Click Here To Watch Video News
Click Here To Listen Audio News
Click Here To See Photos (Goldhap Camp In Fire (March 23rd 2011
दमक, चैत्र ८ - भूटानी शरणार्थी बस्ने झापा र मोरङका दुई शिविरमा मंगलबार लागेको आगलागीमा करिव एक हजारभन्दा बढी छाप्रा खरानी भएका छन् । आगलागीमा लाखौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।
बिहान झापाको गोलधाप शिविरमा लागेको आगो निभ्न नपाउँदै मोरङको शनिश्चरेस्थित शिविरमा पनि आगलागी सुरु भएको थियो । मोरङको शनिश्चरेमा मंगलबार लागेको आगलागीमा करिव तीन सय छाप्रा जलेर खरानी भएका छन् । शिविरको सेक्टर 'बी' र 'सी' मा लागेको आगलागीमा ती छाप्रा जलेका छन् । आगलागी अपरान्ह नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
गोलधापस्थित भूटानी शरणार्थी शिवरमा मंगलबार बिहान भीषण आगलागी हुँदा करिव सात सय छाप्रा जलेर नष्ट भएको छ । आगो नियन्त्रणमा आए पनि केही शरणा बालबालिकाहरु सम्पर्कमा नरहेकाले खोजी जारी छ ।
करिव ८ सय छाप्रा भएको उक्त शिवरमा बिहान सात बज्नु केही अगाडी आगलागी सुरु भएको थियो । आगो करिव दुई घण्टाको प्रयासमा नियन्त्रणमा लिइएको हो ।
आगो नियन्त्रणमा लिनका लागि दमक, मेची र भद्रपुर नगरपालिकाको दमकल परिचालन गरिएको थियो । स्थानीयवासीका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीलाई पनि आगो नियन्त्रणमा परिचालन गरिएको थियो ।
हाल शरणार्थीहरुलाई शिविर रहेको स्थानको उत्तरपट्टी राखिएको छ । उनीहरुलाई तत्काल राहत कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा राष्ट्रसंघीय शरणार्थी नियोगका प्रतिनिधि र स्थानीय प्रशासन बीच छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्टले जानकारी दिए ।
आगलागी पछिको भाग दौडमा करिव २५ जना शरणार्थी घाइते भएका छन् । उनीहरुलाई बिभिन्न स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।
तेस्रो मुलुकमा भएको पुनस्थापनाका कारण उक्त शिविर आउँदो अप्रिल पहिलो सातादेखि बन्द गर्ने तयारी भइरहेको थियो । हाल त्यहाँ करिव चार हजार जनसंख्या रहेको छ ।
बि।सं। २०६४ सालमा भएको आगलागीबाट उक्त शिविरका सबै छाप्रा जलेको थियो । त्यस बेला छाप्राहरु दमकलसमेत छिर्न नसक्ने गरी बनाइएका कारणा आगो नियन्त्रणमा लिन कठिनाइ भएको निष्कर्ष निकालिएपछि पछि दमकल गुड्न सक्ने गरी छाप्राहरु बनाइएको थियो ।
शरणार्थी शिविरमा आगलागी, राहतको पहल
आगलागीबाट बिचल्ली बनेका गोलधाप शिबिरका भुटानी शरणार्थीहरुलाई खाना खुवाउनका लागि राष्ट्रसंघीय शरणार्थी नियोगले तत्काल खाद्य सामग्री बाँड्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठका अनुसार नेपाल सरकारका तर्फबाट आगलागी पीडित परिवारलाई १५ सय रुपैंयाँका दरले दिने निर्णय भएको छ । आगलागीको क्षतिको विवरण संकलन भइरहेकोले बताइएको छ ।
श्रेष्ठले आगलगीबाट ध्वस्त शिबिर उठाएर तत्कालै अन्त लैजाने बिषयमा पनि नियोगसंग प्रारम्भिक कुराकानी भइरहेको बताएका छन् । 'यस बिषयमा भोलीमात्र निर्णय हुन्छ,' उनले भने ।
नियोग श्रोतका अनुसार नियमित कार्ययोजना बिना शिबिर सार्न सकिंदैन । त्यसकारण गोलधापमै अस्थायी छाप्रा बनाएर केही दिनका लागी शरणार्थीलाई राखिने योजना रहेको छ ।
आगो निभाउने क्रममा २९ जना ब्यक्ति सामान्य घाइते भएका छन् । बिहान साँढे सात बजेतिर शिबिरको सेक्टर बिका नरेश तिम्सिनाको छाप्राबाट आगो सुरु भएको भनिएको पनि कारण खुल्न नसकेको प्रजिअ श्रेष्ठले बताएका छन् ।
सूरु भएको आगोबाट शिविरको २ भाग मध्ये एक भागका सवै छाप्रा जलिसकेपछि आगो नियन्त्रणमा आएको बताइएको छ । आगो निभाउने क्रममा शिबिर नजिक रहेका स्थानीयको २ वटा घर पनि भत्काइएको छ ।
७ सय ४८ वटा छाप्रा रहेको उक्त शिविरमा ४ हजार ३ सय २९ जना जनसंख्या रहेका छन् ।
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।