खल्लो प्रस्तुति

काठमाडौ, अषाढ १५ - सिक्किम सरकारको छात्रवृत्तिमा एमएस्सी पढ्दै गरेकी गरिमा मध्यमवर्गीय परिवारकी एक्ली छोरी । जो आफ्नो मनले खाएको गायक रविकिरणको कन्सर्टको टिकट पाउने लोभले डिस्को छिरेकी छे, पहिलोपटक ।

पहिलोपटक छिरेकोले मात्रै गरिमालाई डिस्को हल असहज भइरहेको छैन, जन्मदिनमा डिस्को पार्टी आयोजना गर्ने राकेश कलेजकै आवारा हो । जसलाई गरिमाले केही दिनअघि मात्रै उसको जीवनको पहिलो थप्पड चखाएकी थिई, जबरजस्ती गर्न खोजेपछि । यतिबेला भने राकेशलाई गरिमाको उपस्थिति 'ढडियामा मछली' भएको छ । नशालु पदार्थ मिश्रति जुस षड्यन्त्रमुलक ढंगले खुवाइएपछि अचेत भई ढलेकी गरिमाका त्यसपछिका दिन साँच्चिकै अन्धकार नै हुन्छन् ।

मुक्ति उपाध्याय र प्रकाश आङदेम्बेको संयुक्त लेखन रहेको फिल्म 'किन मायामा' मा इगो र बदलाको भावनामा अघि बढाइएको कथा हो । कन्सर्टका क्रममा काठमाडौंदेखि सिक्किम पुगेका गायक रवि (प्रशान्त) गरिमा (सुमिना) को आफूप्रतिको लगाव देखेर आश्चर्यमा पर्छन् नै । संगीतलाई माया गरेकामा ऊ पनि गरिमालाई माया गर्न थाल्छ । गरिमा आफ्नो स्टारलाई सिक्किम घुमाउने अवसर पाउँछे । दुवैले चिसो ठाउँमा 'तातो रात' को फाइदा उठाउँछन् ।

रवि काठमाडौं फर्किन्छ, गरिमा दुई जिउकी हुन्छे । दुर्भाग्य, ऊ एचआईभी संक्रमित भएको थाहा हुन्छ । उता रविले रगत परीक्षण गराउँदा त्यसको विपरीत रिपोर्ट आउँछ । चुनीलाल घिमिरे निर्देशित फिल्म 'किन मायामा' बाँकी समय गरिमालाई कसरी त्यस्तो संक्रमण भयो भन्नेमा खर्चिन्छ । थोरै सस्पेन्स बनाउन खोजिएको भए पनि फिल्म पूर्णतः प्रेमकथामा आधारित छ ।

समीर प्रधानको प्रस्तुति रहेको सिक्किमेली फिल्म 'किन मायामा' यतिखेर नेपालभर प्रदर्शनमा छ । सिक्किम, दार्जिलिङ आसपासका केही रमणीय दृश्यसमेत समेटिएको यस फिल्मले गायक प्रशान्त तामाङलाई नायकको रूपमा निरन्तरता दिनुबाहेक फिल्मी पक्षमा खास ध्यान दिएको छैन ।

सबैभन्दा ठूलो कमजोरी भनेको प्रस्तुतीकरण नै हो । फिल्ममा महत्त्वका साथ राखिएको क्लाइमेक्स पहिले नै डेट एक्सपाएर बन्न पुगेको छ । एचआईभी संक्रमित भएपछि समाजमा तिरस्कृत भएको गरिमाको परिवार रविको साथले राहत पाउँछ । रविले गरिमालाई अपनाउने भएपछि एक किसिमले कथाले पूर्णता पाइसकेको हुन्छ । मात्र खुल्दुली भनेको गरिमा कसरी एचआईभी संक्रमित भइन् भन्ने हो ।

फिल्मको मध्यान्तरअघि नै आफू एचआईभी संक्रमित नभएको रिपोर्ट पाएपछि 'पक्कै पनि केही षड्यन्त्र भएको हुनुपर्छ' भन्दै सिक्किम उडेको रविको हबिगतले दर्शकलाई हाई काढ्न बाध्य पार्छ । अब त पर्दाफास होला भन्ने ठानेका दर्शक रवि गरिमालाई भेट्न पुगेपछि बिहे गर्नेदेखि सन्तानलाई संक्रमण होला कि नहोला ? अथवा छोरा होला कि छोरी होला भन्ने बहसमा लाग्छ ।

अझ उदेकलाग्दो त के भने, गर्भवती पत्नीलाई लिएर ऊ पुनः काठमाडौं फिर्छ । सिक्किम नै हुँदा रविलाई मार्ने उद्देश्यले गरिमाका मामाले आक्रमण गर्दा एक अपरिचित युवकले रविलाई बचाउने प्रयास गरेको हुन्छ । रवि उक्त अपरिचितले बचाउनुको कारण थाहा भयो भने सबै रहस्य खुल्ने अड्कल काट्दै आफ्ना लागि उक्त व्यक्ति महत्त्वपूर्ण हुन सक्ने भने पनि सामान्य निगरानीमा छोडेर फर्केको हुन्छ पूर्ववत् जीवन बिताउन । पात्रहरूको रबैया 'काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर' भनेजस्तो छ । अन्ततः फिल्मले निश्चित समय गुजारिसकेपछि दुई मिनेटमा अर्थहीन क्लाइमेक्सको उजागर गरिन्छ ।

'किन मायामा' को संगीतमा महेश खड्का मध्यम लाग्छन् भने पाश्र्व संगीत नराम्रै हुनबाट जोगाइएको छ । द्वन्द्वको पाटोमा केही राम्रो प्रयास भएको छ । झोलुंगे पुलको साँघुरो स्थानलाई द्वन्द्वको स्पटका रूपमा स्वीकार्नुले केही नयाँपन दिएको छ । नायिका सुमिना सुन्दर त देखिएकी छन् तर अभिनयमा नाटकीयपन हाबी छ । आत्मविश्वासको कमी प्रस्टै झल्कन्छ । आफ्नै स्वर नपाएको रविको भूमिकामा प्रशान्तले पनि कुनै जादू छोडेका छैनन् । गीतमा आशाअनुसारको काम हुन नसके पनि कोरियोग्राफीमा गोविन्द राईको प्रयास सन्तोषजनक छ । भाषामा स्थानीयता दिने प्रयास नायिकाको हकमा बनावटी प्रतीत हुन्छ ।

फिल्म समीक्षा

किन मायामा

निर्देशक: चुनीलाल घिमिरे

कलाकार: प्रशान्त तामाङ, सुमिना घिमिरे, आकाश खवास, पुनम गुरुङ, विक्रम पराजुली

साभार: ई-कान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।