काठमाडौं, वैशाख ९ (नागरिक)- पहिलो फिल्म ‘अनागरिक'बाट चर्चा कमाएका निर्देशक राम गुरूङको दोस्रो फिल्मको निर्माण पूरा भएको छ। लाहुर परिवारका नयाँ पिँढीमाथि आधारित उनको फिल्म ‘ब्लक लिभ'को प्रिमियर नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म फेस्टिभल (निफ)मा हुने भएको छ। इन्डिजिनियस फिल्म अर्काइभको आयोजनामा शुक्रबार सुरु हुने महोत्सवमा यो फिल्म राष्ट्रिय सभागृहमा शनिबार देखाइने छ।उनको ‘अनागरिक'ले तीन वर्षअघि यही फिल्म महोत्सवमा प्रोत्साहन पुरस्कार पाएको थियो। यसपालि पनि उनी आशावादी छन्। ‘सहरी समाजमा बस्ने आदिवासीको कथा भएकोले महोत्सवमा फिल्म देखाउन लागेको हुँ,' निर्देशक गुरुङले भने। फिल्मको भाषा भने नेपाली नै छ। ‘पैसावाल लाहुरेकी श्रीमती दलालको फन्दामा पर्दाको स्थितिलाई फिल्मको मूख्य कथावस्तु बनाएको छु,' गुरुङले भने। लाहुरेले लिने छोटो छुट्टीलाई ‘ब्लक लिभ' भनिन्छ। त्यही छोटो अवधिमा घर आउँदा श्रीमतीसँग हुने द्वन्द्वलाई फिल्मले समेटेको छ। ७५ मिनेटको फिल्ममा अंग्रेजी सबटाइटल समेत राखिएको छ। फिल्मको सुटिङ काठमाडौं र धुलिखेलमा गरिएको थियो। बबिता मादेन, सरोज केसी, विनय लामा र प्रतीक्षा गुरूङले अभिनय गरेको फिल्मलाई महोत्सवपछि धरान, बिर्तामोड र हेटौंडामा प्रदर्शन गरिने जानकारी उनले दिए।‘मूख्यतया विदेशमा रहेका नेपालीलाई देखाइने भए पनि यसपटक नेपालका विभिन्न हलमा रिलिज गर्नेछौं,' गुरुङले भने। चार दिने महोत्सवमा सहभागी भएपछि फिल्मको प्रवर्द्धनमा सघाउ पुग्ने उनको आशा छ। Nagarik News
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।