'माल्भिकालाई स्कट र झरनालाई साडी'

स्मृति ढुंगाना, काठमाडौं, पुस १९- पूर्व मिस नेपाल उषा खड्कीलाई आजभोलि भ्याइनभ्याई छ। गत असारदेखि आफ्नो बुटिक सञ्चालनमा ल्याएकी उषाले करिब सात महिनामै राम्रो व्यापार गर्न सफल भएकी छिन्। उनको बुटिक 'यु आर स्टाइलिस्ट'ले आजसम्म धेरै ग्राहकको रोजाइ पूरा गरिसकेको छ। कुपन्डोलस्थित बुटिकमा सबै किसिमका पहिरन तयार पारिन्छ।
'अधिकांश ग्राहक सेलिब्रेटीको स्टाइल र ड्रेसअपबाट प्रभावित हुन्छन्,' उनले भनिन्। पछिल्लो समयमा उनले डिजाइन गरेको 'ह्युमेन लालीगुराँस'ले मिस कलेज प्रतियोगितामा उत्कृष्ट पहिरनको उपाधि जितेको थियो। प्रायः २७ वर्षभन्दा बढी उमेर समूहका ग्राहक उषाको बुटिकमा पुग्छन्। उनीहरूको लुगाको छनोट भारतीय सिरियलबाट प्रभावित भएको उनले पाएकी छिन्। 'आफ्नै डिजाइन लिएर आउने कमै भेटेको छुँ,' उनले भनिन्।

हाल: फेसनमा रहेको स्टाइलिस्ट प्यान्ट, स्टकिन, लामो टप, बुट र कोटको समायोजन सहरमा चल्तीमा छ। यो गेटअप नयाँ र पुराना दुवै पुस्तामा चलेको दावी छ उषाको। 'स्टकिन र लङ टप राम्रो फिगर हुनेलाई सुहाउने ड्रेस हो। विदेशमा पनि जाडोयाममा चल्ने फेसन हो यो,' उनले भनिन्।

'तीतो सत्य'की दीपाश्री निरौला उषाले डिजाइन गरेका पहिरनमा भेटिए अचम्म मान्नु पर्दैन। ऋचा घिमिरे, गायिका कोमल ओली र ब्युटिसियन कमला श्रेष्ठलाई पनि उषाले सजाइसकेकी छिन्। भर्खरै तीन फरक विज्ञापनमा उषाले फरकफरक पहिरन डिजाइन गरेकी छिन्। क्विक चकलेटको विज्ञापनमा केकी अधिकारीले लगाएको लुगा उनले नै बनाएका हुन्।

उनी अभिनेत्री मनीषा कोइराला र करिश्मा मानन्धरको ड्रेस डिजाइन गर्न इच्छुक छिन्। करिश्माका लागि गाउनको सोच छ उनको। करिश्मालाई रानी, भोइलेट र रोयल ब्लु रङको गाउन सुहाउने उनको अनुमान छ। स्टाइलिस्ट ब्लाउज र लाइट फिटिङ साडी पनि करिश्मालाई सुझाउँछिन् उनी। करिश्माले आफ्नो तौल घटाएको हुँदा फिटिङ ड्रेस ठिक हुने लागेको हो उषालाई।

मनीषाको लागि गुलाबी, आकाशे निलो र फिका सुनौलो गाउन तयार पार्ने उनको चाहना छ। पहिलेभन्दा पालतो जिउ भएकोले मनीषालाई पनि फिटिङ साडीमा राम्रो देखिने उनी बताउँछिन्। नेपालमा स्टाइल सेन्स भएका कलाकार थोरैमात्र भएकोमा उनी आश्चर्य मान्छिन्। उनका अनुसार रेखा थापा, करिश्मा र ऋचा घिमिरेको स्टाइल सेन्स राम्रो छ। अभिनेताहरू राजेश हमाल, भुवन केसी र राजवल्लभ पनि उनलाई स्टाइलमा उत्कृष्ट लाग्छ।

नेपाली फिल्ममा अभिनय गर्ने कलाकारलाई स्टाइल र फेसनको ज्ञान हुनुपर्ने उनी बताउँछिन्। महँगो ड्रेसअप गर्दैमा फेसनेबल र स्टाइलिस्ट हुन्छ भन्नेमा उनी विश्वास गर्दिनन्। कुनै दिन राजेश हमाल र राजवल्लवको ड्रेस डिजाइन गर्ने उनको सोच छ। हमालका लागि दौरासुरूवाल र प्रिन्टेड कोट उनले सोचेकी छिन्। राजवल्लभलाई भने क्याजुयल ड्रेस दिन चाहन्छिन्।

पूर्व मिस नेपालहरूमा माल्भिका सुब्बा, झरना बज्राचार्य र शीताष्मा चन्द स्टाइलिस्ट र फेसनेबल लाग्छ उनलाई। तीनै जना पनि उषाको सूचीमा छन्। माल्भिकालाई स्कर्ट, झरनालाई पालतो साडी र शीताष्मालाई क्याजुयल पहिरन सुहाउने उनको अवलोकन छ। लुक्सले पनि मान्छेको ड्रेसअप प्रभावित हुने उनी बताउँछिन्। 'गोरो मान्छेलाई सबैजसो ड्रेसअप सुहाउँछ भने कालो वर्णकालाई त्यो सम्भावना कम हुन्छ,' आइइसीमा फेसनको एक वर्षे प्रशिक्षण लिएका उषाले टिप्स दिइन्, 'त्यस्तै मानिसको उचाइले पनि ड्रेस छनोटमा प्रत्यक्ष प्रभाव पार्छ।'
स्टाइल र डिजाइन अनुसार एक हप्तादेखि १० दिनमा उनले पहिरन तयार पार्छिन्। उषा आफ्नो लागि समेत ड्रेस तयार गर्छिन्। जिन्सबाहेकका सबै ड्रेस आफै डिजाइन गर्छिन् उनी। 'आफ्नो लागि आफैले ड्रेस बनाउँदा आत्मविश्वास बढ्दो रहेछ,' उनको अनुभव हो यो। उनी यस्तै आत्मविश्वास आफ्ना ग्राहकलाई दिन चाहन्छिन्। साभार: नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।