कमजोर निगरानी

काठमाडौ, चैत्र २४ - नाम, थर, ठेगाना नखुलेको पात्र नै प्रमुख रहेको फिल्म 'निगरानी' उपत्यकामा चलिरहेको छ । साने भनेर बोलाइने उक्त केटो ढाँटछल नगर्ने स्पष्ट स्वभावको छ । यही स्वभावका कारण उसलाई एक दम्पतीले पाल्छन् र नयाँ परिचय दिन्छनन्- आदित्य ।

परिस्थितिले आदित्य (मुकेश ढकाल) लाई उसकै पालनकर्ताको हत्या गरेको अभियोगमा जेल पुर्‍याउँछ । तर उसलाई जेल सजायभन्दा पनि अनाहकको अभियोग पीडादायी हुन्छ । त्यसैले ज्यान मुद्दाको सजाय काटिसकेपछि उसको लक्ष्य वास्तविक हत्यारालाई पहिचान गरी आफूलाई निर्दोष साबित गर्नु हुन्छ । तीनजनाको उक्त परिवारमा बाबुआमाको हत्या गरिएपछि जाह्नवी (अरुणिमा लम्साल) एक्लिएकी हुन्छ ।

निर्माता सुशील पोखरेल स्वयंले लेखेको कथामा दुई पात्रसमेत देखिएका छन्, इन्स्पेक्टर अर्जुन (विराज भट्ट) र क्राइम रिपोर्टर सबु (जेनिसा केसी) । राजेन्द्र उप्रेती निर्देशित फिल्मलाई मल्टिस्टारर बनाउने नाममा भूमिकाविहीन बनाइएको छ । दुई पात्रलाई पेसाको ट्याग लगाइदिएर मात्र फिल्म उम्किएको छ । सँगैका सहकर्मी बर्दीमा देखिए पनि लामो कपाल पालेको अर्जुन कुनै कोणबाट प्रहरी इन्स्पेक्टर लाग्दैन ।

घाँटीमा क्यामेरा झुन्ड्याएर हिँड्दैमा सबुलाई पनि क्राइम रिपोर्टर कसरी मान्ने ? अर्जुनको पछि लाग्नु र प्रेमको भीख माग्दै हिँड्दैमा उसलाई फुर्सद हुँदैन । फिल्मले कुनै पनि पात्रलाई सार्थक बनाउन सकेको छैन । जबकि टुहुरी बन्न पुगेकी जाह्नवीको स्वभावमा गम्भीरताको कुनै छनक देखिँदैन । सधैं चञ्चले स्वभावमा देखिने ऊ अन्तमा बाबुआमाको तस्बिर देखेपछि मात्रै भावुक त हुन्छे । तर उसलाई उत्तिखेरै आदित्यको मायामा रमाएको देखाइन्छ ।

एक/दुई ठाउँमा चुम्बन दृश्य तथा तीन/चारवटा फाइट र गीतलाई जोडजाड गर्दैमा फिल्म चल्छ भन्ने मानसिकता 'निगरानी' मा झल्कन्छ । फिल्मले कुनै पनि बेला दर्शकलाई विषयवस्तुसँग बगाउन सक्दैन । घटनाहरू यसरी आइलाग्छन्, जसको साइड इफेक्ट नै पर्दैन । लाग्छ, सबै घटना मूलकथा र पात्रलाई अघि बढाउन लादिएका हुन् । शीर्षकै सार्थक नलाग्ने फिल्मको स्त्रिmप्ट तथा संवाद विकास आचार्यले लेखेका हुन् । कृष्ण श्रेष्ठको छायांकन रहेको 'निगरानी' मा कविराज गहतराजको नृत्य निर्देशन र हिमाल केसीको द्वन्द्व छ । फिल्मका गीत र द्वन्द्व भने तुलनात्मक रूपमा केही हेर्न लायक छन् । इकान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।