खर्साङको बगानदेखि काठमाडौंसम्म

दीपेन्द्र लामा, काठमाडौं, चैत ७- भिरालो चिया बगानमा पानी जम्दैन। तर, उनको मन कुनै चिया बगान होइन। त्यहाँ जे पनि जम्न सक्छ। एकदिन उनको मनमा फिल्म खेल्ने रहर जम्यो र कलाकार बने। काठमाडौंमा जन्मेर खर्साङको चिया बगानमा हुर्केका अर्पण थापाले अभिनय विधा रोजेर न्याय गरे कि अन्याय? अथवा उनको कलामा जादु कति भरिएको छ? जवाफ फिल्म 'ब्याच नम्बर १६'ले दिन्छ, जुन अहिले देशका सहरहरूमा चल्दैछ। यसमा एक महत्वाकांक्षी धोकेबाज सशस्त्र प्रहरी अधिकृतको भूमिका उनले पाएका छन्। 'कसै कसैले मलाई साँच्चिकै पुलिस ठानेछन्, यसलाई मेरो अभिनयको सफलता मान्छु,' उनी प्रफुल्ल छन्। उनले खेलेको अर्को फिल्म 'सिक सिटी' पनि अहिले काठमाडौंको जयनेपाल हलमा लागिरहेको छ। गत मंसिरमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवको 'नेपाली सेक्सन'मा यो उत्कृष्ट भएको थियो। यसमा पनि उनको वाहवाही सुरु भइसकेको छ।

१८ वर्षपछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आइपुगे झैं अर्पण पनि नेपाली फिल्मका दर्शकसँग एकदम नजिकिएका छन्। जबकि फिल्मसँग उनको सम्बन्ध दस वर्षअघि मुम्बईमा गाँसिएको हो। मुम्बईस्थित किशोर नमितको इन्स्टिच्युटमा उनले फिल्म अभिनयको एक वर्षे तालिम लिएका थिए।

त्यहाँ तीन महिनासम्म रुन, कराउन र हास्न नसिकाउँदा उनलाई पैसा खेर गए झैं लागेको
थियो। तर, पछि उनी आफैं गलत साबित भए।

मुम्बईमा बटुलेको एउटा नमिठो प्रसंगले उनको गोरेटो बदलिएको हो। अनेक हन्डर खाएपछि एकदिन उनले 'सी' ग्रेड हरर फिल्मका एक 'डाइरेक्टर'को निम्तो पाए। अँध्यारो गल्लीमा अनुहार उज्यालो बनाउँदै उनी एउटा पुरानो घरको चोटामा उक्लिए। हिरोको रोल दिन डाइरेक्टर सहमत भए। तर, एउटा शर्तमा, 'हिरोले खाएको फुटेज हिरोले नै तिर्नुपर्ने।'
शर्त सुनेर उनको मन भर्‍याङबाट खस्यो। उनलाई लाग्यो, मुम्बई एउटा महासागर हो, जहाँ उत्रिन होइन डुब्न पनि सजिलो छैन।

बरु उनले सोचे, जमानामै 'लाहुरे', 'साइनो' र 'चिनो' जस्ता स्तरीय फिल्म दिने नेपालको फिल्म उद्योग बलियो भइसकेको होला। त्यसपछि उनी काठमाडौं फर्के। तर उनले सोचेजस्तो यहाँ थिएन। उनलाई नेपाली फिल्म खेल्ने जाँगर नै चलेन। सानातिना व्यापारमै अल्झिए।

तर, कहिलेकाही अवसरले बाटो ढुक्छ भने झैं पाँच वर्षपछि बेलायती फिल्म निर्देशक मुरे केरले अर्पणलाई काठमाडौंको भीडबाट निकाले। मुरेको फिल्म 'सिक सिटी'मा उनी सहायक निर्देशकका रूपमा मात्र आवद्ध भएका थिए। तर छानिएका केटाले नसक्ने भएपछि मुरेको इच्छामा उनी आफै हिरो बने। त्यही 'सिक सिटी'को प्रोमो युट्युबमा हेरेका निर्देशक पिताम्बर पाण्डेले उनलाई 'ब्याच नम्बर १६'मा खेलाएका हुन्।

अर्पणको बाल्यकाल खर्साङमा हजुरआमाको घरमा बितेको हो। घरनजिकै बगान थियो। चियाका सुकेका डाँठ बटुलेर डाँडामा आगो बाल्दै मादल बजाउनु हरेक हिउँदमा उनको दैनिकी हुन्थ्यो। त्यही नाचगानले आफूभित्र कलाकार जन्मिएको अनुमान उनी लगाउँछन्।
उनको झेलाइमा काठमाडौं एउटा रहस्यमय सहर हो। यही सहरले उनको फिल्म खेल्ने सपना पूरा गर्दैछ, तैपनि उनलाई खर्साङजति रमाइलो लागेको छैन। 'यहाँ मान्छेहरू आत्मीयता त देखाउँछन्, तर स्वार्थ जोडिएको हुन्छ,' उनले तुलना गरे, 'खर्साङमा चाहिँ मान्छेहरूले राम्रो कामको तुरुन्तै तारिफ गरिदिन्छन्। त्यहाँ एकअर्काको खबर पाउन फेसबुकको खाँचो छैन।'

फिल्ममा अभिनय गर्नलाई उनको पनि शर्त छ, ‘कलाकारलाई निर्देशकले कठपुतली नबनाउने, कलाकारलाई बाँध्ने वा खुम्च्याउने होइन फैलिने मौका दिइनु पर्छ।' कठपुतली प्रवृत्तिले नेपाली फिल्मको अभिनय यान्त्रिक बनेको उनको मूल्यांकन छ।


फिल्म खेल्ने सन्दर्भ उठ्दा उनलाई हजुरआमाले 'गुन्डा कहिल्यै नबन्नू, अमिताभ बच्चनजस्तो मात्र खेल्नू' भन्थिन्। तर, रिलिज भएका दुवै फिल्ममा उनको रोल बदमास केटोको छ। उनी चिन्तित छन्, 'हजुरआमालाई दुवै फिल्म मन पर्ने छैन।'

उनको गाउँमा ठूलो चौर थियो, जहाँ 'चार/आठ'को फुटबल टुर्नामेन्ट चल्थ्यो। चार फिट आठ इन्चभन्दा अग्लाले भाग लिन नपाउने। तर, त्यसमा सहभागी हुन उनी कहिले पूरै सास फ्याँकेर त कहिले पेटलाई फेटाले कसेर नाप्न जान्थे। त्यसो गर्दा उचाइ केही इन्च घट्थ्यो।
फिल्ममा पनि उनी यही सूत्र लगाउँछन्, आफू यथार्थमा जे छ, त्यसलाई परिवर्तन गर्ने। उनी 'हिरोइज्म'भन्दा 'क्यारेक्टर'लाई प्राथमिकता दिन्छन्, 'हिरोइज्मको दायरा सीमित हुन्छ तर क्यारेक्टर जतिसुकै लचिलो बनाउन सकिन्छ।'

मुरे र पिताम्बरका लागि फिल्म 'आउट साइडर' र 'ठमेल'को स्क्रिप्ट लेखिरहेका अर्पणले मिलेसम्म दुवैमा अभिनय पनि गर्नेछन्।

सहरका मान्छेलाई चियाको पत्ताको मात्र स्वाद थाहा छ। तर, उनले चियाको फूलको रस र दानाभित्रको गुदीसमेत चाखेका छन्। भित्री स्वाद पर्गेल्ने यो खुबी उनी स्क्रिप्ट र अभिनयमा अपनाउन चाहन्छन्। साभार: नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।