भोजपुरी स्वाद

काठमाडौ, पुस २७ - फिल्मको नामै छ- 'सासू ससुराको प्यार' । पोस्टर या स्टिकर हेर्दा नै भोजपुरी फिल्मको पारा आउने कल्याण घिमिरे निर्मित यो फिल्म यतिबेला राजधानीलगायत मोफसलका दुई दर्जन हलमा प्रदर्शन भइरहेको छ । भोजपुरी गीतमै एउटा आइटम डान्स, छायांकन परिवेश र भाषा लवजले चल्तीको नेपाली फिल्मभन्दा भिन्न लागे पनि 'सासु ससुराको प्यार' खासमा उही 'फर्मुला सिनेमा' हो, जसमा भोजपुरी फिल्ममा पाइने सबैखालको मसलाको प्रयोग गरिएको छ ।

एउटा केटा र केटीको प्रेमबाट सुरु भएको फिल्म विस्तारै पारिवारिक माहौलमा पस्छ । केटा (कल्याण) ग्यारेजको सामान्य मेकानिक, केटी (गरिमा पन्त) सेठ बाउकी एक्ली छोरी । हैसियत नमिलेपछि स्वाभाविक रूपमा द्वन्द्व सुरु हुन्छ । केटी प्रेमका लागि आमाबुबा नै त्याग्न तयार हुन्छिन् र दुईजनाबीच विवाह हुन्छ । विवाहपछि पनि पारिवारिक जमघट र अन्य भेटघाटमा सुसुराली र ज्वाइँबीच हैसियतको द्वन्द्व चली नै रहन्छ । ज्वाइँ जतिसुकै थोरै भए पनि आफ्नै मेहनतको फलमा घमण्ड गर्ने, सुसराली खलक सम्पत्तिले सघाएर भए पनि आफ्नो ज्वाइँलाई आफूहरूकै हैसियतमा ल्याउन चाहने ।

केदार पौडेल निर्देशित फिल्ममा दुवैले आ-आफ्नै इज्जतको वकालत गरिरहन्छन् । ज्वाइँ सुसुराली खलकको केही खान नपर्नुमा आफूलाई इज्जतदार र स्वाभिमानी ठान्छन्, सुसुराली खलकचाहिँ पैसा नै दिएर भए पनि हैसियत बराबर बनाउनुमा । यस्तै द्वन्द्वबीच फिल्म अघि बढ्छ । अन्ततः एउटा दुःखद् घटना घटाएर दुवै पक्षलाई एउटै मिलनबिन्दुमा उभ्याइन्छ । र, सासु-ससुराको आफ्नो ज्वाइँप्रतिको प्यार प्रकट हुन्छ ।

यही कथानकभित्र फिल्ममा भोजपुरी आइटम डान्स, गीत, फाइट र कमेडी अटाइएको छ । विषयका हिसाबले फिल्ममा वर्गसंघर्ष देखाउन खोजिएको छ, ज्वाइँ-ससुरामार्फत । निम्न र सम्पन्न वर्गबीच कायम हुने वैैयक्तिक-सामाजिक सम्बन्धमा इतिहासदेखि चल्दै आएको हैसियतको लडाइँ फिल्ममा छ । कल्याण घिमिरेले घमण्डी र कथित स्वाभिमानी ज्वाइँका रूपमा र गरिमा पन्तले प्रेममा पागल हुने जिद्दी केटीको रूपमा ठीकै अभियन गरेकी छन् । एउटा भोजपुरी नृत्यमा उषा पौडेल देखिछिन्न् । सघाउने भूमिकामा लक्ष्मी गिरी, रमा थपलिया, नन्दु श्रीवास्तव लगायतकाको अभिनय छ ।

बीचबीचमा अनावश्यक कमेडी घुसाइएको फिल्म प्रस्तुति र प्रयोगको हिसाबले फितलो छ । छायांकन परम्परागत नै छ, मूल भोजपुरीबाट नेपाली बनाइएकाले फिल्मका संवादहरू असजिला लाग्छन् । एउटा गीतबाहेक अरूले खासै मन जाँदैन । फिल्म हेरिसकेपछि शीर्षकै नै अमिल्दो लाग्छ । निर्देशन एकदमै कमजोर । ८० लाख लगानी बताइएको फिल्मले निम्न र निम्नमध्यम वर्गीय दर्शकलाई भने केही हदसम्म तान्न सक्छ । साभार: कान्तिपुर अनलाइन

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।