फुटबल गेटअपमा हिरोइन

काठमाडौं, जेठ २५ (नागरिक) - अभिनेत्री ऋचा शर्मा फुटबल गेटअपमा देखिएकी छिन्। कालो रङको वान पिसमा देखिएकी उनले फुटबलको खोलबाट बनाइएको टपर लगाएकी थिइन्। उनको पहिरन तेन्जिङ छेटेन भुटियाले डिजाइन गरेका हुन्।भूषण दाहालद्वारा निर्देशित टेलिसिरियल 'हाम्रो टिम'को मंगलबार सम्पन्न प्रिमियर शोमा ऋचाले यो पहिरन लगाइन्। पहिरन डिजाइन गर्न तेन्जिङलाई झन्डै दुई हप्ता लागेको थियो।

'ऋचाले सातपटक त ट्रायल नै गर्नुपर्‍यो। ड्रेसको माथिल्लो भाग फुटबलबाट तयार गर्नुपर्ने हुँदा ६ वटा बल प्रयोग गर्नुपरेको थियो,' तेन्जिङले भने। खेलाडीको लुक्स दिनुपर्ने हुँदा ब्याक साइडमा सेतो फाइबर प्रयोग गरिएको छ। ओभल सेपमा रहेको माथिल्लो भागलाई ड्रेसमै जोडिएको छ।

'ब्ल्याक स्किन भएकोले ऋचालाई डार्क कलरमात्र सुहाउँछ, त्यसैले कालो रङ प्रयोग गरेको हुँ,' उनले भने। फुटबलसम्बन्धी कथावस्तु रहेको 'हाम्रो टिम'को प्रमोसन गर्न यस ड्रेसले मुख्य भूमिका खेलेको छ। ड्रेसले आफूलाई सहज हुन समेत मद्दत गरेको ऋचा बताउँछिन्।
'माथिल्लो भागचाहिँ कुनै किसिमको गहना लगाउन नपरोस् भनेर डिजाइन गरेको हो,' उनले भनिन्। यसअघि अर्कै ड्रेसको कन्सेप्ट भएपनि अन्ततः आफूले यसैलाई फाइनल गरेको उनले बताइन्।

टेलिसिरियल 'हाम्रो टिम' बिहीबारदेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको छ। दुई दशक बढीको टेलिभिजन यात्रामा पहिलोपटक सिरियल बनाउँदा नौलो लागेको उनले बताए।

नेपालमा लोकप्रिय फुटबल खेललाई सिरियलको मुख्य विषय बनाइएको छ। 'खेलको माध्यमबाट सपना पूरा गर्न चाहने युवाको कथा हो यो,' दाहालले भने।

सर्च फर कमन ग्राउन्ड र एबी पिक्चर्सद्वारा निर्माण गरिएको सिरियल १३ भागको छ। करिब डेढ करोड लगानीमा यसको निर्माण भएको निर्माता युवाकरराज राजकर्णीकारले जानकारी दिए। कार्यक्रममा 'हाम्रो टिम'का अन्य कलाकारहरू भने जर्सीमा देखिएका थिए। टेलिसिरियलको गेटअपमै कलाकारहरू देखिएका हुन्।

ऋचाले फिल्म र टेलिसिरियलको अनुभवमा भिन्नता नपाएको बताइन्। यसमा दयाहाङ राई, निरज चौधरी, घनश्यामकुमार मिश्र, अब्दुल खान, सौरभराज तुलाधर लगायतले अभिनय गरेका छन्। सिरियलमा विदुर पाण्डेको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ।

- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।