पाँचथर, फाल्गुन २३ - टेलिभिजन प्रस्तोता सुरज श्रेष्ठले गायक राजेश पायल राईको एक्लो जीवनप्रति व्यंग्य गर्दै अर्को उपमा दिए । ‘हाम्रो काले सुन्दरलाई सुन्दरी चाहिएको छ’उनले थपे,‘काली सुन्दरी राजेशलाई अनुपम उपहार हुन सक्छ ।’
यत्ति नै खेर दर्शन, नमस्ते भन्दै पायल देखा परिहाले । ‘राई इज किङ’ को उपमा पाएका उनलेले कोही छ ? भन्नासाथ समर्थनमा हुटिङ र तालीको फोहोरा छुट्यो । नायक राजेश हमाल सोमबार फिदिम आउने खबर सुनेका २७ वर्षीय अविवाहित गायकले हमाल कि राई हेण्डसम भनेर दर्शकलाई सोधे । प्रत्युत्तरमा जवाफ आयो, ‘राई नै किङ ।’
जिल्लाको दक्षिणी क्षेत्रमा आयोजित लिम्बा गाविस स्थित मिक्लाजोङ महोत्सवको अवसरमा आइतबार आयोजित सांगीतिक कार्यक्रममा उनले तीन हजार स्रोतासामु दोस्रो पटक यहाँ आउँदा समेत कोही नपाएको गुनासो गरे । अघिल्लो वर्ष फिदिममा आयोजित कार्यक्रममा राम्री भेटे बिहे गर्ने ईच्छा व्यक्त गरेका खोटाङ्गे गायकले ‘आई लभ यू’ भन्दै भिडमा चिहाइरहेका थिए । आफू स्रोताको रोजाइमा परेको बुझेपछि त्यसको वास्तै नगरी उनले भने,‘मैले त कोही पनि देखिन हाऊ ।’
त्यसपछि त के चाहियो र ? दर्शकलाई निर्णायक मानेर माया पाउन खप्पिस देखिएका पायलले सुरुमा उनीहरुकै रोजाइको गीत गाए । उनले हालसालै बजारमा ल्याएको आफ्नो एल्वम राई इज किङ र दर्शन नमस्तेका चर्चित गीत गाएर दर्शकहरुलाई भरपूर मनोरञ्जन दिए ।
धेरैपछि भेट भो, बल्ल बल्ल भेट भो, दर्शन नमस्ते बोलको गीतबाट वाहवाही र ताली बटुलेका पायलले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि जोसिंदै शिरै फूल्यो शिरबन्दी हातमा गलबन्दी गीतबाट दर्शकलाई मैदानमा उतारेका थिए ।
मिक्लाजोङ पर्यटन क्षेत्र विकास समितिले राईलाई दोस्रो पटक यहाँ ल्याएको हो । लिम्बाको जोरधारा खेलमैदानमा राईले आइतबार घाम अस्ताउँदासम्म पाँच घण्टा नन स्टप नाच्दै गीत गाएका थिए । उनले आफूसित गीत गाउन अनुरोध गरेपछि स्थानीय भीमा राईले सागर सरी चोखो मायामा साथ दिएकी थिइन् ।
बीच बीचमा दर्शकको ‘फीड ब्याक’ खोजिरहने गायकले दर्शकदीर्घामै गएर नाच्दै गीत गाएका थिए । १५ भन्दा बढी गीत नाच्दै गाउँदा पायल पसिनाले निथ्रुकै भिजे । उनले दर्शकलाई आफूसँगै गाउनमात्र लगाएनन् जीऊ मर्काइमर्काई नाच्न पनि बाध्य बनाए ।
राजेशले वैगुनी रै’छौ मायालु, शिरै फुल्यो शिरबन्दी, के भयो भयो आफैंलाई थाहा छैन्, बल्ल भेट भो आदाङ्वे, सँगसँगै बाँच्न पाउँ, के भयो भयो, मोहनी लाग्ला है, संघर्ष हो जीवन, क्या मजा वा क्या मजा लगायतका सुमधुर गीत सुनाएका थिए । साभार: इकान्तिपुर
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।