र्‍याम्पमा बेहुला-बेहुली

काठमाडौं, पुस २६ - नेपा म्युजिकका डिजेहरूले नेवारी धुन बजाउन सुरु नगर्दै वर्ल्ड ट्रेड सेन्टरको ग्राउन्ड फ्लोरमा एघार जोडी बेहुला-बेहुली हेर्नेहरूको भीड धुइरिसकेको थियो । बिहीबारदेखि जारी 'नारी वेडिङ एन्ड गिफ्ट एक्स्पो' को अन्तिम दिन आइतबार 'लोप हुँदै गइरहेका विवाह वेशभूषा र गहना' सहित विभिन्न समुदायका बेहुला-बेहुली र्‍याम्पमा उत्रिँदै थिए, लिफ्ट र बरन्डामा समेत झुत्तिएका रमितेहरूको कौतुहललाई चिर्दै देखिए बाहुन समुदायको जोडी ।

राज थपलिया र रजनी भादेल विवाह पहिरनमा सजिएर देखिँदा रजनी केही लजाइन् बेहुलीझैं । राजको अनुहारमा साँच्चिकै बेहुला बन्दाको झैं चमक देखियो । यसपछि बिक्की खड्गी र रविना वैद्यको जोडी नेवारी बेहुला-बेहुलीका रूपमा र्‍याम्पमा देखिए । प्रायः दर्शकको ध्यान हाकु पटासीमा सजिएकी बेहुली रविनातिर खिचियो । बिक्कीले चिउँडोमा औंलाले हल्का छोएर अनुहार हेर्न खोज्दा रविनाले लजालु मुस्कान छाडिन् । दर्शकले ताली नबजाई सुख्खै पाएनन् ।

पुष्प खड्का र दीपा राणाको क्रिस्चियन जोडीले पश्चिमा नृत्यशैलीका साथ एक-अर्कालाई अंगालोमा बेर्दाको दृश्य पनि रौनकपूर्ण रह्यो, यसलाई युवराज गिरी र जुलिया योञ्जनको शेर्पा पहिरनले पछ्यायो । आङगी-पाङदेन र बख्खुका सजिएको यो हिमाली जोडीको र्‍याम्प प्रस्तुतिलाई पनि धेरैले मन पराए । दिक्पाल कार्की र प्रिना महर्जनले धिमाल, सौरम तुलाधर र विनीता बरालले तामाङ, सन्तोष ओली र सविना महर्जनले थकाली, सञ्जीव कुँवर र आराधना रिजालले मगर, निराजन र लक्ष्मी बस्नेतले मुस्लिम, सविन र सानिया शर्माले क्षेत्री तथा डेविड रिजाल र सविना बजगाईंले राउटे जोडीको रूपमा र्‍याम्पमा कला प्रस्तुत गरे ।

नेवारी धुनको तालमा मोडेलहरू स्टेप मिलाउँदै एकतमास प्रस्तुत भइरहे, धिमालपछिको प्रस्तुति केही अनमेलता देखियो । तामाङ बेहुलालाई कछाडसहित उभ्याइएको थियो र बेहुला-बेहुली दुवैको अनुहारले तामाङपन बोक्दैन थियो । थकाली प्रस्तुतिमा बेहुला बनेका मोडेल सन्तोषको अनुहारमा थकालीपनको कुनै आभास मिल्दैन थियो, त्यस्तै मगर बेहुली बनेकी आराधनामा पनि । यद्यपि उनीहरूको र्‍याम्प प्रस्तुति भने अरूको जस्तै दमदार रह्यो । शेर्पा, तामाङ, धिमाल, क्षेत्रीलगायतको प्रस्तुतिमा नेवारी धुन मात्रै सुनिँदा पनि अमिल्दो अनुभूति हुन्थ्यो ।

यसपछि र्‍याम्पमा सिक्वेन्स कुर्ताको प्रस्तुतिका लागि आठजना मोडेल पालैपालो उत्रिए । सिक्वेन्स गाउन, लेहंगा र सारी प्रस्तुतिकै बीच बेहुली शृंगार प्रतियोगिताको परिणाम सुनाइयो । प्रदर्शनीको पहिलो दिन राजधानीका विभिन्न ब्युटिपार्लरले सिंगारेको झन्डै एक दर्जन बेहुलीबीच प्रतियोगिता गराइएको थियो । दर्शक भोटमा आधारमा गरिएको प्रतियोगितामा स्वणिर्म ब्युटिपार्लरका तर्फबाट रागिनी सिंहले सबैलाई उछिनिन् । दोस्रो स्थान सिन ब्युटिपार्लरबाट रचना बज्राचार्य र तेस्रो स्थान रोजा ब्युटिपार्लरका तर्फबाट सफलता मानन्धरले हासिल गरिन् ।

बेहुली प्रतियोगिताबाहेकका सबै प्रस्तुतिको संयोजन समा बानुले गरेकी थिइन् । मुस्लिम समुदायकी २३ वषर्ीया बानुले नमुना कलेज अफ फेसन टेक्नोलजीबाट तीनवर्षे स्नातक गरेकी छन् र उनी मुस्लिम समुदायबाट मुलुककै पहिलो फेसन डिजाइनर हुन् । 'अहिले सबै मोर्डन वेमा हिँडिरहेका छन् नि,' विभिन्न समुदायका बेहुला-बेहुलीको पहिरनलाई र्‍याम्पमा उतार्नुको कारणबारे उनले भनिन्, 'परम्पराका राम्रा पक्षहरू भुल्न हुँदैन भनेर नयाँ पुस्तालाई देखाउन यसो गरेका हौँ ।' प्रस्तुतिसँगै चारदिने विवाह सामग्री प्रदर्शनी आइतबारै सकिएको छ । साभार: कान्तिपुर अनलाइन

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।