को बन्लिन् मगर 'सुन्दरी'

मनोज घर्तीमगर, पोखरा, जेठ ३१- बैंकमा काम गर्ने लक्ष्य राखेकी सुजाता पुन यतिबेला 'मिस मगर पोखरा २०११' नामक सुन्दरी प्रतियोगिताका लागि कस्सिएर लागेकी छिन्। प्रतियोगितामा आफूलाई उत्कृष्ट साबित गर्न उनी प्रशिक्षणमा व्यस्त छिन्। 'उद्देश्य त बैंकिङ नै हो,' २० वर्षीया सुजाता भन्छिन्, 'मोडलिङ मेरो रुचि भएकोले यसमा भाग लिँदैछु।'
मगर युवतीलाई लक्षित गरी पहिलोपटक आयोजना गरिएको प्रतियोगिता भएकोले प्रतिभा देखाउन प्रस्तिपर्धामा उत्रन लागेको उनको भनाइ छ। 'मगरको लागि आयोजना गरिएको प्रतियोगितामा मगर सहभागी नभए को हुन्छ त?' लेखनाथ-१३ गगनगौडाकी सुन्दरी सुजाताले प्रतिप्रश्न गर्दै भनिन्।

उनीजस्तै पर्वत, तनहुँ, म्याग्दी, बाग्लुङ, स्याङजा, कास्की, बुटवलका २६ मगर युवती 'सुन्दरी' बन्न निकै मेहनत गरिरहेका छन्। पोखरामा लामो समयपछि सुन्दरी प्रतियोगिता हुन लागेकोले उनीहरू उत्साहित छन्। उनीहरू सबै आफ्नो रुचि मोडलिङ बताउँछन्। तीमध्ये एक हुन् भूमा थापामगर। 'आफ्नो जातीयता र संस्कृतिसँगै प्रतिभा देखाउन सहभागी भएकी हुँ,' भविष्यमा एअर होस्टेज बन्ने लक्ष्य राखेकी उनी भन्छिन् 'टाइटल जित्नु ठूलो कुरा होइन, सहभागिता महत्त्वपूर्ण हो।'

सन् २००९ मा पोखरामै भएको 'मिस जनजाति'मा सेकेन्ड रनरअपको उपाधि जितेकी भूमाको अनुभवले मिस मगरको उपाधि जित्ने साहस पलाएको छ। घारिपाटन पोखराकी भूमाले भनिन्, 'साथीहरू धेरै छन्, अनुभवको आधारमा जित्छु भन्ने चाहिँ छ।' थुप्रै फोटो सेसन र स्थानीय स्तरमा म्युजिक भिडियोमा जमेकी एन्टिना थापामगर पनि मगर सुन्दरी बन्ने धुनमा छिन्। पोखरा-१० रामबजारकी एन्टिनाको लक्ष्य नै सक्षम मोडल बन्नु हो। कक्षा १२ को परीक्षा दिएर बसेकी एन्टिना रुचिसँग मेल खाने क्षेत्र भएकोले प्रतिस्पर्धामा भाग लिएको बताउँछिन्।


एन्टिना थापा मगर।

असार ४ मा पोखरा सभागृहमा हुने प्रतिस्पर्धाका लागि उनीहरूले भाषा, संस्कृतिको परिचयसहित क्याटवाक, व्यक्तित्व र बौद्धिक विकासमा प्रशिक्षण लिइरहेका छन्। 'मगर भएर पनि मातृभाषा नजान्नेहरू अहिले बोल्न सक्ने भएका छन्,' कोरियोग्राफर सुरज थापा प्रतियोगिता आयोजना गर्नुको औचित्य बताउँदै भन्छन्, 'मगरको युवापुस्ताले आफ्नो संस्कृति लगायतका अन्य कुरा पनि थाहा पाऊन् भन्ने उद्देश्य पनि हो।'

प्रतिस्पर्धाका लागि ३७ जनाको आवदेन परे पनि कोरियोग्राफर आशिष श्रेष्ठ, सुरज थापा र फोटोग्राफर सञ्जय शाक्यले एक महिनाअघि २६ प्रतिस्पर्धी छानेका थिए।

'जातीय भाषा र संस्कृतिको उत्थान, प्रतिभाको प्रष्फुटन हाम्रो पहिचान' भन्ने नाराका साथ नेपाल मगर संघ कास्कीको आयोजना र रिबर्थ इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा प्रतियोगिता हुँदैछ। विजेताले नगद १५ हजार, फस्ट रनरअपले १० हजार र सेकेन्ड रनरअपले ५ हजार, क्राउन तथा आकर्षक उपहार पाउनेछन्।

भुमा थापा मगर

- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।