काठमाडौं, वैशाख १० (नागरिक)- टेलिभिजनमा एकताका ‘पवनकली' भनेर चिनिने लुनिभा तुलाधारले दोस्रो डकुमेन्ट्री प्रिमियर गरेकी छिन्। शनिबार नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवअन्तर्गत राष्ट्रिय सभागृहमा उनीद्वारा निर्देशित ‘द स्पिनर अफ फ्लाइट्स'को पहिलो प्रदर्शनमात्र भएन, उनी स्वयं पनि बधाईकी पात्र बनिन्। महोत्सवमा आफ्नो फिल्मले पाएको तारिफले उनी उत्साही छिन्। २० मिनेटको नेवार डकुमेन्ट्रीमा अंग्रेजी सबटाइटल राखिएको छ। आफ्नी ५० वर्षीया फुपू मीरा स्थापितको जीवनलाई उनले डकुमेन्ट्रीको कथा बनाएकी छिन्। चंगा उडाउने लट्टाई बनाउने मीरा पोलियो रोगबाट प्रभावित भएकी छिन्। त्यसैले उनी स्कुल जानबाट समेत बन्चित रहिन्।
‘फुपूको जीवनबाट म ज्यादै प्रभावित भएर डकुमेन्ट्री बनाउने सोच पलाएको हो। आजसम्म मैले उहाँको आँखामा आँसु देखेको छैन। अविवाहित उहाँ हाम्रो प्रेरणा हुनुहुन्छ,' लुनिभाले भनिन्।
मीराले ५५ वर्षको उमेरमा प्रौढ कक्षा जान सुरु गर्छिन्। तर घरायसी कामले स्कुल जान नपाउँदाको पीडा पनि डकुमेन्ट्रीमा छ। ‘उहाँको जीवनमा आएको सकारात्मक परिवर्तनलाई मैले जोड दिएकी छु,' उनले भनिन्।
भविष्यमा अर्को फिल्म बनाउने सोचमा रहेकी लुनिभाले ११ वर्ष यस क्षेत्रमा बिताइसकेकी छिन्। ‘मैले १७ वर्षको उमेरमा काम सुरू गरेकी थिएँ। समय बितेको पत्तै हुँदैन रहेछ,' उनले भनिन्।
विभिन्न नाटकमा अभिनय गरेर पनि उनी प्रशंसित भइसकेकी छिन्। वैवाहिक जीवनमा बाधिएकी लुनिभा चाँडै नै अर्को टेलिभिजन शोमा देखिने भएकी छिन्। ‘प्ल्याटफर्ममा पाहुना' नामक कार्यक्रमको पहिलो अतिथि अभिनेता राजेश हमाल हुनेछन्। नागरिक न्युज
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।