हेर्दाहेर्दै हरायो कार

ललितपुर, वैशाख ४ - 'ए, समात्..समात्..' कुपन्डोलस्थित कानदेउता मन्दिर छेवैबाट हुँइकिरहेको भक्स वागन कारलाई पछ्याउँदै शनिबार दिउँसो प्रहरी इन्स्पेक्टर चिच्याए । कार लखेट्दै उनी केही परसम्म कुदे पनि । तर इन्स्पेक्टरको केही लागेन, कार कुपन्डोल हुँदै अघि बढ्यो । बरु उनी 'हाउ सेट..' भन्दै दायाँ हात हावामा बजार्दै फनक्क फर्के ।

असीमित महत्त्वाकांक्षाका कारण नक्कली नोटको फन्दामा परेको दुई ठग लखेट्दै आउने क्रममा ती इन्स्पेक्टर कानदेउताथान छेवैको शिवशक्ति बुटिक अघिल्तिर आइपुगेका थिए । यही बेला मुलुककै चर्चित फेसन डिजाइनर राशि सडकछेउ कार पार्किङ गरेर बुटिक पसेकी थिइन्, चाबी ढोकैमा थियो । दुई ठगले यही मौका छोपेर कारमा कुलेलम ठोके । इन्स्पेक्टर हेर्‍याहेर्‍यै ।

'ए..लौ न..मेरो कार...' बुटिकभित्रबाट राशि चिच्याउँदै निस्किइन् । कार ओझेल परिसकेको थियो । यसपछि उनले आत्तिँदै लगातार तीनपटक साथीलाई मोबाइल गरिन्, एनटीसीको परिचित स्वरमा सुनियो- 'माफ गर्नुहोला, तपाइर्ंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको

छ ।' यसपछि के भयो ? थाहा पाउनचाहिँ आगामी मंसिरमा रिलिज हुने लक्ष्य राखिएको 'लाइट कमेडी' फिल्म 'ब्रेक फेल' हेर्नैपर्ने हुन्छ ।

शनिबार दिउँसो भने 'ब्रेक फेल' को सुटिङ भइरहेको थियो । फेसन डिजाइनर बनेकी थिइन् नायिका ऋचा घिमिरे, ठग बनेका थिए, निरज बराल र विम्लेस अधिकारी । लखेट्ने इन्स्पेक्टरचाँहि चिरन बिमली । 'प्रहरीको सास्ती साँच्चिकै दुःखलाग्दो हुँदो रहेछ,' पसिना पुछ्दै उनले सुटिङको ब्रेक टाइममा भने, 'अहिले पो थाहा

पाएँ ।' यही दृश्यका लागि एउटै दूरीमा उनले कम्तीमा चारपटक दौडिनुपरेको थियो, कारको पछिल्तिरको दृश्य भएकाले यसपटक निर्देशक शंकर घिमिरे आफैंले कार दौडाइरहेका थिए, भित्र अरू एकजना मात्रै थिए ।

ऋचाले भने दोस्रोपटकमै 'ओके' पाइन् । कार चोरी भएपछिको हतासलाग्दो मनोविज्ञान अनुहारमा उतार्न उनलाई खासै समय

लागेन । 'यो कार पनि हाम्रो आफ्नै हो नि,' बुटिकभित्र छिरेपछि आमा श्रुति दाहालसँग बसिरहेकी ऋचाले भनिन्, 'आफ्नै कार चोरी भएको ठानें, मुड बनाउन खासै गार्‍हो भएन ।' आफ्नै होम प्रोडक्सन 'ब्रेक फेल' को सुटिङ थालेको एघारौं दिनपछि ऋचा इन्डोर दृश्यका लागि व्यस्त भइन् । चर्चित फेसन डिजाइनर -राशि) को भूमिकामा रहेकी उनी कथामा चाहिँ हराएको भक्स वागन खोज्दै जाने क्रममा सुदूरपश्चिम पुग्छिन् । प्रहरी, दुई ठग र सुरुमा समाजसेवी तर पछि नकारात्मक भूमिकामा उत्रिने राजेश हमाल पनि कारलाई नै पछ्याउँदै सुदूरपश्चिमको एउटा गाउँ पुग्छन् ।

'अलिक फरक खालको कमेडी बनाउन खोजेका छौं,' वल्र्ड वाइड मुभी मेकरको ब्यानरमा बन्दै गरेको फिल्मबारे निर्देशक घिमिरेले भने, 'हाम्रै समाजमा भइरहेको ताजा घटनाहरूलाई सिलसिलेवार रूपमा पस्किन खोजेका हौं ।' ऋचाकै प्रस्तुति रहेको फिल्म निर्माण टोलीमा प्रदीप सिंह, शिवहरि कार्की, मनोजकुमार घिमिरे र शंकर स्वयं छन् । आफ्नै निर्माण तथा निर्देशन रहेको शंकरको यो चौथो फिल्म हो । सामाजिक विसंगतिमाथि बनेको 'विष' रिलिज भइसकेको छ भने 'वीरताको चिनो' यही वैशाख ३० मा र 'तुलसी' भदौमा रिलिज हुँदै छ । 'एउटै धारको फिल्म मात्रै के बनाइराख्नु भनेर कमेडीमा हात हालेको' ऋचा-पति शंकरले भने, 'दर्शकलाई फरक स्वाद दिन ।' Source: Ekantipur

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।