अमेरिकामा आफ्ना पति र छोरीका साथ सज्जाले साधारण जीवन बिताइरहेकी छिन्। आफूलाई मन परेको अभिनय क्षेत्र चटक्क छोड्नु पर्दाको दुःख पनि उनलाई छ। त्यसैले उनी छोरीको करियरमा उतारचढाव चाहन्नन्। ‘भावनात्मक सम्बन्ध बनेको क्षेत्रसँग टाढिनुको पीडा मैले भोगेकी छु,' उनलाई ‘नोस्टाल्जिया'ले भावुक बनायो। ‘नौ डाँडा पारि'की हिरोइन सज्जाको दैनिकी सात समुद्रपारि गृहिणीको रूपमा बितिरहेको छ। भूमिकासँगै फेरिएको छ उनको शरीर। ‘स्लिम शरीर फिल्म खेल्नका लागि मात्र हो? कि जल शाहसँग प्रतिस्पर्धा चलेको छ यता आएपछि?' साइज बढाएकी सज्जाले लजाउँदै जवाफ दिइन्, ‘होइन होइन अब छिट्टै घटेको देख्नुहुनेछ।'
पाँच वर्षअघिको फिल्म ‘सावधान'मा सज्जा निर्माता समेत थिइन्। उनले यो फिल्मलाई करियरको ‘टर्निङ प्वाइन्ट' मानेकी थिइन्। तर, करियरले यस्तो मोड लियो कि फिल्मी दुनियाँबाट निकै टाढा ल्याइपुर्यायो उनलाई। ‘म फिल्मबाट बिल्कुल टाढा छुु। यहाँका फिल्मकर्मीसँग पनि सम्पर्कमा छैन,' उनले भनिन्।
उनको धेरैजसो समय परिवारसँगै बित्छ। तर, कलाकारिताबाट एक्लिएको अनुभूति गर्छिन्। ‘आफूले अभिनय गरेका फिल्म, फिल्मका साथीसंगी र त्यो सुटिङ स्पट झलझली सम्झन्छु। फिल्मको फ्ल्यास ब्याक जस्तै त्यो मेरो अगाडि हुँदैन,' पेन्सिलभेनियामा रहेकी सज्जाले मनमा गाँठो पार्दै भनिन्, ‘आफ्नो करियरबाट यसरी टाढिनुपर्ला भनेर कल्पना गरेकी थिइनँ।'
आमा र दिदी सच्ची पनि सँगै रहेकाले मन बुझाउन सजिलो भएको उनले बताइन्। तुरुन्त नेपाल फर्किने योजना छैन सज्जाको। ‘समय र परिस्थितिले साथ दियो भने म फेरि कलाकारितामा आउनेछु। फिल्म खेलिन भने पनि टेलिभिजन शोबाट दर्शकको मन जित्ने प्रयास गर्नेछु,' विभिन्न किसिमका कार्यक्रमको कन्सेप्ट तयार पारिहेको उनले जानकारी दिइन्।
परम्परागत बिहे गरेकी सज्जाले सुरुमा अमेरिकालाई ‘रिफ्रेस' हुने बहाना मात्र ठानेकी थिइन्। तर, उतै जरो गाडेका पति ओमराज भट्टराई नेपाल फर्किएनन्। सज्जालाई अमेरिकाबाट उम्कन सजिलो भएन। उनी फिल्मबाट हराउनुको कारण यही हो।
दुई वर्षअघि छोरीलाई जन्म दिएपछि त उनको दायित्व अझै थपियो। अहिले उनी छोरीकै हेरचाहमा व्यस्त छिन्। कुनै बेलाकी व्यस्त हिरोइनको दैनिकी घरायसी कामकाजमा बित्ने गरेको छ।
‘नेपाल छाडेर अमेरिका आउँदा मलाई माइतीघर छाडेर आएको जस्तो भएको छ। धेरैले सपनाको देश ठाने पनि अमेरिकामा मैले सपना देख्नसकेको छैन,' फिल्म क्षेत्रको धङधङीबाट अझै पनि मुक्त हुन नसकेको उनले बताइन्।
अझ पनि उनलाई आफू कलाकारिताकै लागि फिट लाग्छ। अरू काममा सफलता मिले पनि सन्तुष्टि नभेटेको अनुभव गरेकी छिन् उनले। ‘जीवनभर फिल्म खेल्छु भने पनि एकै हप्ताको निर्णयमा बिहे गरेँ। त्यसपछि नसोचेको परिवर्तन आयो,' कलाकार गोपालराज मैनालीकी छोरी तथा २९ वटा फिल्मकी हिरोइन सज्जाले भनिन्। नागरिक
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।