मैले त्यै भएर मन पराको...

सन्तोष रिमाल, काठमाडौं, पुस १७- गीत रेकर्ड गर्न संगीतकार महेश खड्काको नेतृत्वमा मुम्बई गएको 'हिम्मत' टोली निकै उत्साहसाथ फर्किएको थियो। फिल्मी गीतमा अत्यधिक रुचाइएका उदितनारायण झाले यसको रोमान्टिक गीत दिल खोलेर गाएका थिए। हिरोइनको महिमा गाउने गीत 'मैले त्यै भएर मन पराको' फिल्म युनिटका सबैले रुचाए। तर, निर्मातासमेत रहेकी हिरोइन रेखा थापालाई मनपरेन।

'गायक फेर्नुपर्‍यो,' उदितको स्वर परिवर्तन गर्नुमा उनको तर्क थियो, 'जुन क्यारेक्टरमा म देखिँदैछु त्यसमा सुहाउने स्वर भएन यो। बरु नयाँ गायक खोजौं।'
सुरुमा उनको यो आग्रह धेरैलाई अनौठो लाग्यो।

फिल्मी गायनमा एकछत्र राज गरिरहेका उदितको विकल्प, त्यो पनि नयाँ! यसमा लामो बहस चलेपनि जित रेखाकै भयो। निर्मातासमेत हुनुको 'भिटो' प्रयोग गरी उनले गायक छनोट गरिन्- दिपक लिम्बु। भर्खरै नेपाली तारा' बनेका दिपक यही फिल्ममार्फत छिरे पार्श्व गायनमा।

मौका र चुनौती बराबर ठानेर नयाँ काममा लागे उनी। 'फिल्मका लागि मेरो पहिलो गीत थियो त्यो। शब्द नै साह्रै मनपर्‍यो मलाई,' नागरिकसँगको भेटमा गायक लिम्बुले पहिलो फिल्मी गीत गाउँदाको क्षण सम्झे, 'रेखा थापाले खेल्ने भनेपछि मैले गाउँदा उनकै चन्चलता सम्भि्कएँ। उनी रमाउँदै अघि लागेको र म पछिपछि उनको तारिफ गर्दै हिँडेको दृश्य संगालेको थिएँ दिमागमा।'

गीत गाउँदाको आफ्नो ठाउँ फिल्ममा विराज भट्ट देखिँदा उनलाई अस्वाभाविक लागेन। आफूले गाउने पार्श्वगायन हिरोका लागि हुने भएकाले त्यसपछिका फिल्ममा पात्रको विशेषता बुझ्ने गरेको उनले सुनाए। 'हिरो र रोल थाहा पाएपछि यसरी गाउनुपर्छ भनेर निर्णय गर्न सजिलो हुन्छ। र, गीत स्वाभाविक पनि लाग्छ,' सकेसम्म आफ्नो स्वर फिल्मको पात्रसुहाउँदो गर्ने गरेको उनी उल्लेख गर्छन्।

फिल्मको पहिलो गीतले नै उनलाई प्रेमगीतका गायकमा स्थापित गरायो। कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा रूप, रंग र कोमल अंग भएकी परीको बयान गर्दा त्यस्ती युवती धर्तीमा भेटिएलान् जस्तो लागेको थिएन उनलाई। रचनाकार बरालले कल्पना गरेको फूललाई सुवास, सागरलाई मोती, हावालाई चन्चलता र जुनलाई ज्योति दिने युवती यो संसारमा नभएपनि यस्ता गीतमा उचित स्वर दिनसक्ने गायकका रूपमा भने फिल्मकर्मीले उनलाई पत्याउन थाले।

रचनाकार र संगीतकार फरक भएपनि उनलाई त्यस्तै शैलीको गीतमा स्वर दिने मौका मिल्यो फिल्म 'मौसम'मा। दयाराम पाण्डेको रचना र सुरेश अधिकारीको संगीतले पनि उनको आवाजमा परीजस्ती युवतीको वर्णन खोज्यो। लिम्बुले मजैले गाइदिए- कुन लोककी परी हौ तिमी...।

दुवै फिल्ममा गीतको आसय उस्तै थियो। मात्र पात्र फरक थिए। 'हिम्मत'मा रेखाको ठाउँ मौसममा रन्जना शर्माले लिएकी थिइन् भने विराजको ठाउँमा आर्यन सिग्देल। मुस्काउँदा घाम उदाउने, आँखा चिम्लिँदा जून निदाउने, फुल्दा भमरासमेत टोलाउने र परेलीमा इन्द्रेणी चम्काउने ताकत भएकी 'मनमोहिनी'को बयानले यी गायकलाई अझै उचाइ दियो।

फिल्म 'नैना रेशम'मा संगीतकार बसन्त सापकोटासँगको सहकार्य पनि फाप्यो उनलाई। यो फिल्मको 'ढल्क्यो ढल्क्यो' बोलको गीतसंगीत बजारमा राम्रै बिक्यो। विराज र निशा अधिकारीको जोडीसमेत जम्यो गीतमा। त्यसपछिको फिल्म 'पहिलो पहिलो माया' र 'कसले चोर्‍यो मेरो मन'को शीर्ष गीतले उनको स्थानलाई सुरक्षित राख्यो।

अहिले उनी प्रशंसा बटुलिरहेका छन् फिल्म 'नाइँ नभन्नू ल'को गीतबाट। 'सागरको मोती टिपेर दिन्छु पनि भन्न सक्दिनँ म'मा प्रेम प्रस्तावको यथार्थ भाव छ भन्छन् उनी। त्यसैले यो गीत धेरैको रुचिमा परेको हुनसक्ने उनको अनुमान हो। 'देशविदेशका कार्यक्रममा यो गीतको माग धेरै हुन्छ। तर, मैले धेरै गाउनै पर्दैन। यसो सुरु गरिदियो अन्त्य स्रोताले नै गरिदिन्छन्,' रचनाकार बराल र संगीतकार खड्कासँगको यो सहकार्य उनलाई झनै फाप्यो।

शब्द र संगीत राम्रो भए थोरै समयमै धेरै राम्रो गाउन सक्ने अनुभव पनि उनले यही गीतबाट गरे।
'राति १० बजे स्टुडियो छिरेको। डेढ घन्टाजतिमै काम सकियो। गीत सुन्दा त्यतिबेला पनि राम्रै लागेको थियो। भावमा एकदमै डुबेर गाएको थिएँ। पछि निर्देशक विकास आचार्यले गीत राम्रो भएको सुनाए,' स्रोताले रुचाएपछि उनलाई निर्देशकको मूल्यांकन सही लाग्यो।

चलेपछि गायकको सर्त बढ्छ भन्छन्। तर, लिम्बु ठूलो सर्त राखेर कसैलाई पनि नसताएको बताउँछन्। शब्द, संगीत र गीतमा देखिने पात्र भने उनको सरोरकारमा पर्छ।

'मैले राम्रो गीत गाएको हैन। राम्रा गीत गाउने अवसर पाएको हुँ। गीत स्रोताले मन पराउनु एउटा संयोग हो,' आफ्नो स्थानको जस उनी रचनाकार, संगीतकार र संगीत संयोजकलाई दिन्छन्। 'म त एउटा प्रेजेन्टर न हुँ। राम्रो गीत बनाउन धेरैको मिलेमतो रहन्छ। स्रोताले मार्क नगरेपनि एरेन्जर र स्टुडियोले गीतको स्तरमा धेरै अर्थ राख्छ,' उनले बुझेका छन्।

रोमान्टिक गीतमा चलेपनि उनको चाहना सेन्टिमेन्टल गायनमा छ। यस्ता गीत नगाएकोमा गुनासो गर्ने स्रोता पनि उनले भेटेका छन्। मायालुको मन जित्न आकासको तारादेखि सागरको मोतीसम्म ल्याइदिने शब्दमा उनको स्वर पोखिएको छ। तर, उनलाई आफैंले गाएको 'यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ' भन्ने गीत यथार्थवादी लाग्छ। बरालकै रचना र गैरे सुरेशको संगीतमा बनेको यो गीतले जीवनको गहिरो दर्शन बोकेको उनको मूल्यांकन छ।

'कथासँग मेल खाने गरी बनाइन्छ फिल्मी गीत। एल्बममा जस्तो स्वतन्त्रता यसमा अलि हुँदैन,' गायनमा लामो समय जीवित रहन उनी एल्बमको आवश्यकता देख्छन्। तर, फिल्मी गीतको व्यस्तताले यो काममा गम्भीरतासाथ लाग्न नसकेको गुनासो पनि छ।

नेपाली तारा हुनेबित्तिकै 'नेपाली तारा टप १०' नामक एल्बममा स्वर दिएका लिम्बुले दोस्रो एकल एल्बम 'स्रोता' हालै बजारमा ल्याएका छन्। यसबाट व्यावसायिक सफलता कम मिलेपनि एकपटक सुनेकामा राम्रो प्रभाव जमाउन सकेको ठान्छन् उनी।

व्यावसायिक गायनका साथ एल्बमलाई निरन्तरता दिने उनको योजना छ। 'एल्बममा आफूले चाहेका गीत राख्छु र सम्झौता नगरी निकाल्छु,' उनी भन्छन्, 'जति गीत गाएपनि कतिवटा एल्बम निकाल्नुभयो भनेर धेरैले सोधेका छन्।'
मानौं गायकको सम्पत्ति एल्बम नै हो! Source: Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।