अभिनयले जोडेको सम्बन्ध

स्मृति ढुंगाना, काठमाडौं, चैत ६- 'हाकु काले' अर्थात् सौगात मल्ल आफ्नो 'रिलेसन स्ट्याटस'बारे दोधारमा छन्। 'लुट' फिल्मबाट लोकप्रिय बनेका अभिनेता सौगातको रंगकर्मी सरिता गिरीसँग आत्मीय सम्बन्ध रहेको सबै साथीभाइलाई थाहा छ।
तैपनि यस विषयमा 'स्पष्ट' छैनन् सौगात। 'हामी एकदमै मिल्ने साथी हौं। एकअर्काको बारेमा ध्यान दिन्छौं। साथीमा प्रेम सम्बन्ध हुँदैन भन्न सकिन्न,' सौगातले सरितासँगको सम्बन्धलाई यसरी व्याख्या गरे। झन्डै १२ वर्षअघि रंगमञ्चको यात्रा सँगै सुरू गरेका उनीहरू १४ वटा नाटकमा प्रेमीप्रेमिकाका रूपमा प्रस्तुत भइसकेका छन्। यो जोडीले 'आरूको फूलको सपना' नाटकबाट सहकार्य सुरू गरेका थिए। आफ्नो सम्बन्धमा सरिता स्पष्ट छिन्। भन्छिन्, 'म उनलाई प्रेम गर्छु। बिहे गर्ने सोचमा चाँहि छैन।'
आफूहरूले समक्षदारीबाटै यस्तो निर्णय गरेको बताउँदै सरिताले भनिन्, 'प्रेम हुँदैमा बिहे गर्नुपर्छ भन्ने छैन। राम्रो साथी भएर पनि काम गर्न सकिन्छ।' एमआर थियटरमा पहिलोपटक भेट हुँदा मित्रता गाढिएको उनीहरुको अनुभव छ। फिल्ममा व्यस्त हुन थालेपछि सरितासँगको भेटघाट पातलिएको बताउँछन् सौगात।
। नचिन्नेले खरो मिजासका ठान्दा रहेछन् सौगातलाई। तर उनी आफू वास्तविक जीवनमा त्यस्तो नभएको बताउँछन्। 'प्रायः मानिसहरू मलाई देख्नासाथ भाग्छन्। एकदम थोरै साथीमध्ये मलाई बु‰ने सरिता नै हो,' उनले भने।
अरूको समस्या सुल्झाउन अघि सरे पनि आफ्नो काममा पछि हट्ने सौगातको बानी सरितालाई मन पर्दैन। आफ्नो अभिनय करियरमा सौगातको साथ भुल्न सक्दिनन् उनी। सरितालाई सानो कुराले पनि प्रभाव पार्ने बुझेका छन् सौगातले। 'बिहेबारे सोच्ने बेला भएको छैन' ठान्ने सौगातलाई केटा र केटीको मित्रता बाक्लियो भने गलत अर्थ लगाउने प्रवृत्ति मन पर्दैन।
'मेरो पहिलो केटा साथी नै सौगात हो। गाली खाइन्छ कि भनेर डराउँदै एकदिन घरमा लगेको थिएँ। तर, मेरो ममी र दिदी त पहिलादेखि नै उसको फ्यान भइसक्नुभएछ,' मित्रता सुरु हुँदाको अनुभव बताइन् सरिताले।
सौगातका अनुसार आजसम्म सरिताबाहेक अन्य केटीसँग उनको संगत छैन। सौगातलाई बिहे गर्न हतार छैन। तर, सरिता छिट्टै विवाह बन्धनमा बाँधिदै छन्। 'सौगातसँगको सम्बन्धबारे मेरो हुनेवालालाई थाहा छ,' बिहेपछि पनि अभिनयको सहकार्य नटुंगिने उनले बताइन्।
गुरूकुलको स्थापनासँगै चर्चामा रहेको जोडी हो यो। 'अब चाहिँ तिमीहरू दुवैले बिहे गरिदिए म खुसी हुन्थें,' नाटक निर्देशक तथा अभिनेता अभिनेता सुनिल पोखरेलले भनेको कुरा सरिताले बिर्सन सकेकी छैनन्। तर, पारिवारिक मान्यता र समाजका कारण पनि सोचे जसरी जीवन चलाउन अप्ठ्यारो हुने बुझेकी छिन् सरिताले। Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।