कहाँ बन्ला फिल्म स्टुडियो?

सन्तोष रिमाल, काठमाडौं, चैत १३- दोलखाको खरिढुंगामाथिका डाङडुङे डाँडा फिल्मनगरीमा रूपान्तरण हुने समाचारले चर्चा पाएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले भ्रमण गरेर त्यहाँ सुटिङ स्टुडियो बनाउने वचन दिएपछि स्थानीयवासी हर्षित छन्।

त्यहाँको सौन्दर्यले भण्डारी लोभिएका छन्। भुस्वामित्वको कागज पाउने बित्तिकै निर्माण प्रक्रिया अघि बढाउने आश्वासन उनले दोलखावासीलाई दिइसकेका छन्। स्थानीय आगुवाले करिब ६ सय रोपनीमा स्टुडियो खडा गर्ने सपना देख्दै नाम समेत जुराइसके, 'डलिउड'।

तर, यसरी खुसी मनाइहाल्नु हतार हुनसक्छ। किनभने अध्यक्ष भण्डारीले फिल्म नगरीको सुनौलो सपना धेरै ठाउँमा बाँडेका छन्। तर, ठोस प्रक्रिया कतै सुरु भएको छैन।

आठ महिनाअघि मात्रै उनले 'फिल्म नगरी'को सपना बाँडेका थिए कास्कीको धिताल गाउँमा। त्यहाँबाट देखिने हिमशृंखला र भूबनोटलाई आधार मान्दै उनले भनेका थिए, 'यो ठाउँलाई देशको केन्द्रिय स्टुडियो बनाउँछौं। त्यसो गरे विदेशी समेत यहाँ सुटिङ गर्न आउँछन्।' उनको आश्वासनसँगै त्यहाँ जग्गाको भाउ मात्र बढेन, कतिले जग्गामा परेको रुखै काट्न थाले। स्टुडियो के हो भन्ने नबुझे पनि गाउँमा विकासको मूल फुट्ने ठानेर त्यहाँका बासिन्दाले फूलमालाले भण्डारीको गला भरे।

धितालबासी अहिले निकै खिन्न छन्। 'डलिउड'को खबरसँगै आफ्नो गाउँको योजना खोसिएको ठानेका छन् धितालवासीहरुले। बोर्डका पदाधिकारीहरुले पटकपटक अवलोकन गरेर स्टुडियो बनाउने 'पक्का' गरे पनि अन्यत्रै बन्ने खबरले गाउँलेमा आक्रोश छाएको छ।
धिताल गाउँका विश्वराज अधिकारीले भने, 'अन्य ठाउँमा बनाउने योजना थियो भने हामीलाई आश्वासन दिनु हुँदैनथ्यो।' स्टुडियो निर्माणसँगै गाउँको विकास कुरेर बसेकाहरु बोर्डको पछिल्लो गतिविधिले दुःखी भएको उनले बताए।

'मंसिरको अन्तिम साता पनि अवलोकन गर्न बोर्डका प्राविधिकहरु आएका थिए। पोखराबाट अन्य प्राविधिक पनि झिकाउने भन्दै हामीलाई थप व्यवस्था मिलाउन अनुरोध गरे, तर फर्किएनन्,' उनले गुनासो गरे।

सरकार परिवर्तन हुनसक्ने भन्दै बोर्डका पदाधिकारीले जतिसक्दो छिटो काम सक्न अनुरोध गरेकाले थप आशा जागेकोे अधिकारीको भनाइ छ। मंसिर अन्तिम साता स्टुडियो निर्माण समितिका तत्कालिन संयोजक तथा बोर्ड सदस्य उदय सुब्बाको नेतृत्वमा प्राविधिक सहितको टोली जयकोट र उपल्लो अस्ताम क्षेत्रको अवलोकनमा पनि पुगेको थियो।

'अहिलेसम्म चारपटक गाउँ आएका बोर्ड पदाधिकारीले हामीलाई धितालमै स्टुडियो बनाउने वचन दिए,' स्थानीय स्तरमा गठित स्टुडियो निर्माण समितिका संयोजक श्याम दाहालले नागरिकसँग भने, 'हाम्रो गाउँमा ल्याउने योजना नै थिएन भने आश्वासन दिनु हुँदैनथ्यो।' उनले बोर्डको पछिल्लो गतिविधि गैरजिम्मेवारीपूर्ण रहेको टिप्पणी गरे। आफूले स्टुडियोको विषयमा अध्यक्षको धारणा जान्न खोज्दा राजधानीबाहिर काममा व्यस्त रहेको भन्दै स्पष्ट जवाफ नदिएको उनको कथन छ।

धिताल गाउँमा स्टुडियो बनाउन जोड दिने फिल्मकर्मी शिवजी लामिछाने जग्गा भोगचलनको अधिकार बोर्डलाई नदिएसम्म समस्या पर्ने बताउँछन्। बोर्ड टोलीसँगै सो क्षेत्रको अवलोकनमा पुगेका लामिछानेले भने, 'त्यहाँ स्टुडियो बनाउने कुरा रेडबुकमै उल्लेख भइसकेको छ। देशको फिल्मनगरी पोखरामै बन्नु पर्छ र बन्छ पनि।' तत्काल काम अघि नबढे पनि निराश नहुन उनले धितालबासीलाई अनुरोध गरे।

त्यसो त स्थापनाकालदेखि नै बोर्डले स्टुडियो निर्माणको नारा चर्काउँदै आएको छ। टोखा, नाङ्लेभारे, नागार्जुन जस्ता उपत्यका आसपासका ठाउँलाई अघिल्ला अध्यक्षहरुले स्टुडियो निर्माण स्थलको रूपमा प्रस्ताव गरेका थिए। वर्तमान अध्यक्ष भण्डारीले धिताल गाउँ, कोहलपुर र दोलखा पुगेर स्टुडियो बनाउने योजना बाँडे। तर गृहकार्यबिनाको आश्वासनका कारण उनले आलोचनाको समना गर्नु परेको छ।

फिल्म निर्देशक नवीन सुब्बा बोर्ड पदाधिकारीले जता गए पनि स्टुडियो बनाइने वचन दिँदा आन्योल सिर्जना भएको बताउँछन्। फिल्मनगरी बनाउने घोषणा गर्नु अघि पूर्वाधारबारे प्रष्ट हुन उनी आग्रह गर्छन्। नेपालमा 'इन्डोर स्टुडियो'को खाँचो औँल्याउँदै उनले भने, 'कैलालीको थारु गाउँ होस् या कास्कीको घान्द्रुक। ती आफैं प्रकृतिक स्टुडियो हुन् र त्यहाँ विषयको माग अनुसार सुटिङ भएकै छ। जहाँ सुटिङ गर्न असम्भव छ त्यसको सेट लगाउन सकिने स्टुडियो चाहिएको हो।' उनले स्टुडियो बनाउने ठाउँमा फिल्मकर्मीलाई आवश्यक पर्ने सबै सुविधा उपलब्ध गराउनु पर्ने धारणा राखे। 'प्रकृतिले नै दिएको ठाउँमा जाऊ भन्नु पर्दैन। पूर्वाधारबिना जहाँ घोषणा गरे पनि सुटिङ गर्न जाँदैनन्,' स्टुडियोबारे 'क्लियर' हुन आग्रह गरे उनले।

फिल्म र म्युजिक भिडियो बनाउँदा 'भर्चुअल सेट'मा खेल्न खप्पिस सिमोस सुनुवार स्टुडियो नहुँदा धेरै दुःख खेप्नु परेको सुनाउँछन्। सुटिङ गर्न छिरेपछि ६० प्रतिशत काम सकेर निस्कन पाउने स्टुडियोको आवश्यकता देख्छन् उनी। बोर्डले सुनाउँदै हिँडेको स्टुडियो अवधारणासँग उनी सहमत छैनन्।

'आफ्नो हिसाबले चलाउन नमिल्ने खालको स्टुडियो भयो भने जुन फिल्म हेरे पनि उस्तै खालको देखिन्छ। त्यसैले कलर, लाइटिङ र सेट राख्न सकिने वैज्ञानिक स्टुडियो चाहिन्छ,' सिमोसले सुझाव दिए। उनी सानो बजेटकै भए पनि आश्वासनले मूर्त रूप पाएको हेर्न चाहन्छन्। नेपाल चलचित्र विकास कम्पनी, चापागाईं स्टुडियो र नुतन स्टुडियोले धानेको 'स्टुडियो धन्दा' विकसित हुनुपर्ने उनको भनाइ छ।

दोलखामा स्टुडियो बनाउने कुरा सुरु हुँदैमा धिताल गाउँको योजना रोकिने होइन भन्छन् भण्डारी। राज्यको संघीय संरचनासँगै ठाउँठाउँमा स्टुडियोको खाँचो पर्ने उनी बताउँछन्। दोलखामा भुस्वमित्वको प्रक्रिया सहज हुने देखेपछि स्टुडियो बन्ने सम्भावना पनि छिट्टै विकास भएको उनले जानकारी दिए।

'इन्डोर स्टुडियो बनाउन सुन्दर ठाउँ नै चाहिन्छ?' भन्ने नागरिककको जिज्ञासमा काठमाडौंनजिक जग्गाको समस्या परेकाले बाहिरतिर सम्भावना खोज्दै हिँडेको उनले खुलाए। विद्युतको संकट नपार्ने र स्थानीयवासीको सहयोग पनि मिलेकाले 'डलिउड'को योजनाले गति लिने संकेत देखेका छन् भण्डारीले।
(पोखराबाट सन्तोष पोखरेल र दोलखाबाट रमेश खतिवडाको सहयोगमा )

- नागरिक न्यूज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।