रेखाको सत्यकथा

काठमाडौ, पुस १९ - नुवाकोटकी टुहुरी मैताकुमारीलाई गाउँकै एक युवकले काम लगाइदिने प्रलोभनमा काठमाडौं ल्याई क्याबिन रेस्टुराँमा काम लगाइदिन्छ । सहरमा उनी ग्राहकको पहिलो रोजाइको रेखा बन्छिन् । यही क्रममा मलेसियाबाट छुट्टीमा फर्केको लाहुरेसँग भेट हुन्छ ।

टुहुरो तर अल्लारे प्रकृतिको जीवनले रेखालाई पाँच दिनका लागि पच्चीस हजार तिरेर लैजान्छन् । यही क्रममा बाध्यतावश जीवन रेखालाई लिएर आफ्नै जन्मगाउँ लमजुङ पुग्छन् । सबैको अघिल्तिर रेखा आफ्नै श्रीमती भएको नाटक गर्छन् । नाटक साँच्चिकै प्रेममा बदलिन्छ । तर, रेखा गर्भवती बनेपछि जब रगत जँचाउन पुग्छिन्, एचआईभी देखापर्छ । आत्महत्याको बाटो रोजेर पनि बाँचेकी रेखा अन्ततः सचेतनाका अभियन्ता बन्छिन् ।

पहिलो गुरुङ चलचित्र 'पातें' निर्माण गरेका प्रितम गुरुङको लेखन, निर्देशन र निर्माण रहेको गुरुङ फिल्म 'र्‍हेगोर्‍हेगो'ले यसरी अज्ञानता र गरिबीले थिचिएकी एक चेलीको कथा उधिन्छ । युवा पुस्तालाई लक्षित फिल्म शनिबार बिहान राजधानीमा प्रिमियर शो गरियो । सत्यकथा दाबी गरिएको फिल्ममा अज्ञानता र क्षणिक मस्तीका कारण जीवन कसरी अँध्यारो बाटोतिर अघि बढ्छ भन्ने देखाउन खोजिएको छ ।

फिल्मको अन्त्यतिर रेखालाई एचआईभी सचेतनाको अगुवाको रूपमा प्रस्तुत गरेर उज्यालो र सकारात्मकताको सन्देश पनि दिन खोजिएको छ । फिल्म रोधींको १३औं प्रस्तुति हो । डिजिटल प्रविधिको फिल्मको नाम गुरुङ भाषामा जुराइए पनि भाषा, संस्कृति र परिवेशले गुरुङ हुन सकेको छैन । फिल्ममा पि्रतम गुरुङ, सुनीता गुरुङ, भाइराम श्रेष्ठ, आकृति गुरुङ, सुशीला थापा मगर, निर्मल कार्कीलगायतको अभिनय छ । साभार: कान्तिपुर अनलाईन

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।