कायम राख्न सकेको छैन ।

- ईकान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।