हलिउड हिरोइन डेमी मोर नेपालमा

काठमाडौं, चैत २४ (नागरिक)- भैरहवामा हलिउडकी हिरोइन डेमी मोरसँग जम्काभेट हुँदा गायक राजेशपायल राई छक्क परे। उनलाई सुरुमा त विश्वासै लागेन। तर, सन् ९० को दशककी सबैभन्दा महँगी हिरोइन डेमी उनकै अगाडि उभिएको यथार्थ थियो।

हलिउडमा एक करोड डलर पारिश्रमिक लिने पहिलो अभिनेत्री डेमी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको निम्तोमा नेपाल आएकी हुन्। सन् २००३ मा ‘चार्लिज एन्जल्सः फुल थ्रोटल'बाट भिलेनको रूपमा पुनरागमन गरेकी डेमीलाई चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा सहभागिता जनाउने योजना माइती नेपालको हो। केही दिनअघि नेपाल आएकी डेमीले लुम्बिनी र बुटवलको सीमा क्षेत्र भ्रमण गरिन् भने माइती नेपालको अवलोकन समेत गरेकी छिन्। सुटुक्क नेपाल आएकी डेमी बिहीबार नै स्वदेश फर्कन लागेकी छिन्।

माइती नेपालको देशविदेशमा चल्ने अभियानमा अभिनेत्री डेमीसँग राजेशपायल राईसहित अरू नेपाली सेलिब्रिटीसमेत सहभागी हुनेछन्। अभियानका लागि उनी फेरि नेपाल आउने सम्भावना छ।

भैरहवामा भेट हुँदा राजेशपायल र डेमीबीच अनुराधाले नै चिनापर्जी गराइदिएकी थिइन्। राजेशले आफ्नो ल्यापटपमा भएको ‘दर्शन नमस्ते' र झापाको कन्सर्टको दृश्य डेमीलाई देखाएका थिए। ‘तपाई नेपालको स्थापित कलाकार हुनुहुँदोरहेछ भनेर उहाँले भन्नुभयो,' राजेश सम्झिन्छन्।

४८ वर्षीया डेमी काठमाडौंमा चलिरहेको हलिउड फिल्म ‘नो स्ट्रिङस् एटेच्ड'का हिरो एस्टन कुचरकी पत्नी हुन्। नागरिक

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।