लतपत शृंगार

काठमाडौ, जेष्ठ ३० - 'महानायक' भनिएका राजेश हमालको स्टारडमलाई क्यास गर्न खोजिएको फिल्म 'दुलही' नामजति राम्रो बन्न सकेको छैन । स्टारको बाहिरी आकर्षण र भित्री यथार्थबीचको भिन्नतामा धेरै फिल्म बनेका छन् । महिनादिनअघि मात्रै यस्तै प्रकृतिको फिल्म 'प्रीतिको फूल' हेरिसकेका दर्शकका लागि त झन् 'दुलही' नौलो विषय होइन । फरक त्यति हो, 'प्रीतिको फूल'मा नायिका युना उप्रेतीका फ्यान राजबल्लभ कोइराला हुन्छन्, यसमा नायक राजेशका फ्यान छन् मुकेश ढकाल र सुमिना घिमिरे ।

बाबुराम ढकालको लेखन, निर्देशन रहेको फिल्ममा पहिलोपटक पर्दामा हेरेको नायक यथार्थमै देखिएपछि नजिकिएकी गाउँकी सोझी युवती आरतीले पछि कसरी उही नायकका कारण समस्या भोग्नुपर्छ भन्ने देखाइएको छ । सहरमा चल्ने राजेश हमालका कुनै पनि फिल्म हेर्न नछुटाउने गाउँका युवाहरू तिनै फिल्मी संवादको सिको मात्र गर्दैनन्, हाउभाउ पनि राजेशकै गर्न खोज्छन् । संयोगले राजेशकै डाई हार्ट फ्यान मिलन (मुकेश) ले एक पटक हितैषी आरती (सुमिना) लाई करकापमै फिल्म देखाउँछ ।

त्यसपछि आरती राजेशको ठूलो फ्यान बन्छे, उसलाई नहेरी सुत्नै नसक्ने हुन्छे । आफूले मन पराउनेले राजेशलाई मन पराउन थालेपछि मिलन कुँडिन थाल्छ र घर- परिवारलाई भनिदिन्छ । पछि भागेरै राति-राति भेट्न जान थालेकी आरतीले आफ्नै आदर्श नायकबाट दुर्घटनावश पेट बोक्छे । विवाहबिनै बच्चा जन्माएपछि समस्यामा परेकी उसलाई अन्त्यमा त्यही नायकले दुलही बनाउँछ ।

'दुलही' दर्शकले केका लागि हेर्ने, स्पष्ट छैन । उमेरले ४९ कटे पनि अविवाहित नायकलाई जग्गेमा कस्तो देखिँदो रहेछ भनेर हेर्न जाने हो भने त ठीकै होला, तर होमवर्क नपुगेको कथा र दोषपूर्ण प्रस्तुतिले दर्शक तान्ने हैसियत राख्दैन । भारतका नाम चलेका गायक/गायिकालाई गाउन लगाइए पनि अष्ट लामाको संगीतले संगीतमा कुनै नवीनता दिन सकेका छैनन् ।

छायांकन मध्यम छ, द्वन्द्व निर्देशन नवीनताविहीन ।

कथाका हिसाबले सामान्य 'दुलही' पटकथामा फितलो छ । फिल्मको अर्को कमजोर पक्ष संवाद हो । व्यर्थ संवाद हाबी रहेको फिल्ममा केही संवाद यस्ता पनि छन् जसले पछि के होला भन्ने कौतूहलै मेटाइदिन्छन् । प्रकाश यति अप्राकृतिक छ, वस्तुको कम्तीमा पनि चारवटा छाया परेको देखिन्छ, रातको दृश्यमा । सुरुदेखि अन्त्यसम्म कतिपय दृश्यले दर्शकका दाँतमा ढुंगा लगाउनेछन् ।

शारीरिक सम्बन्ध भएको सम्भवतः भोलिपल्टै बान्ता गरेर गर्भवतीको भएको उडन्ते दृश्य राखिएको फिल्ममा छोरीले अस्पतालमा बच्चा जन्माउँदाको समयसम्म पनि सँगैका बाबुआमाले पत्तो नपाउनुले उदेक लगाउन सक्छ । फिल्म हलबाटै सँगैकी साथीलाई केही गुन्डाले लैजाँदा पत्तो नपाएको मिलनले पछि अपरिचित ठाउँमा भने साइकल उडाउँदै आरतीलाई गुन्डाहरूबाट जोगाउँछ । तर मारकाटपछि पनि आरती पुनः फिल्म हेर्न जानुले परिस्थितिको गम्भीरतालाई सम्बोधन गरिएको लाग्दैन ।

हलमा फिल्म सकिएपछि पनि पुनः आउँछ भनी कुरी बसेको देखाउनु क्याम्पस पढ्ने आरतीका लागि सुहाउने विषय त होइन नै, आफ्नै घरमा टीभी र डीभीडी प्लेयर भएकी उसलाई फिल्मबारे यति अपरिचित भएको देखाइनु अपाच्य छ । सुटिङमा आएका नायक राजेशलाई परिवारले भेट्न नदिएपछि प्रत्येक रात भेट्न गएको मात्रै नभई मिष्टान्न खुवाई र्फकंदा कसैलाई पत्तो नहुनु अर्को उदेक हो ।

निश्चित उद्देश्यका लागि मात्र घट्ने घटनाको 'साइड इफेक्ट' को कुनै मतलब नराख्नाले फिल्म हावादारी बनेको छ । अघिल्लो रात बाटोमा गुन्डाहरूबाट फुत्केकी युवती भोलिपल्ट केही न केही सावधानीको उपाय अपनाउँछे तर फिल्ममा आरती त्यसो गर्दिन । अर्को रमाइलो त के भने, शैक्षिक चेतना भएकी आरतीले डि्रंक्स भनेको पानी हो भनेर सोध्छे अनि पानीजसरी नै एक सासमा पिइदिन्छे ।

त्यसो त, फिल्ममा गीतको सुटिङ भइरहेको परिस्थिति भए पनि नायक/नायिकालाई एक टेकमै पूरा गीतमा नचाइन्छ, अस्पतालबाट भर्खर डिस्चार्ज भएकी सुत्केरीलाई लामो बाटो दौडाइन्छ । वास्तविक नायकको परिचयमा प्रस्तुत गरिएका राजेशलाई गीत गाउन लगाइन्छ । उनले पनि फिल्मकै हिरोले जसरी गाइदिन्छन् । घटनालाई सही सम्बोधन नगरी बनाइएको 'दुलही' सिकारुले गरेको लतपत शृंगार जस्तो भएको छ ।

फिल्म समीक्षा

दुलही

निर्देशक : बाबुराम ढकाल

कलाकार : राजेश हमाल, मुकेश ढकाल, सुमिना घिमिरे


- ई कान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।