एउटा मौन साँझ

भक्तपुर- , पुस ५ - कुनै दिन यस्तो थियो, गितार बोकेर सहर हिँड्ने तन्नेरी देख्दा मान्छे टक्क अडिएर हेर्थे । सत्तरीको दशकको सुरुताका ओमविक्रम विष्टलाई त्यसरी हेर्ने जमात ठूलै थियो । 'त्यो समय बेग्लै थियो,' पुसको बढ्दो चिसोबीच शनिबार भक्तपुरको होटल गि्रनल्यान्डमा भेटिएका विष्टले सुनाए, 'हामीले पप गीत गाउनु संगीतमा क्रान्ति गर्नुजस्तै थियो । यस्तो पनि गीत हुन्छ भनेर धेरैले पत्याएकै थिएनन् ।'

पत्याऊन् पनि कसरी ? शास्त्रीय र भक्ति संगीत सुनेका, सुगम संगीतमा मन बसाउँदै गएका संगीत प्रेमीहरूका लागि गितारको तालमा आउने मूच्र्छना त्यति पाच्य भइसकेको थिएन । जतिबेला सुगम संगीत लिएर गोपाल योन्जन, अमर गुरुङ र नारायण गोपालहरू सहरमा छाइरहेका थिए । र, सहरमा गितार बोकेर हिँड्ने पश्चिमाहरू पनि उत्तिकै बढेका थिए । नबुझिने शैलीमा राजधानीको झोँछेका गल्ली, स्वयम्भूको डाँडा वा पाटन दरबारतिर ती राति अबेरसम्म जूनको उज्यालोमा गितार बजाउँदै लेघ्रो तानेर अंग्रेजी गीत गाइरहेका हुन्थे ।

ओमको मन पनि यस्तै 'हिप्पी शैली'का गीतमा बस्दै गयो । उनी जोन लेनन र ह्यारिसन सुन्न थाले । तिनकै भाका पछ्याउन थाले । शास्त्रीय धारको जगजगीबीच गितारको कर्ड र ड्रमको 'डाङडुङ'मा आफूलाई फैलाउन थाले । 'नेपालमा पप गीतबारे कसैलाई जानकारी नै नभएका बेला म गाउँदै हिँड्न थालें,' सन् २०१०को बिदाइ र अंग्रेजी नयाँ वर्ष २०११को स्वागतमा आयोजित सांगीतिक साँझमा गाउनुअघि उनले सुनाए, 'कतिले यसलाई राम्रो मानेनन् ।'

त्यसपछि होटलमा उपस्थितहरूलाई मनोरञ्जन दिन उनले तेत्तीस वर्ष पुरानो 'हरेक रात मिठो स्वप्नमा' बाट गाउन सुरु गरे- 'नभनी देऊ मेरो ओठको लाली चोरी लग्यो भनेर', 'म मौनतामा अल्भिmएको एउटा जीवन', 'यो कस्तो कथा', 'याद गर ती दिनहरू' लगायत उनका सदाबहार पप गीत पस्के । 'म मौनता'मा कार्यक्रमको अन्तिमतिर गाउने उनको योजना त्यतिबेला विफल भयो जब दर्शकले बीचमै त्यो गीतको माग

गरे । दर्शकको आग्रह स्विकारेर गीत सकेपछि उनले भने, 'कति गीत यहाँ उपस्थित नयाँ पुस्ताले नसुनेको हुन सक्छ । पुराना पुस्ताले सुनेर पनि बिर्सिएका हुन सक्छन् । म पुरानो स्मृति ताजा गराउन चाहन्छु । रिमेक भएर आएकाले 'मौनता'मा पछिल्ल्ाो पुस्ताले सुनेको हुनुपर्छ ।'

यी गीत उनले तीन दशकअघि गाएको स्मरण गरे । र, हजुरबा भइसकेका यी जोशिला गायकले भने, 'यी गीत गाउँदा म फेरि नोस्टाल्जिक भएको

छु । विगतको बैंसालु दिन याद आउँछ र म युवा जोशमा जोसिन्छु ।' उनले झन्डै राति १० बजेसम्म चार घन्टा निरन्तर सुनाइरहे । उनलाई गायनको सुरुवातदेखि साथ दिइरहेका देव रानाले ड्रम तथा सुवर्ण लिम्बू पछिल्ल्ाो कन्सर्टमा पनि सँगै थिए । गितारमा ज्योति घिमिरे र दीपक थापाले किबोर्डमा साथ दिए ।

होटल सञ्चालक राजेन्द्र क्षेत्रीले अन्तिमतिर एउटा सत्य खोले । 'कुनै दिन गितार बोकेर हामीसँगै काठमाडौंका सडकमा कुदेका छौं । गाएका छौं र रमाएका छौं,' छिप्पिँदो साँझमा क्षेत्रीले भने, 'यो साँझमा मैले फेरि विगतको ओमविक्रम सम्झेको छु । आफूलाई सम्झेको छु ।' अंग्रेजी नयाँ वर्षको स्वागत उनले भक्तपुरबाट गरे । नयाँ वर्षको सुरुवातमै चाहिँ उनी अस्ट्रेलिया जाँदै छन् । कामबारे सोध्दा तीन छोराछोरीका पिताजीले भने, 'एउटी छोरीको बिहे छ । उसको बिहे सकेर फर्किन्छु ।' र छोरीको बिहे उनका लागि मौनताको अर्को एउटा साँझ हुनेछ ।

Source: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।