नक्कली बन्दुक, सक्कली झमेला

सन्तोष रिमाल, काठमाडौं, फागुन २५- फिल्म 'गुडबाई काठमाडौं'मा द्वन्द्वकालको काठमाडौं देखाउनु थियो निर्देशक नवीन सुब्बालाई। दृश्यलाई यथार्थजनक बनाउन उनले सक्कली हातहतियार सहितको सुरक्षाकर्मी माग गरेका पनि हुन्। तर, पाएका थिएनन्।
दृश्य फितलो नहोस् भनेर उनले सक्कली जस्तै देखिने बन्दुक हङकङबाट मगाए। अस्वस्थताका कारण उनी उपस्थित हुन नसके पनि उनका सहायकहरूले मंगलबार राजधानीको व्यस्त पर्यटकीय शहर ठमेलमा नेपाल बन्दको दृश्य खिचे। सुरक्षाकर्मीले गस्ती गरिरहेको ठाउँमा अभिनेता कर्म 'क्रस' भएको दृश्य उनीहरूले करिब एक घन्टामै सकाए। तर, त्यही सक्कली जस्तै लाग्ने नक्कली बन्दुकको टुप्पो झोलाबाट बाहिर निस्किएपछि भने 'गुडबाई काठमाडौं' युनिटले दिनभर तनाव झेल्नुपर्‍यो।

स्थानीयबासीले 'दिउँसै हतियार बोकेर हिँडेको' खबर सोह्रखुट्टे प्रहरी प्रभागलाई दिएपछि मुख्यसहायक निर्देशक राजेश विश्वकर्मा र सहायक निर्देशक किरण पौडेललाई प्रहरीले नियन्त्रणमा लियो। 'एसएलआर जस्तै हतियार छ। सोध्दा सुटिङको लागि ल्याएको भन्छन्। क्यामेरा पनि छैन। कलाकार पनि छैनन्। पब्लिकले डराएर फोन गरेपछि हामीले सोधपुछ गर्न नियन्त्रणमा लिएका हौं,' इन्सपेक्टर शिव सिंहले भने। फिल्मको आवश्यक कागजपत्र हेरेपछि विश्वकर्मा र पौडेललाई छोडेको उनले जानकारी दिए।

ठमेलजस्तो व्यस्त ठाउँमा हतियारसहितको सुटिङ गर्दा पुलिसलाई जानकारी नदिएर फिल्म टोलीले गल्ती गरेको उनले बताए। 'हतियार नक्कली हो कि सक्कली पब्लिकले चिन्छ? नक्कली हतियार बोकर हिँड्नु पनि गैरकानुनी हो नि!' उनले भने, 'कुनै ठाउँमा कोणसभा गर्दा त प्रहरीलाई जानकारी गराउनु पर्छ। पब्लिकमा त्रास पैदा गर्ने खालको सुटिङ गर्दा त जानकारी दिनु पर्‍यो नि।' जानकारी दिएको भए पुलिसले सुटिङलाई सहज बनाउन प्रयास गर्ने उनले बताए।

फिल्मका सहायक निर्देशक पौडेलले भने सुटिङ गरेको थाहा पाउँदापाउँदै पुलिसले अनावश्यक दुःख दिएको बताए। 'बैशाली होटल र काठमाडौं गेस्ट हाउसको बीचमा सुटिङ थियो। त्यहाँ रहेका ट्राफिक र पुलिसले मास कन्ट्रोल गर्न सघाएका थिए,' पौडेलले भने, 'काम सकाएर फर्कदै गर्दा पुलिसले भ्यान रोकेर केरकार गर्न थाल्यो। हतियारको बारेमा अनेक थोक सोधे। हामीले सुटिङ गरेर फर्किएको बताउँदा बताउँदै समातेर लगे।' अमृत क्याम्पस नजिक राखेको फिल्म युनिटको भ्यानतिर जाँदै गर्दा पुलिसले समातेको उनले
जानकारी दिए।

चौकीभित्र पनि तुच्छ शब्द प्रयोग गरेर अपमान गरेको उनको भनाइ छ। 'मोबाइल खोस्न खोजे। हामी अपराधी होइनौं राम्रो व्यवहार गर्नुस् भन्दा अनुन्धान पुरा नभएसम्म तिमीहरू अपराधी नै हौ भनेर थर्काए,' यही घटनाले मंगलबारको बाँकी सुटिङ पूरा गर्न नसकेको पौडेलले बताए।

फिल्मको निर्मातामध्येका एक पदम सुब्बाले पुलिसले अनावश्यक झमेला दिएको आरोप लगाए। 'सबै कागज देखाउँदा पनि अनुन्धान बाँकी छ भन्दै लम्ब्याउन खोजेका थिए। मिडियाको भिड लागेपछि बल्ल छोडिदिए,' उनले भने।

यो घटनालाई नेपाल चलचित्र निर्देशक समाजले प्रहरी ज्यादती भन्दै भर्त्सना गरेको छ। 'राज्यको एउटा निकायले फिल्म बनाउने अनुमति दिन्छ। अर्कोले अवरोध गर्छ। यस्तो ज्यादती नदोहोर्‍याउन हामी पुलिसको ध्यानाकर्षण गराउँदछौं,' समाजका अध्यक्ष केपी पाठकले भने। साभार: नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।