मुम्बईबाटै निखिलको फिल्म

मुम्बई, पुस २९ - झन्डै एक वर्षको मुम्बई बसाइपछि अभिनेता निखिल उप्रेती नयाँ नेपाली फिल्ममा देखा पर्दै छन्, त्यो पनि बलिउडबाटै बन्न लागेको नेपाली फिल्ममा । सेलिबि्रटिज स्टारडस्टको ब्यानरमा सुरेश सुमनको प्रस्तुति रहेको 'परिचय' मार्फत उनी पुनः नेपाली फिल्मी दुनियाँमा परिचय दिन आउन लागेका हुन् ।

दर्जनांै धारावाहिक हिन्दी टेलिसिरियलको निर्माण गर्दै आएका सञ्जय नरेन्द्रद्वारा निर्माण गर्न लागिएको यस फिल्मलाई हिन्दी चलचित्र गदरका निर्देशक अनील शर्माको सहायक रहेर काम गरेका आकाश पाण्डेले निर्देशन गर्नेछन् । आकाशकै कथा रहेको फिल्ममा संवाद नरेन्द्र तिमिल्सेना निलेसले लेखेका छन् ।

बैंकक, काठमाडांै र पोखरामा छायांकन गरिने 'परिचय'मा शिखर सन्तोषको संगीत रहेको छ । तीनवटा गीतको रेर्कडिङ मुम्बई अन्धेरीस्थित कुमार सानुको स्टुडियोमा भइसकेको छ । उदितनारायण झा, साधना सरगम, सुनिधि चौहानलगायतले स्वर दिएका छन् ।

फिल्ममा निखिल विल्कुलै नयाँ गेटअप हुने दाबी गरिएको छ । सुरुमा साधारण युवाको भूमिकामा देखिने उनी पछि सफल, धनी र आधुनिक युवाको रूपमा हुनेछन् । निखिलको जोडीको रूपमा बलिउडकै एक सफल नायिकालाई लिइने निर्देशक आकाश पाण्डेले जनाए । पाण्डेले हिन्दी र नेपाली फिल्मी कलाकारबीच सम्बन्ध स्थापना गर्न र यहाँको प्रविधिलाई नेपाल भित्र्याउन फिल्म बनाउन लागिएको बताए ।

फिल्ममा साधारण युवक र फिल्मी स्टार बन्ने लक्ष्य बोकेकी अति महत्त्वाकांक्षी युवतीबीच कसरी सम्बन्ध अघि बढ्छ र विवाहपछि कस्ता समस्याहरू उत्पन्न हुन्छन् भन्ने देखाउन खोजिएको पाण्डेले बताए । 'इमोसनल लभस्टोरी, एक्सन र नयाँ रेर्कड राख्ने खालका स्टन्डहरू हुनेेछन्,' उनले भने ।

केही दिनमै सुटिङ सुरु गर्न लागिएको फिल्म एक करोडभन्दा बढीको लागतमा बनाउन लागिएको निर्माता सञ्जय नरेन्द्रले बताए । 'स्तरीय बनाउन कुनै कन्जुस्याइँ हुनेछैन,' उनले भने । नायक निखिलले चाहिँ मुम्बईमै बसेर फिल्मी करिअर अघि बढाउने योजना सुनाए । 'यतै बसेर पनि वर्षमा दुई/तीनवटा नेपाली फिल्ममा अभिनय गर्ने योजना छ,' उनले भने, 'यो फिल्म सकिनेबित्तिकै अर्को महत्त्वाकांक्षी प्रोजेक्ट सुरु गर्दै छु ।'

चलचित्रको छायांकन यसै फेब्रुअरी महिनाबाट सुरु हुने निर्माण पक्षले जनाएको छ ।

साभार: कान्तिपुर अनलाइन

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।