बिच क्रिकेट खेल्दै मनीषा

काठमाडौं, पुस २९ (नागरिक) - अभिनेत्री मनीषा कोइराला बिच क्रिकेटको सदभावना दूत भएकी छिन्। होटल र्‍याडिसनमा बुधबार आयोजित कार्यक्रममा उनलाई एनसेल बिच क्रिकेटको सदभावना दूत नियुक्त गरिएको हो। पर्यटन वर्ष २०११ को अवसरमा आयोजना हुन लागेको बिच क्रिकेटको यो दोस्रो संस्करण हो।

कार्यक्रममा अभिनेत्री मनीषा कोइरालाले भनिन्, 'नेपालमा अन्तर्राष्ट्रिय खेल खेल्न सम्भव छ। यहाँको हावापानी खेलकुद सुहाउँदो छ। अझ बिच क्रिकेट त काठमाडौंमै खेलाउन सकिन्छ। बरू खेल विशेषज्ञले त्यसबारे ध्यान दिनुपर्छ।' नेपाली युवाहरूमाझ क्रिकेट र फुटबल प्रसिद्ध छ। यसको उदाहरणको रूपमा छोटो समयमै फस्टाएको क्रिकेटलाई उनले उद्धृत गरिन्। उनले खेलमा लाग्नुभन्दा पनि यस क्षेत्रलाई सघाउन इच्छुक रहेको जानकारी गराइन्।

'म खेलका विशेषज्ञलाई सघाउन सक्छु। खेलकुदसम्बन्धी संस्था खोल्ने इच्छा र योजना चाहिँ छैन,' उनले प्रष्ट्याइन्। बलिउड कलाकारहरूले धमाधम क्रिकेट टिम किनिरहेको सन्दर्भमा मनीषाले भने टिम किन्ने सोच नरहेको बताइन्, 'खेलकुदमा रुचि छ भन्नुको मतलब टिम नै किन्छु भन्ने होइन।'

केही समयअघि नेपाली क्रिकेट मैदानको फोटो संकलन गरेर आफूले भारतीय क्रिकेट स्टार सौरभ गांगुलीसँग कुरा गरेको समेत सुनाइन्। 'उनी नेपाली क्रिकेटलाई सहयोग गर्न इच्छुक देखिएका छन्,' उनले भनिन्। एनसेल बिच क्रिकेटमा मनीषाले पनि खेल्ने छिन्।

सांग्रिला क्रिकेट एकेडेमीले एनसेल बिच क्रिकेटको आयोजना गर्न लागेको हो। कार्यक्रममा बोल्दै सांग्रिला क्रिकेटका अमिर अख्तरले भने, 'नेपालको खेलकुद विकासमा मनीषा कोइरालाको सहभागिताले उत्साही बनाएको छ। आगामी दिनमा पनि उनी खेलकुद गतिविधिमा सहभागी हुन चाहन्छिन्,' उनले भने।


अमिरका अनुसार सबैका लागि खेलाइने खेलको सुरुवात मनीषाले गर्नेछिन्। एनसेलकी सूचना अधिकृत सञ्जु कोइरालाले खेलबारे कर्पोरेट हाउसको उत्साह सकारात्मक रहेको बताइन्। अझ मनीषाको सहभागिताले एनसेललाई पनि सहयोग पुगेको उनले जनाइन्।
मनीषाका अनुसार काठमाडौं र पोखराको मौसमले सबै किसिमको काम गर्न साथ दिन्छ। 'मलाई क्रिकेट हेर्दा मज्जा लाग्छ। बिच क्रिकेट एकपटक खेल्छु,' उनले दोहोर्‍याइन्।

नेपालका पूर्व प्रशिक्षक रोय डायसले एकपटक आफूसँग काठमाडौंमा क्रिकेटको राम्रो रंगशाला बनाउन सम्भव रहेको बताएको पनि उनले सुनाइन्।


पर्यटन वर्षको अवसरमा नेपालको पर्यटनलाई प्रवर्द्धन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित भएको र उक्त कार्यमा बिच क्रिकेटले सघाउ पुग्ने उनको आशा छ। 'पर्यटन र खेललाई सँगै लान सके नेपालमा दुवै क्षेत्र फस्टाउँथ्यो,' उनले भनिन्।


आगामी फागुन १३ मा धादिङको कुरिनटारमा सुरु हुने एनसेल बिच क्रिकेटमा ३६ टोलीको सहभागिता रहनेछ। यी टोलीहरू अन्तर संस्थान र बैंकमा विभाजित भएर खेल्ने छन्। कुरिनटारस्थित रिभरसाइड स्प्रिङमा सञ्चालन हुने खेलमा फागुन १३ र १४ मा संस्थानले खेल्ने छन्। त्यस्तै फागुन २० र २१ मा बैंकहरूले खेल्नेछन्। साभार: नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।